
काठमाडौँ- दक्षिण कोरियाको विश्व प्रसिद्ध बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ३० औँ संस्करणमा नेपाली लघु फिल्म ‘रिहाना’ को प्रिमियर हुने भएको छ।
फेस्टिभलले जारी गरेको सूचनाअनुसार फिल्मको विशेष स्क्रिनिङ असोज ५ र ६ मा (सेप्टेम्बर २१/२२) मा हुनेछ। यस पटक महोत्सवका लागि ३ हजार ५९ वटा फिलम पेस भएका थिए। जसमध्ये उत्कृष्ट १० मा ‘रिहाना’ पर्न सफल भएको हो।
यसले नेपाली कथाहरूलाई विश्वसामु पुर्याउने प्रयासलाई निरन्तरता दिएको फिल्मका निर्माता केदार भुसालले बताए। उनले भने, ‘नेपालका कथाहरूलाई फरक विधामा प्रस्तुत गर्दै विश्वभर पुर्याउने लक्ष्यका साथ काम गरिरहेका छौँ। ‘रिहाना’ को बुसान छनोटले मलाई अझ ठूलो हौसला र प्रेरणा दिएको छ।’
सुरज पौडेलको लेखन तथा निर्देशनमा बनेको फिल्म अ दुम्सी पिक्चर्स प्रोडक्सनले निर्माण गरेको हो। फिल्ममा पृथु भट्ट र सृजना अधिकारी मुख्य भूमिकामा छन्।
उज्ज्वल बस्ताकोटी, अभिनाश विक्रम शाह र केदार भुसालले मिलेर निर्माण गरेको फिल्मको कार्यकारी निर्मातामा रोशनी अधिकारी छन्। फिल्म शिशिर विशंखेको छायांकन, गौरव कुमार मुल्लिकको सम्पादन, शैलेश आरसी (एलएसएम) को सह-लेखनमा बनेको छ।