‘अभिमन्युः च्याप्टर वान’ : कलाकारको भूमिका गोप्य, कथा ‘सस्पेन्स’

सुस्मिता बजगाईं १६ भदौ २०८२ २०:२५
54
SHARES
 ‘अभिमन्युः च्याप्टर वान’ : कलाकारको भूमिका गोप्य, कथा ‘सस्पेन्स’

काठमाडौँ- फिल्म ‘अभिमन्युः च्याप्टर वान’ का कलाकार तथा निर्माण टिम प्रचार अभियानमा जुटेको छ। सर्वाधिक हिट फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ का निर्माता विनोद पौडेलले यो फिल्ममा लगानी गरेका छन्। निर्माण टिमले पनि यही ट्यागलाइन प्रयोग गरेर फिल्मको प्रचार गरिरहेको छ। फिल्मको प्रचार सामग्रीमा पोस्टर, टिजर, ट्रेलर र एक गीत सार्वजनिक गरिसकेकाे छ।

फिल्म भदौ २७ देखि हलमा लाग्दैछ। फिल्म विभिन्न समस्याबाट पैसाको प्रलोभनले चक्रव्यूहमा फसेको एक युवकको कथामा बनेको बताइएको छ। टिमका अनुसार फिल्ममा चक्रव्यूहबाट उम्कन अभिमन्यु पात्रले गर्ने संघर्षको कथा समेटिएको छ।

तथापि फिल्मको विषयवस्तुसँग कुन कलाकारको कस्तो भूमिका छ भनेर निर्माण टिमले गोप्य राखेको छ। यसबारे एक वाक्य बताएर निर्माण टिमले कथाभित्रको चरित्रलाई फिल्ममै हेर्नुपर्ने भन्दै आएको छ। कलाकारहरू पनि आफ्नो भूमिकाले फिल्मको सस्पेन्स खुल्ने भएकाले भन्न नसकेको बताउँछन्।

एउटा प्रसंगले पनि पुरै फिल्मको कथा बाहिरिने भन्दै सबै कलाकारको भूमिका गोप्य राख्नु परेको फिल्मका निर्माता विनोद पौडेलले बताउँछन्। दर्शक हलमा जाने कारण कलाकारको भूमिका रहेको उनको भनाइ छ। उनले भने, ‘एकजनाको भूमिकाले पूरै कथा खुल्छ अनि हलमा दर्शक के हेर्न जाने? कसको भूमिका र काम कस्तो छ भनेर नै हलमा दर्शक जानुपर्छ।’

महाभारतका अनुसार अभिमन्यु सुभद्राको कोखबाट जन्मिएको र कौरवको चक्रव्यूह तोड्ने वीर अर्जुनका छोरा हुन्। फिल्मको नाम पनि तीनै अभिमन्युबाट राखिएको छ। यसर्थ कतिपयले फिल्म धार्मिक कथासँग जोडिएको हो कि भन्ने अनुमान गरेका छन्। निर्माता पौडेलले फिल्म महाभारतको चक्रव्यूहसँग सम्बन्धित नरहेको स्पष्ट पारेका छन्। फिल्मले भने एक सामान्य व्यक्ति आफ्नो जीवनको चक्रव्यूहमा कसरी फस्छ भन्ने कथा देखाइएको उनको भनाइ छ।

फिल्मको मुख्य भूमिकामा कलाकार कामेश्वर चौरासिया छन्।  फिल्मको पूरै कथा कामेश्वरकै पात्र केन्द्रित बनेको छ। उनी फिल्ममा मधेशका पात्रकै भूमिकामा छन्। यसअघि उनले ‘छड्के’, रेशम फिलिली, ‘फेरी रेशम फिलिली’ लगायत फिल्ममार्फत आफूलाई स्थापित गरिसकेका छन्। फिल्म ‘अभिमन्यु’ ले आफूलाई छुट्टै पहिचान दिनेमा चौरासिया ढुक्क छन्। यसपटक

निर्माताकै भनाइलाई साथ दिँदै कामेश्वरले पनि फिल्मको कथा महाभारतको अभिमन्युसँग सम्बधित नरहेको उल्लेख गरे। ‘फिल्ममा एक सामान्य मान्छेको नाम अभिमन्यु राखिएको छ। त्यो पात्रको यस्तो अवस्था सिर्जना हुन्छ, जुन विषयमा ऊ आफैँलाई ज्ञान नभएको अवस्था छ। र पछि उसले आफू महाभारतकै अभिमन्यु दोहोरिएको हो कि भन्ने महसुसचाहिँ गर्छ’, उनले भने।

फिल्मका अर्का कलाकार प्रकाश दाहाल पनि लामो समयपछि यही फिल्ममा काम गरेका छन्। केही फिल्ममा काम गरेपछि आफ्नो अभिनय कला अझ परिस्कृत गर्न उनी नाटकतिर लम्किए र पुनः ठूलो पर्दामा देखिँदैछन्। हराएको समयलाई ‘अभिमन्यु’ मा आफ्नो पात्रले समेट्ने भन्दै उनले पनि आफ्नो भूमिका खुलाउन चाहेनन्। ‘मेरो जीवनमा सहयोग गर्ने व्यक्तिहरूका लागि मेरो चरित्र ‘सरप्राइज’ हुनेछ। परिवार, आफन्त र नातागोताले पनि मेरो कामबारे स्पष्ट बुझ्नेछन्,’ उनले भने, ‘आफ्नो भूमिकाबारे खुलाउन मिल्दैन तर म हराएको समयलाई मेरो पात्रले बताउँछ र फिल्म हेरेर त्यसको मूल्यांकन हुनेछ भन्ने विश्वास छ। मेरा लागि यो फिल्म निकै अर्थपूर्ण छ।’

अर्की कलाकार सरिता गिरीले आफ्नो भूमिका गोप्य राखिन्। खुलाउन नमिल्ने भन्दै उनले अन्य फिल्ममा भन्दा ‘अभिमन्यु’ मा फरक र गहन भूमिका पाएको दाबी गरिन्। ‘हरेक फिल्ममा प्रत्येक कलाकारको भूमिका फरकफरक हुन्छ। त्यस्तै एउटा पात्र छ यो फिल्ममा। पात्रबारे अहिले मैले खुलाए भने फिल्मको कथावस्तु नै खोतलिन्छ,’ उनले भनिन्। नेपालमा चलिरहेको जनराभन्दा ‘अभिमन्यु’ फरक भएकाले  फिल्म सफल हुने उनको विश्वास छ।

कलाकार किरण श्रेष्ठले भने आफ्नो भूमिका र चरित्रमा काम गर्दाको केही अनुभव सुनाए। फिल्ममा उनी प्रहरी अफिसरको भूमिकामा देखिएका छन्। सुरुमा अफर आउँदा उनी इन्स्पेक्टरको चरित्रमा उपयुक्त हुन्छ कि हुन्न दुविधामै थिए। फिल्मको छायांकन सुरु भएपछि पहिलो टेकमा अप्ठ्यारो भएको उनी सुनाउँछन्। उनी भन्छन्, ‘सुरुमै आफूले त्यो भूमिकामा काम गर्न सक्छु कि सक्दिनँ भन्ने लागिरहेको थियो। स्क्रिप्ट पढ्दै जाँदा कामेश्वर दाइसँगै काम गर्ने भन्ने थाहा पाएँ, उहाँसँग काम गर्ने भनेपछि केही ऊर्जा थपियो। नयाँ चरित्र गर्न सुरुको सटमा अप्ठ्यारो हुने रहेछ।’

श्रेष्ठले इन्स्पेक्टर बन्न उसको ओहदाका बारेमा विस्तृत ज्ञान लिएर छायांकनमा उत्रिएको बताए। प्रहरीको भूमिकाबारे नक्सालमा फिल्मको स्क्रिप्ट बुझाउन जाँदा हामीले स्यालुट कसरी गर्ने, इन्सपेक्टर हुन केके गर्नुपर्ने रहेछ भन्नेबारे बुझ्यौँ। इन्स्पेक्टर कस्तो कपडामा कसरी प्रस्तुत हुन सकिन्छ, उसको कपाल कत्रो हुनुपर्छ, जुँगा राख्न, नङ पाल्न मिल्ने कि नमिल्ने, उसको भाषाको बारेमा बुझेर नै काम गरेको हो’, उनले भने, ‘मेरो एक जना आफन्त नै प्रहरीमा भएकोले चरित्रबारे आफूमा निखारता ल्याउन केही सहज भयो।’

कलाकार लक्ष्मी बर्देवाले आफूले तराईमा बसोबास गर्ने पात्रको लवज ल्याउन केही मेहनत गर्नुपरेको खुलाइन्। फिल्ममा कामेश्वर, लक्ष्मी, सरिता, प्रकाशर किरणसहित गौमाया गुरुङ, शिशिर वाङ्देल, सुस्मा निरौला, अनिल कुर्मी, शारदा गिरीलगायत कलाकारले अभिनय गरेका छन्। मुकेश खनालको कथा लेखन रहेको फिल्म सुशान्त गौतमको निर्देशनमा बनेको छ। फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्।

प्रकाशित: १६ भदौ २०८२ २०:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast