रुसी ‘जीपीएस’ जाम हुँदा ईयू प्रमुख सवार विमान अवतरणमा समस्या

हिमाल प्रेस १६ भदौ २०८२ २०:०३
26
SHARES
रुसी ‘जीपीएस’ जाम हुँदा ईयू प्रमुख सवार विमान अवतरणमा समस्या

काठमाडौँ- बुल्गेरियामा अवतरणका लागि तयारी अवस्थामा रहेको ईयू प्रमुख उर्सुला भोन डेर लेयेन चढेको विमानलाई ‘जीपीएस जाम’ हुँदा अवतरणमा समस्या भएको छ।

यो घटनामा रुसको हात रहेको आशंका गरिएको युरोपेली आयोगले जनाएको छ। बुल्गेरियाली अधिकारीहरूले आइतबार भएको यो घटनाका लागि मस्को जिम्मेवार रहेको आशंका गरेका छन्। तर, यो क्षेत्रमा यस्ता आक्रमणहरू सामान्य भएकाले विमानलाई जानाजानी निशाना बनाइएको हो वा होइन भन्ने स्पष्ट नभएको आयोगले जनाएको छ।

यद्यपि विमान अवतरणका बेला जीपीएस जाम भएको आयोगका प्रवक्ता एरियाना पोडेस्टाले दाबी गरेका छन्। ईयू प्रमुख लेयेन सवार चार्टर्ड विमान रुट परिवर्तन नगरी देशको दक्षिणमा रहेको प्लोभडिभ अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको थियो।

फाइनान्सियल टाइम्सले अधिकारीहरूको हवाला दिँदै लेयेन सवार विमान प्लोभडिभमा कागजी नक्साको सहयोगले अवतरण गरेको उल्लेख गरेको छ।

युरोपेली आयोगले वक्तव्य निकालेर भनेको छ,‘धम्की र डर देखाउने कार्यहरू रसियाको शत्रुतापूर्ण गतिविधिको नियमित हिस्सा हुन्। यस घटनाले हाम्रा संकल्पलाई अझ मजबुत बनाएको छ कि हामी रक्षा क्षमतामा वृद्धि गर्नेछौँ र युक्रेनलाई समर्थन बढाउनेछौँ।’

उडानका क्रममा विमानको जीपीएस नेभिगेशन प्रणालीलाई सूचना पठाउने उपग्रह सिग्नललाई जानाजानी अवरूद्ध गरिएको बुल्गेरिया सरकारले पुष्टि गरेको छ।

प्रकाशित: १६ भदौ २०८२ २०:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast