
पोखरा- आन्तरिक उडानमा सीमित रहेको भनी आलोचना खेपेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान पनि उडान भएको हो। भुटान एयरलायन्सले भुटानको पारो विमानस्थलदेखि पोखरा उडान भर्ने भएको हो।
हाल भुटानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा भुटान एयरलायन्सले सातामा चार वटा उडान भर्दै आएको छ। अब पोखरामा पनि उडान हुने भएपछि पोखराका पर्यटन व्यवसायीहरू उत्साहित भएका छन्। यसबाट दुवै देशको पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने अपेक्षा गरिएको छ।
मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्न यसले महत्त्वपूर्ण योगदान गर्ने बताए। उनले यसको निरन्तरताका लागि विशेष पहल गर्न पर्यटन व्यवसायीलाई समेत आग्रह गरे।
युनिभर्सल टुर्स एण्ड ट्राभल (यूटीटी) ले आगामी असोज १२ (२८ सेप्टेम्बर) देखि चारवटा चार्टर उडान गर्ने जनाएको छ। ट्राभलका सञ्चालक परासर प्रसाईंका अनुसार १२ असोजसहित १६, २० र २४ गते उडान हुनेछ। भुटान एयरलायन्स १२६ सिट क्षमताको हो। उक्त जहाज पहिलो दिन नेपाली समयअनुसार बिहान १०ः३५ बजे टेक अफ गरेर पोखरा विमानस्थलमा ११ः४० बजे ल्याण्ड हुनेछ।
पोखरामा गत ७ असारमा सिचुवान एयरको न्यारोबडी एयरबस–३१९ जहाजले पोखरा–छेन्दु उडान गरेको थियो। अहिले पनि छेन्दुमा हिमालयन एयरलाइन्सले पनि उडान भरिरहेको छ।
यसै गरी सिचुवानले पोखरा–सिचुवान–अस्ट्रेलिया उडान पहल पनि गरिरहेको छ। १ जनवरी, २०२३ मा उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयसम्म अन्तर्राष्ट्रिय हुन सकेका थिएनन्। अन्तर्राष्ट्रिय उडान नियमित हुन नसके पनि केही चार्टर उडान भने भइरहेका छन्।