 नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला
                             नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला
                                            काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको औचित्य सकिएको पुष्टि भएको बताएका छन्। सोमबार राजधानीमा भएको नरसंहारकारी घटनापछि डा. शेखरको यस्तो प्रतिक्रिया आएको हो।
उत्तरी छिमेकी चीन भ्रमणमा रहेका कोइरालाले सोमबार टेलिफोनमा भने, ‘सरकारले युवा पुस्ताको कुरा सुन्न चाहेन। त्यही युवापुस्तालाई सडकमा ओरालेर गोली हान्न आमनागरिकले भोट दिएका होइनन्।’
कोइरालाले नेपाली कांग्रेसले यो विषयलाई गम्भीर रूपमा लिएर तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रधानमन्त्रीको राजीनामा माग गर्न सक्नुपर्ने बताए। उनले भने, ‘युवा पुस्तालाई रोजगारीसमेत दिन नसकेको अवस्थामा सडकमा आन्दोलन गरेको भरमा गोली हानी हत्या गर्ने कार्य सरकारको बरबरता हो।’
‘मानव हत्या क्षम्य हुनै सक्दैन। नेपाली कांग्रेस यसको घोर निन्दा गर्दछ,’ कोइरालाले भने, ‘आफ्ना युवालाई हत्या गर्ने सरकारलाई काधमा लिएर हिड्ने नीति नेपाली कांग्रेसले लिन हुँदैन।’
भ्रष्टाचारमा लिप्त भएको सरकारले सामाजिक सञ्जालमा समेत रोक लगाएपछि युवाहरू सडकमा उत्रिएका थिए। ‘जेन–जीले सोमबार गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउनु भनेको केही दिनदेखि नेताको सन्तानका बारेमा यही जेन्जी पुस्ताले गरेको भिडियो बाहिर आउनु हो’, कोइरालाले भने। उनी चीन भ्रमण छोट्याएर नेपाल फर्कने भएका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 