रूपन्देही-३ : उम्मेदवारी चयनविरुद्ध रास्वपामा किन पर्‍यो उजुरी ?

किरण पौडेल १७ भदौ २०८२ १६:०४
46
SHARES
रूपन्देही-३ : उम्मेदवारी चयनविरुद्ध रास्वपामा किन पर्‍यो उजुरी ? रुपन्देही ३ बाट उम्मेदार बनेका लेखजंग थापा।

काठमाडौँ- रूपन्देही ३ मा आगामी कात्तिक १७ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तामझामका साथ उम्मेदवार तय गर्‍यो। तीन दिनको सक्रियतामा ‘मिनी इलेक्सन’ मार्फत रास्वपाले डा. लेखजंग थापालाई उम्मेदवार बनाएको हो।

रास्वपाले पहिलोपटक ‘प्राइमरी इलेक्सन’ मार्फत नयाँ मापदण्ड अपनाउँदै उम्मेदवार घोषणा गरेको थियो। आठजना दाबेदारलाई पछि पार्दै थापा उम्मेदवार बनेका हुन्। उपनिर्वाचनका लागि थापासहित सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी थिए।

आकांक्षीमध्येबाट उम्मेदवार चयन गर्न रास्वपाले भदौ १२ गते प्राइमेरी इलेक्सन गरेको थियो। अनलाइन भोटिङमा सबैभन्दा बढी मत पाएको व्यक्तिलाई उम्मेदवार घोषणा गरेको रास्वपाले जनाएको छ।
एमबीबीएस, इन्टरनल मेडिसिनमा डीएम तथा न्युरोलोजीमा एमडी गरेका थापा वरिष्ठ न्युरोलोजिस्ट हुन्। चिकित्सा क्षेत्रमा सक्रिय रहेका थापालाई रूपन्देही–३ का मतदाताले संसद् भवन पठाउने विश्वास रास्वपाको छ। यद्यपि चुनावी मैदानमा कसले बाजी मार्ला भनेर चाहिँ कात्तिक १८ गतेसम्म पर्खनुपर्नेछ। निर्वाचन आयोगले उक्त निर्वाचन क्षेत्रमा कात्तिक १७ गतेका लागि मतदान कार्यतालिका सार्वजनिक गरेको छ।

रूपन्देही–३ थापा एक्ला उम्मेदवार होइनन्। नेपाली कांग्रेस, नेकपा एमाले, माओवादीलगायतका दलले त्यस क्षेत्रमा उम्मेदवार घोषणा गर्नै बाँकी छ। रास्वपाले भने उम्मेदवारको घोषणा गरेपछि थापा चर्चामा रहेका छन्। थापामाथि विभिन्न प्रश्न सोझ्याइएका छन्। प्रारम्भिक इलेक्सनको नियम उल्लंघन गरेको आरोप पनि उनीमाथि लागेको छ।

के छ रास्वपाको इलेक्सन प्रक्रिया?

पहिलो पटक रास्वपाले प्रारम्भिक मतदानबाट उम्मेदवार तय गरेको हो। तर निर्वाचन प्रक्रिया विवादमा परेको छ। रास्वपाका एक नेताका अनुसार निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पार्टीमा उजुरी परेको हो।
रास्वपाको उम्मेदवार चयनमा छुट्टै प्रक्रिया छ। यसअन्तर्गत रास्वपाले लिडरसिप एकाडेमी (२५ प्रतिशत) पोलिटिकल प्रोक्सिमिटी (२० प्रतिशत), समावेशिता (५ प्रतिशत), प्रारम्भिक निर्वाचन (५० प्रतिशत) तोकिएको छ।

रास्वपा नेताहरूका अनुसार नौजना अन्य प्रक्रिया पूरा गर्दै प्रारम्भिक निर्वाचनमा पुगेका थिए। प्रारम्भिक निर्वाचनको ५० प्रतिशतलाई शतप्रतिशत मान्दै विभिन्न मापदण्ड बनाइएको थियो।

प्रारम्भिक निर्वाचनको ५० प्रतिशत भरांकलाई तीन पक्षमा बाँडिएको छ। जसअन्तर्गत रूपन्देही–३ का पार्टी सदस्यहरूको मतदानको भारांक ८० प्रतिशत, रूपन्देही-३ भित्र मतदाता रहेका पार्टीका तहगत समितिका सदस्यहरूको मतदानको भारांक १० प्रतिशत र केन्द्रीय समिति सदस्यहरूको मतदानको भारांक १० प्रतिशत तोकिएको छ। तोकिएका मतदाताले भदौ १२ गते मतदान गरेका थिए। रास्वपाका २ हजार ७ सय १६ जना पार्टी सदस्य (मतदाता) छन् भने केन्द्रीय समिति ६२ जनाको छ। यसरी कुल २ हजार ७ सय ७८ जना प्राइमरी इलेक्सनका मतदाता थिए।

रास्वपाका अनुसार केन्द्रीय सदस्यबाहेक १५ सय ६७ मत खसेको छ। यो भनेको करिब ५८ प्रतिशत हो। रास्वपाका ११ सय ४९ जना सदस्यले प्राइमरी इलेक्सनमा भाग लिएका थिएनन्।

६२ जना केन्द्रीय सदस्यमध्ये २७ जनाको मात्रै मत खसेको छ। पार्टीका ३५ जना केन्द्रीय सदस्य (आधाभन्दा बढी) ले प्राइमरी इलेक्सनमा भोट हालेका छैनन्। रास्वपाका अन्य उम्मेदवारहरूले उजुरीसमेत दिएका थिए। उजुरीपत्रमा निर्वाचन प्रक्रियामाथि प्रश्न उठाइएको थियो।

के छ उजुरीपत्रमा?

मतदानमा भाग लिन जाँदा मोबाइल नलिई जानुपर्ने आचारसंहिता तोकिएको थियो। उजुरीपत्रअनुसार थापाले क्यामरा जडान गरिएको चस्मा लगाएका थिए।

भदौ ३ गते रास्वपाको रूपन्देही-३ को पार्टीका ९ जना आकांक्षीको सर्वसहमतिले बसेको विशेष बैठकमा सबै जनाको मोबाइल लगायत सबै उपकरण बैठक बाहिर लकरमा राखिएको थियो। त्यस क्रममा आकांक्षी डा. थापाले गोप्य रूपमा क्यामरासहितको चस्मा प्रयोग (क्यामरा चालू अवस्थामा अडियो, भिडियो मोडमा) राखिएको पाइएको थियो। बैठकको अन्त्यतिर प्रमाण कैद गर्न उक्त चस्माको फोटो र भिडियो बनाएर पार्टीको गोपनीयता भंग गरेको आरोप उजुरीमा लगाइएको छ। पार्टीले उजुरीबारे छानबिन गरिसकेको प्रवक्ता मनीष झाले बताए।

कसरी सुल्झियो समस्या?

थापाले बैठकको सूचना कैद गरेको विषयलाई लिएर जिल्ला, प्रदेश र केन्द्रीय प्रतिनिधिले सहमहामन्त्री विपिन आचार्यलाई उजुरी बुझाएका थिए। ‘हामीले सबैतिर उजुरी बुझाएका हौँ। हामीले प्रक्रिया पुर्‍याउन खोजेका थियौँ तर संवाद भएन’, रास्वपाका एक आकांक्षीले भने। रास्वपाले थापाले नियम उल्लंघनका कुनै काम नगरको दाबी गरेको छ।

‘हामीले थापालाई सोध्दा आफू बाथरुम जाँदा मोबाइल टेबुलमा राखेको तर स्विच अफ गरेको बताउनुभएको थियो। अर्को कुरा चस्मा राखेको स्थान (लकर) र मिटिङ भएको स्थानसम्मको दूरी पनि हेर्‍यौँ। त्यो दूरीसम्म भिडियो क्याच नहुने बुझेपछि गल्ती छैन भन्ने भयो’, रास्वपाका एक पदाधिकारीले भने। रास्वपाको गोप्य मिटिङमा समेत धेरै क्यामरा जडान गरिएकाले आकांक्षी (थापा) ले कमजोरी गरेको भए तत्काल थाहा पाइने थियो। ‘हामीले अधिकांश मिटिङ पारदर्शी गरेका छौँ। हाम्रै अफिसमा पनि क्यामरा जडान गरेका छौँ। कसैले बद्मासी गरेमा थाहा हुन्छ नि’, एक पदाधिकारी भन्छन्।

दुई विवाहको समस्याबारे थापाले दिए जबाफ

थापाको व्यक्तिगत जीवनलाई लिएर पनि प्रश्न उठाइएको छ। सामाजिक सञ्जालमा दुई महिलासहितको तस्बिर सम्प्रेषण गरिएपछि उनीमाथि बहुविवाहको आलोचना भएको हो। थापाले पहिलो श्रीमतीसँग सम्बन्धविच्छेदको पत्र सार्वजनिक गरेका छन्।

डा. थापाले २०७९ माघ १५ गते जिल्ला अदालत रूपन्देहीमा न्यायाधीश उमेश कोइरालाको इजलासमा सम्बन्धविच्छेद गरी मिलापत्र गरेको कागज सार्वजनिक गरेका हुन्।

‘परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्धविच्छेद पनि हो र त्योभन्दा ठूलो सत्य सम्बन्धविच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो, जसको म बाबा पनि हुँ’, उनले भनेका छन्।

अदालती कागजात फेसबुकमार्फत सार्वजनिक गर्दै थापाले लेखेका छन्, ‘परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्धविच्छेद पनि हो। त्योभन्दा ठूलो सत्य सम्बन्धविच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो, जसको म बाबा पनि हुँ’, थापाले रास्वपा नेतृत्वसँग भनेका छन्। रास्वपा प्रवक्ता झाले पनि थापाले सुरुमै पार्टीलाई यस विषयमा बताएका थिए।

रविलाई भेटेर भने : विवाद आए उम्मेदवारी छाड्छु

थापा सोमबार सभापति रवि लामिछाने भेट्न नख्खु जेल गएका थिए। भेटमा उनले आफूमाथि प्रश्न उठ्दा पार्टीलाई समस्या परे उम्मेदवारी छाड्ने बताएका थिए।

‘मेरो पार्टीले गर्ने कुनै पनि निर्णयलाई म सहर्ष स्वागत, स्वीकार र पालना गर्नेछु’, थापाले भनेका छन्। रास्वपा स्रोतका अनुसार थापाले रविलाई समेत विश्वस्त बनाएका थिए। ‘उहाँ (थापा)ले प्रश्न उठाइएको मात्र हो। म जबाफ दिन तयार छु भनेपछि कुरा मिलेको थियो’, स्रोतले भन्यो।

अनि रोकियो थापाको पत्रकार सम्मेलन

थापाले पत्रकार सम्मेलनमार्फत उठेका प्रश्न जबाफ दिन चाहेका थिए। थापाले रास्वपा प्रवक्ता थापालाई पत्रकार सम्मेलन गर्ने भनेका पनि थिए। झाले पत्रकार सम्मेलनको सार्वजनिक सूचनासमेत निकाले। एकाएक फेरि झाले नै पत्रकार सम्मेलन स्थगित भएको सूचना निकाले। ‘हामीमाथि अनेक प्रश्न छन्। आज दुईवटा कुरा उठ्दै जबाफ दिँदा फेरि प्रश्न उठ्दा के गर्ने भन्ने भयो,’ झा भन्छन्, ‘भर्खर उम्मेदवार घोषणा गरेका छौँ। केही प्रश्न मात्र उठेका हुन्। अरू पनि प्रश्न उठेपछि मात्र जबाफ दिऔँ भनेर पत्रकार सम्मेःलन स्थगित गरिएको हो।’ यही कारण थापाले सामाजिक सञ्न्जालमार्फत सम्बन्धविच्छेदका बारेमा जानकारी गराएका थिए।

प्रकाशित: १७ भदौ २०८२ १६:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast