 
                             
                                            पोखरा- जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा निषेधाज्ञाको क्षेत्र बढाएको छ। विशेषगरी गण्डकी प्रदेशसभा, मुख्यमन्त्री कार्यालय आसपास क्षेत्रमा निषेधाज्ञा गरिएको हो।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मंगलबार निषेधाज्ञाको आदेश जारी गरेकी हुन्। सहिदचोकको पूर्वतर्फ वाईचोक, पश्चिममा फिस्टेल गेट, उत्तरमा मालपोत कार्यालय, दक्षिणमा राष्ट्र बैंक चोक, गण्डकी प्रदेशसभाको उत्तरमा भीमकाली पाटन बगर, दक्षिणमा अधिकारी टोल, पूर्वमा नदीपुर हाई बे र पश्चिममा बागबजार ट्याक्सीचोक क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रम गर्न पाइने छैन।
आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गरे जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ। सोमबारको घटनाले सम्भावित थप अप्रिय घटना हुन सक्ने आकलन गर्दै सहिदचोक क्षेत्रको मुख्यमन्त्री कार्यालय समेतका सरकारी कार्यालय तथा संसद भवन क्षेत्रमा सुरक्षाकर्मी बाक्लो रुपमा तैनाथ गरिएको छ।
त्यस आसपासबाट मानिसलाई हिंडडुल गर्न समेत दिइएको छैन। प्रहरीले काँडे तार लगाएर छेकेको छ। व्यवसायीले त्रासका कारण सटर बन्द गरेका छन्। सर्वसाधारण मानिसको उपस्थिति पनि पातलो हुँदै गएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 