भदौको चौथो सोमबार बिहानसम्म काठमाडौँ शान्त थियो। वर्षात् सकिन लागेको आभास बिहानी घामले दिइरहेको थियो। मौसममा शारदीय छनक देखिन थाल्दा दसैँ नजिकिएको संकेत आइरहेको थियो। ट्रेन्डिङको एउटा समाचारमा थियो- दसैँका लागि खसीबोका, च्यांग्राको अनलाइन बुकिङ सुरु।
घामले फूलचोकीको चुचुरोलाई छोडेर अकासिँदै गर्दा काठमाडौँ उपत्यकामा सरकारले दशकौँदेखि खसीबोका बेच्ने थलो खाद्य कम्पनी लिमिटेडको गोदम नजिकैको माइतीघरको चोकमा युवाहरू भेला हुन थाले। उनीहरू सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा एकत्र भइरहेका थिए। जसै युवाहरूको भीड बानेश्वरतर्फ बढ्यो, तब प्रदर्शन तनावग्रस्त हुन थाल्यो। प्रदर्शनकारी युवाले प्रहरी घेरा तोडेर संसद् भवन छिरे। तोडफोड गरे। प्रदर्शनकारीलाई नियन्त्रण लिन प्रहरीले अश्रुग्यास मात्र प्रहार गरेन। गोली पनि प्रहार गर्यो। अनि प्रदर्शनमा सहभागी भएका कम्तीमा डेढ दर्जन युवाले ज्यान गुमाइसकेको समाचार आएको छ।
ओहो एकै दिनमा एउटै प्रदर्शनमा त्यत्रा मान्छे मरे? विश्वासलाई पनि अविश्वास हुन सक्छ। सामान्यता काठमाडौँ शान्त सहर हो, तर कहिलेकाहीँ यो अशान्त हुन्छ। यहाँ अशान्त हुनु भनेको देशको स्वास्थ्य ठिक छैन भन्ने संकेत हो।
दलका पक्षधरले ठानेका छन्, बेकारको प्रदर्शन गर्न जाने र प्रहरीसँग मुठभेड गर्नेको नियति यस्तै हो। गृह प्रशासन सोच्दो हो, सुरक्षा व्यवस्था चुस्त राख्न कहिलेकाहीँ गह्रौँ पाइला पनि चाल्नुपर्छ। सरकारले कुनै बेला प्रधानमन्त्री रहँदा सूर्यबहादुर थापाले विपक्षी लक्षित गरेर बोलेको बोली सम्झेला। थापाले भनेका थिए, चिसो सडक अलिअलि तात्दा राम्रै हुन्छ। प्रतिपक्षले यसलाई आफ्नो दुनो सोझ्याउने अवसरका रुपमा उपयोग गर्ला।
आशा गरौँ भोलि बिहानसम्म माइतीघर र बानेश्वर आज बिहानजस्तै शान्त र निर्बाध दैनिकीमा लाग्ला। त्यसबीचमा मरेको ती युवाको ज्यानको जिम्मेवारी कसले लिने? ती किन विरोधमा आए? तिनको माग के थियो? के तिनको माग सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गर्ने मात्रै थियो? सरकारको एउटा निर्णयको विरोधमा मात्र मान्छे त्यस्तरी उर्लेर आएका हुन्? अनि यो उर्लाइ काठमाडौँमा मात्र सीमित छ? युवा त देशैभरि असन्तुष्ट रहेछन्। के काठमाडौँबाहिरको शहरमा उर्लिएका युवाहरू प्रायोजित भीड हो?
राजनीतिक विश्लेषकहरू देशमा बेरोजगार युवाको संख्या अधिक हुँदा सत्ता उलटपुलट हुने बताउँछन्। राम्रो साशकीय प्रणाली भएको देशले युवा शक्तिलाई कतै नै कतै अल्झाएर एकोहोर्याउँछ र उसबाट सिर्जनात्मक योगदानको अपेक्षा गरिरहन्छ। तर कमजोरी शासकीय प्रणाली भएको नेपालजस्तो देशमा भने त्यस्तो आशा गर्न सकिँदैन। देश हाँक्नेलाई हाम्रो शक्ति कहाँ हो, हाम्रो कमजोरी कहाँ हो, कसरी कमजोरी पार लगाउँदै देशलाई शक्तिशाली बनाउने भन्ने थाहा छैन। नेतामा क्षमता पटक्कै छैन। क्षमता हुने विज्ञ पाखा लागेको हुन्छ, विज्ञभन्दा बढी चाटुकार हुन सक्ने विज्ञले नेताको मनोदशा हेरेर बोल्छ।
नेपालमा नेता हुन खास केही चाहिँदैन। कोही अरू पछि लागिदिन्छन् भने त्यो नेता हुन्छ। ‘हाम्रा नेताहरू नेता हुन लायकका हुन् र? यी त अरू पछि लागिदिएकाले नेता भएका हुन्,’ भन्ने प्राध्यापक विद्यानाथ कोइरालाको उक्तिको बारबार सम्झिरहने वातावरण छ नेपालमा। आफ्नो पार्टी एमालेको विधान महाधिवेशनबाट सर्वेसर्वा नेता भएको भालिपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठूलै अपजस आइलागेको छ। वाक्पटुतायुक्त ओलीले यो घटनामा के भन्लान्, वा के गर्लान् भोलिका दिनमा स्पष्ट हुनेछ। तर आज उठेको प्रश्नको उत्तर नेतृत्व तहमा रहेका सबैले बुझ्न नचाहनु देशलाई अधोगतिमा धकेल्नु मात्र हो।
युवाको यो आक्रोश सामाजिक सञ्जालको प्रयोगको प्रश्न मात्रै होइन। भलै सरकारले आफ्नो कमजोरीलाई नसुधारी विरोधी पक्ष यसैका माध्यमबाट उदाएको देखेर आउँदो चुनावलाई लक्षित भएर सामाजिक सञ्जाललाई नियन्त्रण गर्न चाहेको होस्। युवाले भोगेको सास्ती र उसको अन्धकारमय भविष्यप्रतिको वितृष्णा हो, यो विद्रोह।
युवाले भोगको छ– देशको सरकारी कलेजमा पढाइभन्दा धेरै राजनीति हुन्छ। निजी कलेजमा पढ्ने आर्थिक हैसियत छैन। पढ्दै काम गर्ने वतावरण देशमा छैन। यहाँको कमाइले राम्रोसँग खान पनि पाइँदैन, पढ्ने कुरा टाढाको भयो। विदेश जाऊँ पैसा छैन। भएको जग्गा धितो राख्न, बैंकले पत्याउँदैन। सहरकारी जाऊँ, त्यहाँ पनि लुट छ। अन्तिम भरोसा र आधार कहाँ छ युवालाई?
नेपाल–भारत नाकाबन्दी हुँदा तराईका प्रहरी चौकीहरूलाई हाइसन्चो भएको समाचार प्रकाशित भएका थिए। त्यो बेला सीमापारिबाट पेट्रोल ल्याएर वारि बेच्दा आम्दानी हुने भएपछि सबै युवा त्यता लाग्दा तराईमा चोरीको घटना शून्य भएको, झैझगडा र अमनचयनमा खलल पुग्ने घटना नै नभएको प्रहरीको रिपोर्ट थियो। त्यो एउटा विषम परिस्थितिको विशेष घटना थियो। तर त्यसको सन्देश के हो भने कोही पनि चोरी, चकारी र डकैतीमा लाग्दैन, यदि उसले अवसर पाउँछ भने। काठमाडौँ उपत्यकालगायत सहरी क्षेत्रमा पठाओ चलाउन सुरु भए यताको चोरी, पाकेटमारीको विश्लेषण गर्ने हो भने त्यो उल्लेख्य मात्रामा घटेको हुनुपर्छ। किनभने मान्छेले केही गरेर खान सक्दा केही गरेकै हुन्छ, कालोबाटोमा लाग्दैन। त्यस्ता मान्छे कम हुन्छन्। आज जेनजी सडकमा आउनुको कारण पनि उसले केही गर्न नपाएर हो। केही गर्न सक्ने वातावरण नदेखेरै हो।
के जेनजीले उठाएको माग नाजायज छ? उनीहरूले भनेका छन्- ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ; कता हिँडेको ट्याक्स लुटेर? स्वतन्त्र आवाज हाम्रो अधिकार; भ्रष्टाचार नियन्त्रण होस्।’ के यी जागज माग होइनन्?
आज जेनजी सडकमा आउँदै गर्दा २०६२/६३ को आन्दोलनले गति नलिँदा ‘युवाहरू आएनन्’ भनेर गुनासो गर्ने नेताहरूले के सोच्नुपर्छ भने यदि तिनको मनासाय र निर्देशनअनुसार युवा आएका थिए भनेचाहिँ के यो विद्रोह जायज हुने थियो?
आज अन्तुष्टिको आवाज ओकल्ने अग्रमोर्चामा युवा पुस्ता देखिएको छ। तर यो असन्तुष्टि नेतृत्वमाथिको असन्तुष्टि हो, मुख्य तीन दललगायत अन्य सुकिला मुकिला दल, जो सधै मुकाममा बस्छ र गरिब जनताको उत्थानको कुरा गर्छ। तर दुःखको कुरा हाम्रो नेतृत्वले सच्चिने छाँटकाँट देखाएको छैन। हाम्रो अहिलेको नेतृत्वले पञ्चायत फालेको, गणतन्त्र ल्याएको पक्कापक्की हो। त्यसको ब्याजको स्याज पनि नेतृत्वले लिइसकेको छ। त्यसैले अहिलेको नेतृत्व पाखा लागोस्, देश अघि लागोस् भन्ने दमित आवाज यो विद्रोहको हो। अहिलेको नेतृत्वले देश अघि लगाउने भएको भए सामाजिक सञ्जाल प्रयोगको विषयलाई लिएर यति धेरै जनाले पक्कै ज्यान गुमाउनुपर्ने थिएन।
नयाँ पुस्ता र अहिलेको पुस्तामा कति धेरै बुझाइको अन्तर रहेछ भन्ने पनि यो जेनजी विद्रोहले पुष्टि गरेको छ। प्रविधिको विस्तार र नयाँ अवसर खुल्दै जाँदा त्यसले समाजलाई खुला र उद्धार बनाउनुपर्नेमा झन्झन् अधिनायकवाद उन्मुख गराउँदै लगेको हालैसालै तयार पारिएको मिडिया विधेयकले पनि पुष्टि गरकै थियो। नयाँ पुस्ताले अरुको कुरा सुन्दैन भन्ने त वितेको स्थानीय चुनाव र संसदीय चुनावमा पनि प्रस्ट भएकै थियो। जेनजीको भ्रष्टाचार मुक्त देशको सपना नाजायज छैन। नेपाली इतिहासमा भदौको २३ गतेको दिन युवाहरूलाई अनाहकमा बलि चढाउने कालो दिनकारू रुपमा रहने निश्चितप्रायः छ। यसको जिम्मा कसले लिने?


                                             
                                             
                                             
                                             
                                             
                                             

