 
                            
                                            गोपाल बराल नेपाली साहित्यका विविध विधाका कलम चलाएर पहिचान बनाएका स्रष्टा हुन्। उनी कविता, कथा, निबन्ध, नियात्रा, विधामा सशक्त रूपमा स्थापित भएका छन्। काठमाडौँको जोरपाटीमा २०१७ फागुन ८ गते जन्मिएका गोपाल बरालले औपचारिक रूपमा स्नातक तह पास गरेका छन्। साहित्य क्षेत्रमा क्रियाशील बराल विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छन्।
उनी साहित्यका माध्यमबाट देश र जनताका लागि उल्लेखनीय योगदान दिन सकिन्छ भन्ने दृष्टिकोण राख्ने स्रष्टा हुन्। यसै क्रममा उनको ‘समयका स्वर’ कविता संग्रह प्रकाशित भएको छ। उनको यो दोस्रो प्रकाशित कृति भए पनि कवितासंग्रह पहिलो हो।
बरालका ‘समयका स्वर’ कविता संग्रहमा त्रिचालीसवटा कविता छन्। संग्रहभित्रका कविता पढ्दा सबै कविता सामाजिक यथार्थमा आधारित छन्। सरल भाषाशैलीमा यथार्थ विषयवस्तुलाई अवलम्बन गरेको पाइन्छ। रैखिक शैलीका कविता भएकाले बोधगम्य छन्।
प्रत्येक कविताको शीर्षकले समाजको यथार्थ र पृथक् सन्देश प्रवाह गरेका छन्। ‘काठमाडौँ’ शीर्षकको कवितामा राजधानी काठमाडौँको सामाजिक, सांस्कृतिक र भौगोलिक अवस्थालाई रूपकात्मक ढंगले प्रस्तुत गरिएको छ।
कवितामा काठमाडौँलाई केवल भौगोलिक सहरका रूपमा नभई नेपालको विभिन्न भूभागबाट आएका मानिसको केन्द्रीकरणको प्रतीकका रूपमा देखाएको छ। मानिसको भीडभाड र संघर्षलाई झल्काएको छ। मानिस आफ्नो थातथलो, गाउँबेसी र फाँटखर्क सबै बिर्सेर सहरको बनावटी रमझममा आकर्षक भएको छ।
कविले नक्कलीको बिगबिगी भएको काठमाडौँलाई प्लास्टिकको फूलजस्तै बासनाहीनका रूपमा चिनाएका छन्। चेतनाहीन भएर मान्छेले मान्छे हुनुको मूल्यमान्यता गुमाएको अनुभूत गरेका छन्।
‘मानबहादुर’ शीर्षक कवितामा पात्रलाई जीवन संघर्षको प्रतीकका रूपमा चित्रण गरिएको छ। कविताले साधारण नेपाली श्रमिक वर्गको जीवनको यथार्थ चित्रण गरेको छ।
मानबहादुर कुनै एक व्यक्तिमात्र होइन ऊ जीवन, परिवार र समाजको यथार्थ प्रस्तुत गर्ने सामान्य श्रमिकहरूको प्रतीक हो। श्रमिक जीवनलाई सम्मान गर्नुपर्छ, संघर्ष स्वीकार्नुपर्छ साथै परिवार जीवनको केन्द्र हो र मृत्यु जीवनको स्वाभाविक सत्य हो भन्ने कुराको पुष्टि यो कवितामार्फत गरिएको छ।
संग्रहका त्रिचालीस कवितामा कवि बरालका साहित्यिक र साहित्येतर गरी व्यक्तित्वका विभिन्न पाटा र जीवन संघर्षका अनेक पक्ष समावेश छन्। आफ्नो जीवनका संघर्ष कविताको लयमा व्यक्त गर्न सक्नु कवि बरालको खुबी हो।
संग्रहमा राष्ट्रियता, स्वाभिमान र देशभक्तिको भावनासँग सम्बन्धित कविता धेरै छन्। उनले नेपालमाथि भौगोलिक, सांस्कृतिक एवम् आर्थिक हस्तक्षेप र अतिक्रमण भइरहेको कुरालाई कवितामार्फत उजागर गरेका छन्। यस्ता कवितमा बरालको राष्ट्रवादी स्वर मुखर भएको छ।
संग्रहको ‘आजको नियति’ शीर्षक कवितामा राजनीतिक दल र समाजको विडम्बना प्रस्तुत गरिएको छ। यस कविताले आजको परिस्थितिलाई देखाएको छ। ठूला दलले पटकपटक आफ्नै आदर्शलाई धुलाम्मे पारिरहेको अवस्थाप्रति कविले रोष प्रकट गरेका छन्। यस कवितमा राजनीतिक अस्थिरता, दलगत स्वार्थ र जनताको पीडादायी अवस्थामाथि व्यंग्य गरिएको छ।
अर्को कविता ‘भुलेको इतिहास’ मा कविले विगत र वर्तमानको तुलना गरेका छन्। साथै उनले समाज, संस्कृति र वातावरणको ह्रासप्रति चिन्ता प्रकट गरेका छन्। कवितामार्फत कविले सामाजिक, सांस्कृतिक र धार्मिक मूल्यहरूको पतनलाई व्यंग्यात्मक र भावनात्मक शैलीमा प्रस्तुत गरेका छन्।
‘भानुभक्त’ कवितामा कविले पृथ्वीनारायण शाहले भौगोलिक रुपमा नेपाल एकीकरण गरेजस्तै भानुभक्तले भाषिक सांस्कृतिक रुपमा विभक्त नेपाली मनलाई नेपाली भाषाका माध्यमले एकतामा बाँध्ने काम गरेको विषयलाई काव्यमय भाषामा अभिव्यक्त गरेका छन्। उनको ‘भस्मासुर’ कविता आजको परिवेशमा पनि मिल्दोजुल्दो छ।
‘समयका स्वर’ कविता संग्रहका त्रिचालीस कवितामा सरल भाषाशैलीको प्रयोग साथै भावविचारमा समाजको यथार्थ चित्रण गरिएको छ। कविताले नेपाली समाजमा रूपान्तरणको चेतना प्रवाह गरेको देखिन्छ। प्रत्येक कविता सन्देशमूलक छन्। तिनमा मानवीय जीवनको सुखद र सुन्दर भविष्यको परिकल्पना गरिएको छ। बरालका कविता पाठक वर्गलाई सकारात्मक सन्देश प्रवाह गर्न सफल छन्।
समाजका हरेक पक्ष कवितामा प्रस्तुत हुनु यस कविता संग्रहका सबल पक्ष हो। कविता वर्णनात्मक शैलीमा हुनु र शीर्षक भिन्नभिन्न भए पनि विषय, सन्दर्भ र शब्दबिम्ब पुनरावृत्ति हुनु कविता संग्रहका कमजोरी हुन्। बरालका कवितामा धेरै प्रकारका विषय र विचारको अभिव्यक्ति पाइन्छ। आशा, भरोसा र संघर्षसहित राष्ट्रियता र स्वाभिमानको रक्षा विषयवस्तुमा लेखिएका बरालका कविता सशक्त छन्।

 
                    


 
  
  
  
  
  
  
  
  
  
 