आठ महिनामा भित्रिए सात लाख ३६ हजार ५६२ विदेशी पर्यटक

हिमाल प्रेस १६ भदौ २०८२ १६:५२
8
SHARES
आठ महिनामा भित्रिए सात लाख ३६ हजार ५६२ विदेशी पर्यटक फाइल तस्बिर

काठमाडौँ- अगस्ट महिनामा हवाईमार्गबाट ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार यो तथ्यांक अघिल्लो वर्ष (सन् २०२४) को अगस्टको तुलनामा २१.९५ प्रतिशत वृद्धि हो। यो तथ्यांकले वर्षायाममा सुस्त बनेको पर्यटन क्षेत्रले गति लिन थालेको संकेत देखाएको छ।

यसैगरी सन् २०२५ को पहिलो आठ महिनामा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा २‍‍.२५ प्रतिशतले बढेको छ। सन् २०२५ जनवरीदेखि अगस्टसम्म नेपालमा सात लाख ३६ हजार ५६२ पर्यटक आएका छन्। सन् २०२४ को सोही अवधिमा सात लाख २० हजार ३३५ पर्यटक भित्रिएका थिए।

बोर्डका अनुसार अगस्टमा आएको संख्या महामारीअघिको आगमनको ९४ प्रतिशत बराबर थियो। सन् २०१९ को अगस्टमा नेपालमा ९४ हजार ७४९ अन्तर्राष्ट्रिय पर्यटक आएका थिए।

अगस्टमा सबैभन्दा बढीभारतीय पर्यटक आएका छन्। यो कुल आगमनको ४० प्रतिशत हो। भारतबाट ३५ हजार ५०५ पर्यटक नेपाल आएका थिए। त्यसपछि चीनबाट सात हजार ५३३ र अमेरिकाबाट ६ हजार ६८ पर्यटक आएका छन्। श्रीलंकाबाट पाँच हजार ९५६ र बंगलादेश चार हजार २६२ पर्यटक नेपाल आएका छन्।

क्षेत्रगत हिसाबले हेर्दा दक्षिण एसियाबाट ४७ हजार १३७ पर्यटक आएका थिए, जसले कुल आगमनको ५३ प्रतिशत ओगटेको छ।। अन्य एसियाली मुलुकहरूले १७.८ प्रतिशत योगदान गरेका छन्। युरोपबाट १२.६ प्रतिशत, अमेरिकाबाट ८ प्रतिशत, ओसियानियाबाट २.७ प्रतिशत पर्यटक आगमन भएको छ।

नेपालमा पर्यटक आगमन अगस्टदेखि बढ्न थाल्छ। डिसेम्बरसम्म चलायमान भइरहन्छ। पर्यटकका लागि नेपाल अक्टोबर र नोभेम्बर प्रायः सबैभन्दा व्यस्त महिना हुन्। अनुकूल मौसम र ठूला सांस्कृतिक पर्व पनि भएकाले यति बेला पर्यटकको रोजाइमा नेपाल पर्ने गरेको छ।

सन् २०२४ मा नेपालमा ११ लाख ४७ हजार ५६८ अन्तर्राष्ट्रिय पर्यटक आएका थिए, जुन सन् २०२३ को तुलनामा १३.०७ प्रतिशतले बढी हो। अहिलेसम्म सन् २०१९ मा सबैभन्दा बढी ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल आएको पर्यटन बोर्डको तथ्यांक छ।

प्रकाशित: १६ भदौ २०८२ १६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast