कोशीका कृषिमन्त्रीले खोसे सचिव चढ्ने गाडीको चाबी

हिमाल प्रेस १६ भदौ २०८२ १९:३७
60
SHARES
कोशीका कृषिमन्त्रीले खोसे सचिव चढ्ने गाडीको चाबी

इटहरी- पटक-पटक विवादमा आइरहेका कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले आफ्नै मन्त्रालयका सचिव शरणकुमार पाण्डेको गाडीको चाबी खोसेका छन्।

मन्त्री हाङ्गामले सोमबार कार्यालय पुग्ने बित्तिकै सचिव पाण्डे चढ्ने गाडीको चालकलाई बोलाएर चाबी खोसेको स्रोतले जनाएको छ। मन्त्री हाङ्गामले आफूलाई असहयोग गरेको आरोपसहित सचिवलाई हप्कीदप्की गरेको पनि बताइएको छ।

सचिव पाण्डे दुई साता अघि सरुवा भएका थिए। तर रमाना नलिएर मन्त्रालयमै कार्यरत रहेका बेला भदौ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई पुनः उद्योग, कृषि तथा सहकारी मन्त्रालयमै कायम गर्ने निर्णय गरेको थियो। यसैबीच मन्त्री हाङ्गामले सचिवलाई हटाउने प्रयास असफल भएपछि असन्तुष्टि पोख्दै गाडीको चाबी खोसेका हुन्।

मन्त्रीले चालकहरूलाई भेला पारेर ‘सचिवलाई कसैले गाडी चलाइदिए कारबाही हुनेछ’ भन्दै धम्की दिएको बताइएको छ।

यसअघि बजेट निर्माणको क्रममा मन्त्रीलाई नसोधी प्रमुख सचिवसँग छलफलमा सहभागी भएको भन्दै मन्त्री हाङ्गामले सचिवलगायत महाशाखा प्रमुखलाई भौतिक कारबाही गर्ने धम्की दिएको स्रोतले जनाएको छ।

प्रकाशित: १६ भदौ २०८२ १९:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast