संविधान रक्षा गर्दै समयसापेक्ष संशोधन गर्नु आजको आवश्यकता : विज्ञहरू

हिमाल प्रेस ३ असोज २०८२ १०:४४ | Friday, September 19, 2025
संविधान रक्षा गर्दै समयसापेक्ष संशोधन गर्नु आजको आवश्यकता : विज्ञहरू

काठमाडौँ- संविधान दिवसको अवसरमा संविधानविद्, कानुन व्यवसायी र अधिकारकर्मीहरूले नेपालको वर्तमान संविधानलाई समयानुकूल संशोधन गर्दै रक्षा गर्नु नै आजको प्रमुख आवश्यकता रहेको बताएका छन्।

उनीहरूले नेपालको संविधान मुलुकको उन्नति, प्रगति र स्थायित्वको आधार भएकाले यसलाई दोष नलगाई समयसापेक्ष परिमार्जन गर्दै अघि बढाउनुपर्नेमा जोड दिएका हुन्।

नेपाल बार एसोसिएसनका अध्यक्ष डा.विजय मिश्रले संविधानलाई दीर्घजीवी बनाउन आवश्यकताअनुसार संशोधन गर्दै भ्रष्टाचार निर्मूल र सुशासन कायम गर्नुपर्ने बताए। उनले जनताको आकांक्षा संविधानमार्फतै पूरा गर्नुपर्ने धारणा व्यक्त गरे।

संविधानविद् रामनारायण विडारीले नेपालको संविधानलाई उत्कृष्ट दस्तावेजका रूपमा मूल्यांकन गर्दै यसको प्रभावकारी कार्यान्वयन नहुँदा जनता निराश भएको बताए। उनले संवैधानिक परिषद्, न्याय परिषद्, निर्वाचन प्रणाली लगायतका विषयमा संशोधन र राज्य संयन्त्रको सुदृढीकरण आवश्यक रहेको उल्लेख गरे।

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले संविधान दिवसले राखेका उद्देश्य पूरा भएमा मुलुक र जनताको प्रगति सुनिश्चित हुने विश्वास व्यक्त गरे। उनले संविधानलाई नयाँ पुस्तालाई राजनीतिमा आकर्षित गर्ने साधक बनाउनुपर्ने सुझाव दिए।

अधिकारकर्मी अर्जुनबहादुर कार्कीले हजारौँको बलिदानबाट प्राप्त संविधानको मर्मलाई आत्मसात् गर्न सबैले प्रतिबद्ध हुनुपर्नेमा जोड दिए। उनले संविधानलाई सम्मान र पालना नगरे मुलुक दुर्घटनातर्फ धकेलिन सक्ने चेतावनी दिए।

संविधान दिवसको अवसरमा विज्ञहरूले एक स्वरमा भनेका छन्,‘संविधान समयसापेक्ष संशोधन र सुधार गर्दै यसको रक्षा गर्नुको विकल्प छैन, यहीबाट लोकतान्त्रिक गणतन्त्रको भविष्य सुनिश्चित हुन्छ।’

प्रकाशित: ३ असोज २०८२ १०:४४ | Friday, September 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast