
काठमाडौँ- नेपाल र वेस्ट इन्डिजबीच हुन लागेको टी २० शृंखलाको खेल तालिका परिवर्तन भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कप फाइनलका कारण पूर्वनिर्धारित तालिकामा केही हेरफेर गरिएको जनाएको छ।
क्यानका केन्द्रीय सदस्य एवं प्रवक्ता छुम्बी लामाले मंगलबार एक विज्ञप्ति जारी गर्दै शृंखलाका खेल तालिकामा केही हेरफेर गरिएको बताएका हुन्। संयुक्त अरब इमिरेट्स (यूएई)को सारजाह क्रिकेट मैदानमा यसअघि सेप्टेम्बर २७, २८ र ३० मा टी२० शृंखलाका खेलहरू आयोजना हुने भनिएकोमा अब सेप्टेम्बर २७, २९ र ३० मा खेल हुनेछ।
नेपालले दुई पटकको टी२० विश्वकप विजेता वेस्ट इन्डिजसँग पहिलो पटक खेल्न लागेको हो।
सेप्टेम्बरमा टेस्ट राष्ट्रसँग नेपालले टी२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने भनेर क्यानले वार्षिक क्यालेन्डरमा नै समावेश गरेको थियो।नेपालले यूएईकै छिमेकी मुलुक ओमानमा अक्टोबरमा हुने आईसीसी टी२० विश्वकपअन्तर्गत एसिया छनोटको तयारीका लागि वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको हो।
यो शृंखलाका लागि वेस्ट इन्डिज क्रिकेट बोर्ड र एमिरेट्स क्रिकेट बोर्डले सहयोग गरेका छन्।