
काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजा र हिन्दूराष्ट्र राखेर पनि मुलुकको विकास गर्न सकिने बताएका छन्।
आज (सोमबार) काठमाडौँको जोरपाटीमा आयोजित तीन नम्बर क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले थापाले मुलुकको सम्पूर्ण रोग, भोक, अशिक्षा र गरिबीको कारक राजसंस्था र हिन्दू धर्मलाई दिनेहरूले देशलाई असफल राष्ट्र बनाएको आरोप लगाएका हुन्।
राजा हटाउँदा, हिन्दुराष्ट्र हटाउँदा देश बन्छ भन्ने भाष्य गलत साबित भएको उनको तर्क थियो। ‘नेपाललाई स्वीजरल्याण्ड र सिंगापुर बनाउँछौ भन्नेहरू आज कहाँ छन्?,’ उनले प्रश्न गरेका छन्।
कार्यक्रममा उपाध्यक्ष डा. विष्णु भण्डारी, महामन्त्री राजाराम बर्तौला, केन्द्रीय सदस्यद्वय डा.बालकृष्ण दाहाल र डा.सुदर्शन सुवेदी तथा धीरज भण्डारीले प्रशिक्षण दिएका थिए।
राप्रपा नेपालले पछिल्लो समय उपत्यकाका १५ वटै क्षेत्रमा सघन प्रशिक्षण सञ्चालन गरिरहेको पार्टीले जनाएको छ।