
काठमाडौँ- मनाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. १(ख) मा हुने उपनिर्वाचन कार्यतालिका मंगलबार सार्वजनिक गरिएको छ।
उपनिर्वाचनका लागि आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो। असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ। सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ।
सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मिति असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ भने सोही दिनको दिउँसो ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरिने आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। असोज २३ गते बेलुका ५ बजेदेखि ७ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।
यसैगरी असोज २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका छ। दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ। निर्वाचन कार्यक्रम अनुसार मिति कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।
निर्वाचनमा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था रहेको व्यहोरा आयोगले स्मरण गराएको छ।