
पोखरा– गण्डकी प्रदेश र लुम्बिनी प्रदेश सरकारबीच पाल्पा र स्याङ्जाको सीमामा सोमबार समन्वयात्मक बैठक बसेको छ।
सीमा जोडिएका गण्डकी र लुम्बिनी प्रदेशको समग्र विकासका लागि साझा प्रयत्न गर्नुपर्ने विषयको पहिचान एवं कार्यान्वयन संयुक्त रूपमा गर्ने उद्देश्यले दुवै प्रदेशका मुख्यमन्त्री सम्मिलित बैठकले विभिन्न नौ बुँदे निर्णय गरेको गण्डकी सरकारका प्रवक्ता डा. टकराज गुरुङले बताए।
उनका अनुसार बैठकले सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन भएका साझा निर्णय एवं प्रतिबद्धताको विवरण तयार गर्ने र बाँकी विषयलाई प्राथमिकता दिई कार्यान्वयनको व्यवस्था मिलाउन प्रदेश मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ।
दुवै प्रदेशका आवधिक योजनामा प्रदेश समुन्नतिका लागि प्रस्तावित रुपान्तरणकारी कार्यक्रम तथा आयोजना (अन्तर प्रदेश साझेदारीमा सञ्चालन हुने भनी पहिचान गरिएका कार्यकम) कार्यान्वयन गर्न दुवै प्रदेशका सरकारको समन्वयमा कार्यान्वयन खाका तयार गर्न विषयगत मन्त्रालयलाई निर्देशन दिने पनि निर्णय गरेको छ।
गत वर्ष ३० माघमा रानीमहलमा सम्पन्न दुवै प्रदेशको मुख्यमन्त्रीस्तरीय पहिलो संयुक्त बैठकमा गरिएका २१ बुँदेका प्रतिवद्धताको कार्यान्वयनको समीक्षा गर्दै थप प्रभावकारी बनाउन दुवै प्रदेशका योजना आयोगले संयुक्त रूपमा सरोकारवाला सबै पक्षको सहभागितामा तीन महिनाभित्र कार्ययोजना बनाई पेस गर्न निर्देशन दिने निर्णय गरेको छ।
दुवै प्रदेशको धार्मिक पर्यटन विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने ‘दामोदरकुण्ड कृष्णागण्डकी (उत्तरवाहिनी) ‘लुम्बिनी मुक्तिमार्ग’ विकासका लागि अवधारणापत्र तयार गर्न दुवै प्रदेशको पर्यटन हेर्ने मन्त्रालयको समन्वयमा प्रक्रिया अघि बढाउने भएको छ।
कालीगण्डकी तटीय क्षेत्रको समुन्नतिका लागि दुवै प्रदेशका योजना आयोगको समन्वयमा संयुक्त रुपमा कार्यान्वयन गर्न सकिने कार्यक्रम पहिचान गरी आगामी पुसभित्र दुवै प्रदेश सरकारमा पेश गर्ने, आगामी २१ असोजदेखि १ महिनासम्म उत्तरबाहिनी क्षेत्रमा सञ्चालन हुने कार्तिक महास्नान तथा दामोदर धर्मोत्सव भव्य रूपमा सफल बनाउन प्रदेश सरकारबाट सहजीकरण गर्ने, विकास व्यवस्थापन तथा सेवा प्रवाहमा एकअर्काका सिकाइ तथा असल अभ्यासहरुको अनुभव आदानप्रदान गर्न प्रमुख सचिवस्तरीय संयन्त्र गठन गर्ने, प्रादेशिक विकासका लागि प्रदेशको जिम्मेबारी, भूमिका तथा अधिकारलाई ध्यानमा राखी यथासम्भव कानूनी तथा नीतिगत एकरुपता कायम गर्दै जाने, दुवै प्रदेशका प्रमुख तीर्थस्थल वा पर्यटकीयस्थल जोड्ने पदमार्गको पहिचान तथा निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन संयुक्त रुपमा तयार पार्न प्रदेशका सम्बन्धित निकायलाई निर्देशन दिने लगायत निर्णय गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशको आयोजनामा स्याङ्जाको गल्याङ–१ मालुङ्गा र पाल्पाको रम्भा–१, हुँगी उत्तरवाहिनी क्षेत्रमा बसेको बैठकमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित दुबै प्रदेशका मन्त्रीहरु, सचिव, स्थानीय तहका जनप्रतिनिधिलगायत उपस्थिति थिए।