
काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले महिला विश्वकप २०२५ का लागि पुरस्कार राशिमा महत्वपूर्ण वृद्धि गरेको छ। आईसीसीले प्रतियोगिताको कुल पुरस्कार राशि अघिल्लो संस्करणको तुलनामा चार गुणाले वृद्धि गरेको हो।
आईसीसीका अध्यक्ष जय शाहले सोमबार सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्,‘महिला क्रिकेटलाई थप प्रोत्साहन दिन र यसलाई अझ बढी अन्तर्राष्ट्रियस्तरमा लोकप्रिय बनाउन आईसीसी महिला क्रिकेट विश्वकप २०२५ को कुल पुरस्कार राशि बढाइएको छ। अब २०२५ विश्व कपका लागि कुल पुरस्कार राशि १३.३८ मिलियन अमेरिकी डलर हुनेछ।’
२०२२ मा भएको महिला विश्वकप र २०२३ मा सम्पन्न पुरुष विश्वकपको पुरस्कार राशिभन्दा २०२५ महिला विश्वकपको पुरस्कार राशि बढी हुने उल्लेख गरेका छन्।
आईसीसीको आधिकारिक वेबसाइटमा प्रकाशित विवरणअनुसार सन् २०२२ मा न्युजिल्यान्डमा सम्पन्न महिला विश्वकपमा कुल पुरस्कार राशि ३.५ मिलियन अमेरिकी डलरमात्र थियो। यो रकमको तुलनामा २०२५ को पुरस्कार राशि चार गुणाले बढाइएको हो।
२०२५ मा हुने महिला क्रिकेट विश्वकपमा विजेता टोलीले ४.४८ मिलियन अमेरिकी डलर प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई २.२४ मिलियन अमेरिकी डलर प्रदान गरिनेछ।
यसका साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने अन्य टोली र खेलाडीहरूलाई पनि पुरस्कार रकम बाँडफाँट गरिने योजना बनाइएको छ।
महिला क्रिकेट विश्वकप २०२५ को सुरुवात आगामी सेप्टेम्बर ३० तारिखबाट हुँदैछ। यसपटकको प्रतियोगितामा आठ टोली सहभागी हुँदैछन्। उद्घाटन खेल भारत र श्रीलंकाबीच असमको गुवाहाटीमा खेलिने तय भएको छ।