नारायणगढ–मुग्लिन सडक शुक्रबारदेखि अवरूद्ध, हजारौँ यात्रु अलपत्र

हिमाल प्रेस ४ असोज २०८२ १४:४७ | Saturday, September 20, 2025
नारायणगढ–मुग्लिन सडक शुक्रबारदेखि अवरूद्ध, हजारौँ यात्रु अलपत्र

काठमाडौँ- पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरूद्ध हुँदा हजारौँ यात्रु अलपत्र परेका छन्। नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा पहिरो गएको हो। शुक्रबार साँझ ६ बजेदेखि निरन्तर पहिरो खसिरहँदा बाटो अवरूद्ध भएको हो। पहिरोका कारण बाटो अवरूद्ध भएपछि शुक्रबार साँझदेखि दुवैतर्फका यात्रुहरू अलपत्र परेका छन्।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शुक्रबार साँझदेखि निरन्तर पहिरो गइरहेकोले बाटो सञ्चालनमा कठिनाइ आएको बताए।

‘हिजो साँझ ६ बजेदेखि निरन्तर पहिरो गइरहेको छ। पहिरो जाने क्रम नरोकिएकाले पन्छाउने काममा समस्या देखिएको छ,’ अर्यालले भने,‘हामीले त्यहाँ टोली पठाएका छौँ। तर, पहिरो पन्छ्याउने काम जटिल भएको छ।’

उनले यही अवस्था रहे शनिबार पनि बाटो सञ्चालन हुने सम्भावना न्यून रहेको बताए। ‘निरन्तर पहिरो गइरहेको छ, आज पनि बाटो खुल्ने सम्भावना देखिँदैन,’ उनले भने।

बाटो अवरूद्ध भएपछि काठमाडौँतर्फ जाने र काठमाडौँबाट फर्किने सबै गाडीहरू रोकिँदा यात्रुहरू अलपत्र परेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए। उनका अनुसार करिब एक हजार यात्रु अलपत्र परेका छन्।

‘पहिरोका कारण गाडीहरू रोकिएको अवस्था छ। उनीहरूले फर्काउन मानेका छैनन्,’ अर्यालले भने,‘करिब एक हजारको संख्यामा यात्रुहरू अलपत्र परेको हाम्रो अनुमान छ।’

अलपत्र परेका यात्रुहरूका लागि चाउचाउ, चिउरा, दालमोठ, पानीलगायतका व्यवस्था गरेर वितरण गर्ने तयारी गरिरहेको उनले बताए।

‘समाजसेवीसँग सहयोग मागेर अलपत्र परेका यात्रुहरूका लागि चाउचाउ, दालमोठ, चिउरा, पानीलगायतका सामग्री वितरण गर्न गइरहेका छौँ,’ अर्यालले भने।

डिभिजन सडक कार्यालयका अनुसार झन्डै १०० मिटरमाथिबाट पहिरो झरेको छ। निरन्तर पहिरो खसिरहेकाले पन्छाउन कठिनाइ भइरहेको छ। पहिरो खसेको ठाउँ मुग्लिनबाट साढे दुई किलोमिटर दक्षिणतर्फ पर्दछ।

प्रकाशित: ४ असोज २०८२ १४:४७ | Saturday, September 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast