धनुषाका सरकारी कार्यालयहरूद्वारा सेवा सञ्चालन

हिमाल प्रेस ३० भदौ २०८२ १७:५२ | Monday, September 15, 2025
धनुषाका सरकारी कार्यालयहरूद्वारा सेवा सञ्चालन

जनकपुरधाम– धनुषामा रहेका सरकारी कार्यालयहरूले सेवा प्रवाह सुरु गरेका छन्। सेवाग्राहीहरू पनि कार्यालयहरूमा आउन थालेका छन्।

साथै यहाँका बैंक तथा वित्तीय संस्थाहरू पनि सञ्चालनमा आएका छन्। जिल्ला प्रशासन कार्यालय धनुषा जनकपुरधामले सरकारी कार्यालयहरूलाई नियमित सेवा प्रवाह गर्न लिखित सूचना जारी गरेपछि कार्यालयहरू सरसफाइ गरी खुल्न थालेका हुन्।

यहाँका कतिपय कार्यालयहरू पूर्ण रूपमा जलेर नष्ट भएकाले सञ्चालनमा आउन सकेका छैनन्। त्यहाँको कम्प्युटर, इन्टरनेट, ल्यापटप, दराज, कागजपत्र, महत्त्वपूर्ण फाइल, रेकर्डहरू तथा सिसा, कुर्सी, टेबल, झ्यालढोका तथा कोठाहरू नष्ट भएका छन्।

जनकपुरधाम उपमहानगरपालिका पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको तथा त्यहाँ सेवा प्रवाह गर्ने वातावरण नभएको नगरप्रमुख मजोज साहले बताए। आगो लागेका धेरै कार्यालयहरूको उक्त समस्या भएको उनले जानकारी दिए।

साथै आ–आफ्नो कार्यालयको क्षति विवरण संकलन तथा प्रमाणित गरी अभिलेख कायम गर्न अनुरोधसमेत गरेको सूचनामा उल्लेख गरिएको छ। सूचनाका आधारमा क्षतिको विवरण तथा प्रहरीबाट मुचुल्का उठाउने कार्य भइरहेको छ।

जिल्ला प्रशासन कार्यालयको सबै सेवा सोमबारदेखि सुरु भए पनि राहदानी तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा हाल सञ्चालन नहुने सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।

सार्वजनिकस्थल तथा सार्वजनिक कार्यालयहरूमा कुनै अप्रिय घटना वा उच्छशृंखल गतिविधि हुन नदिनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाली सेनासहित नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली बजारका विभिन्न स्थानमा सुरक्षार्थ खटिएका छन्।

जेनजीको आन्दोलनमा करिब दुई दर्जनभन्दा बढी सरकारी तथा सार्वजनिक तथा राजनीतिक दलका नेता तथा पार्टीको कार्यालयहरूमा आगजनी तथा तोडफोड भएको छ।

प्रकाशित: ३० भदौ २०८२ १७:५२ | Monday, September 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast