भवन जलेपछि भुइँमै बस्यो इटहरी कार्यपालिका बैठक

हिमाल प्रेस ३१ भदौ २०८२ १७:४९ | Tuesday, September 16, 2025
भवन जलेपछि भुइँमै बस्यो इटहरी कार्यपालिका बैठक

इटहरी- जेनजी आन्दोलनमा कार्यपालिका भवनसहितका संरचना जलेर नष्ट भएपछि इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठक मंगलबार भुइँमै बसेको छ। बैठकले असोज ४ गतेदेखि अस्थायी संरचनाबाट सेवा सुचारु गर्ने निर्णय गरेको छ।

मेयर हेमकर्ण पौडेल, उपमेयर संगीता चौधरी, वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृतसहितका सदस्यहरू कार्यालय परिसरमै चकटी वा गुन्द्रीबिना भुइँमा बैठकमा बसेका हुन्।

बैठकले इटहरीमा भएको प्रदर्शनको क्रममा ज्यान गुमाएका दुई जनाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। यसैगरी घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेको छ।

नगरका भौतिक क्षतिको विवरण संकलन गर्ने, इटहरी कार्यपालिका कार्यालय असोज ४ गतेसम्म बिदा दिने र त्यसपछि मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ।

भवन र फर्निचरसहित कम्प्युटर, कागजात, सवारीसाधनसमेत जलेर नष्ट भएपछि तत्काल सेवा प्रवाह अवरुद्ध भएको छ।

मेयर पौडेलले क्षतिग्रस्त संरचना तत्काल पुनर्निर्माण गर्न सम्भव नभएकाले अस्थायी संरचनाबाटै सेवा दिनुपर्ने बताए। बैठकले आगजनी र तोडफोडमा संलग्नलाई कानुनी कारबाही गर्न पहल गर्ने निर्णयसमेत गरेको छ।

भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा उपमहानगरपालिकाको मेयर कक्षसहित ५ वटा भवन खरानी बनेका थिए भने मेयर पौडेल र वडा १७ का अध्यक्ष प्रभात आचार्यको निजी घरमा समेत आगजनी भएको थियो।

प्रकाशित: ३१ भदौ २०८२ १७:४९ | Tuesday, September 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast