
काठमाडौँ- अफगानिस्तानको पूर्वी क्षेत्रमा आएको भूकम्पमा मृत्यु हुनेको संख्या ६१० नाघेको छ। तालिबानको गृह मन्त्रालयका अनुसार भूकम्पमा परी १३ सयभन्दा बढी मानिस घाइते भएका छन्।
अफगानिस्तानको नंगरहार र कुनार प्रान्तमा आइतबार राति ११ः४७ बजे ६ म्याग्नेच्युडको भूकम्प आएको थियो। समाचार संस्था एएफपीका अनुसार भूकम्पका धक्का अफगानिस्तानको राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामाबादसम्म महसुस गरिएको थियो।
भूकम्पबाट सबैभन्दा बढी क्षति कुनार प्रान्तमा भएको बताइएको छ, जसको करिब ९० प्रतिशत भूभाग पहाडी छ। भूकम्प प्रभावित क्षेत्रमा जाने सडकहरू निकै साँघुरा छन् र तीमध्ये धेरै सडक भूस्खलनका कारण बन्द भएका छन्।
तालिबान अधिकारीहरूले मानवीय सहयोगका लागि अन्तर्राष्ट्रिय संस्थाहरूसँग हेलिकप्टर उपलब्ध गराउन अपिल गरेका छन्।
समाचार संस्था एपीका अनुसार अफगानिस्तानका घर प्रायः कम तलाका हुने गर्छन्, जसमा कंक्रिट र इँटा प्रयोग गरिन्छ। ग्रामीण क्षेत्रका घरहरू भने प्रायः माटोको इँटा र काठबाट बनेका हुन्छन्। कुनारको नुरगल जिल्ला सबैभन्दा बढी क्षति पुगेको क्षेत्रमध्ये एक हो। त्यहाँका एक बासिन्दाले भने, ‘लगभग सारा गाउँ नै भत्किएको छ।’
ती बासिन्दाका अनुसार बालबालिका र वृद्धहरू भग्नावशेषमुनि परेका छन्। युवा पनि भग्नावशेषमुनि परेका छन्। उनले भने, ‘हामीलाई यहाँ मद्दत चाहिन्छ। मानिसहरू यहाँ आउनुपर्छ र हामीसँगै मिलेर काम गर्नुपर्छ। भग्नावशेषमुनि पुरिएका मानिसलाई निकाल्न दिनुहोस्। यहाँ कसैले आएर मृत शरीरसम्म पनि निकाल्ने अवस्था छैन।’
भूकम्पले सम्पर्क र सञ्चार विच्छेद हुँदा झन् कठिन बनाइदिएको छ।