
काठमाडौँ- बारामा आइतबार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता विजयराज पण्डितका अनुसार मृत्यु हुनेमा रौटहतको गुजरा नगरपालिका-७ परसवा बस्ने अन्दाजी २५ वर्षीय रोशन चौधरी र सप्तरी बसवलपुर नगरपालिका-७ बस्ने २८ वर्षीय महेश पण्डित छन्।
आइतबार दिउँसो जितपुर सिमरा उपमहानगरपालिका-२ पानीट्यांकी नजिकै सिमरादेखि पथलैयातर्फ जाँदै गरेको बा ९० प ६७९४ नम्बरको र विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०६-००३ प १७५३ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।
बा ९० प ६७९४ नम्बरको मोटरसाइकलका चालक रोशन थिए। त्यसको पछाडि रौतहट परासवा निवासी ३४ वर्षीय भूपेन्द्र चौधरी थिए। घाइते भूपेन्द्रको स्थानीय एक अस्पतालमा उपचार भइरहेको छ।
रोशनको प्रादेशिक अस्पताल कलैयामा र महेशको एल एस न्यूरो अस्पताल परवानीपुरमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।