
काठमाडौँ- रूपन्देही ३ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. लेखजंग थापाले पहिलो श्रीमतीसँग सम्बन्धविच्छेदको पत्र सार्वजनिक गरेका छन्। उनीमाथि बहुविवाहको आरोप लागेपछि बहुविवाह नभई आफूले पहिलो विवाहलाई कानुनीरूपमा विच्छेद गरेको दाबी गर्दै पत्र सार्वजनिक गरेका हुन्। थापा उम्मेदवार भएपछि उनका दुई श्रीमतीको तस्बिर राखेर बहुविवाहको आरोप लगाइएको थियो। यसको जबाफस्वरूप थापाले पत्र सार्वजनिक गरेका हुन्।
डा. थापाले २०७९ माघ १५ गते जिल्ला अदालत रूपन्देहीमा न्यायाधीश उमेश कोइरालाको इजलासमा सम्बन्धविच्छेद गरी मिलापत्र गरेको कागज सार्वजनिक गरेका हुन्।
कागजपत्र सार्वजनिक गर्दै थापाले लेखेका छन्, ‘परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो। र, त्योभन्दा ठूलो सत्य सम्बन्धविच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो, जसको म बाबा पनि हो।’ उनले आफ्नो व्यक्तिगत जीवन ‘ न गैरकानुनी छ, न समस्यापूर्ण।’ भएको बताएका छन्। उनले आफ्नो व्यक्तिगत जीवनमा प्रश्न उठ्दा जबाफ नदिदा हुने तर पार्टीमाथि नै प्रश्न उठेकाले जबाफ दिएको बताएका छन्।
https://www.facebook.com/798304851/posts/10167438231094852/?rdid=rVFhDCSIiQam6QeN#