लिपुलेक-कालापानी नेपालको भूभाग हो, कसैले चित्त दुखाउनुपर्ने कुरा छैन : लेखक

हिमाल प्रेस १६ भदौ २०८२ १५:०७
18
SHARES
लिपुलेक-कालापानी नेपालको भूभाग हो, कसैले चित्त दुखाउनुपर्ने कुरा छैन : लेखक गृहमन्त्री रमेश लेखक/फाइल तस्बिर

वीरगन्ज– गृहमन्त्री रमेश लेखकले लिपुलेक–कालापानी नेपालको भू–भाग रहेको बताएका छन्। प्रेस युनियन पर्साले सोमबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।

‘त्यसो भएको हुनाले हामीले हाम्रो भूमिलाई हाम्रो भूमि हो भनेर भन्दा कुनै देशसँग हाम्रो सम्बन्ध बिग्रनुपर्ने कारण छैन,’ उनले भने, ‘मित्र राष्ट्र भारतले पनि चित्त दुखाउनुपर्ने कुरा छैन, किनभने त्यो भूमि हाम्रो हो। यसमा हामीहरु प्रष्ट छौँ।’

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अहिले लिपुलेख–कालापानी नेपालको भूमि रहेको भन्दै भारत र चीनबीच भएको सहमतिप्रति आपत्ति जनाएर ठीक काम गरेको उनको भनाइ छ। भारत र चीनले नेपालको भूमिलाई लिएर गरेको सम्झौताप्रति प्रधानमन्त्री ओलीले जनाएको आपत्ति ठीक रहेको उनको तर्क छ।

गृहमन्त्री लेखकले भने, ‘त्यो कुरामा हामी प्रष्ट भन्न चाहन्छौँ त्यसमा आपति छैन। र, हाम्रो भूमि हाम्रो हो भन्दा कुनै मुलुकले पनि चित्त दुखाउनुपर्ने कारण पनि छैन। यो हाम्रो हो हामी भनिरहन्छौँ, यसले सम्बन्ध बिग्रनपर्ने कुरा पनि छैन।’

यस विषयमा प्रधानमन्त्री ओलीले बोलेको कुरा ठीक रहेको गृहमन्त्री लेखकले बताए।

फरक प्ररसंगमा गृहमन्त्री लेखकले मुलुकमा हुने अवैध कारोबारलाई सबैले मिलेर रोक्नुपर्ने जरुरी रहेको बताए। उनले यसमा प्रहरी प्रशासन र भन्सारले राम्रोसँग काम गर्न जरुरी रहेको उल्लेख गरे।

‘यसरी सबै मिलेर काम ग¥यो भने अवैध व्यापार, पैठारी, निकासी नियन्त्रण गर्न सकिन्छ, त्यसकारण सबै मिलेर काम गर्नुपर्छ,’ उनले भने।

गृहमन्त्री लेखकले नेपालमा बहुधार्मिक समाज रहेकोले सबै मिलेर बस्न जरुरी रहेको बताए।

उनले भने, ‘हाम्रो समाज बहुजातीय, बहुभाषिक, बहुधार्मिक समाज हो, सबै मिलेर बस्न जरुरी छ, यसमा सञ्चारजगतको विशेष महत्व छ। यदाकदा धार्मिक द्वन्द्व फैलाउने काम भइरहन्छ, यसमा सञ्चारजगतले द्वन्द्वलाई घटाउने काम गरिदिनुपर्छ।’

संविधान संशोधनका कुरामा सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा गृहमन्त्री लेखकले संविधान संशोधन हुनेमा नेपाली कांग्रेस र एमाले ‘क्लियर’ रहेको बताए।

उनले भने, ‘नेपाली कांग्रेस र एमालेले गरेर मात्र हुँदैन, राष्ट्रिय सहमतिको वातावरण बनाएर सहमतिका साथ संविधान संशोधन हुनेछ।’

यसका लागि आ–आफ्नो पार्टीमा कमिटी गठन गरेर अगाडि बढ्ने छलफल भइसकेको उनको भनाइ छ।

वीरगन्जको हैजाको सवालमा गृहमन्त्री लेखकले सरकारले गर्ने सबै आवश्यक सहयोग गर्न तयार रहेको बताए। औषधि, थप जनशक्तिसहित आवश्यक अन्य सहयोग गर्न पनि सरकार तयार रहेको उनको भनाइ छ।

प्रकाशित: १६ भदौ २०८२ १५:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast