जेनजी पुस्ताको माग अनुसार भ्रष्टाचारमुक्त समाज निर्माणमा जोड

हिमाल प्रेस ३ असोज २०८२ १८:५१ | Friday, September 19, 2025
जेनजी पुस्ताको माग अनुसार भ्रष्टाचारमुक्त समाज निर्माणमा जोड

काठमाडौँ- नेपाली कांग्रेसका नेताहरूले जेनजी पुस्ताको माग अनुसार स्थायी सरकार निर्माण र भ्रष्टाचारमुक्त समाज निर्माणमा जोड दिएका छन्। नेपाली कांग्रेस चितवनले ११ औँ संविधान दिवसको अवसरमा शुक्रबार आयोजना गरेको ‘संविधान कार्यान्वयनका चुनौती र समाधान’ विषयक विचार गोष्ठीमा बोल्दै उनीहरूले यस्तो बताएका हुन्।

कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले भ्रष्टाचारमुक्त समाज निर्माण र स्थायी सरकार निर्माणका लागि जोड दिए। उनले संविधानमा आवश्यक संशोधन गरी जेनजी पुस्ताको माग सम्बोधन गर्न सकिने धारणा राखे। संविधानसभा सदस्य शेषनाथ अधिकारीले संविधान र व्यवस्थाको रक्षा सबैको जिम्मेवारी भएको उल्लेख गर्दै निर्धारित समयमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सबै नागरिक सचेत रहनुपर्ने उल्लेख गरे।

जिल्ला सभापति राजेश्वर खनालले कांग्रेस जेनजी पुस्ताको माग आत्मसात गर्न तयार रहेको बताए।

लामो समयदेखि खुला राजनीति र सरकारमा रहँदै आएको कांग्रेसले राष्ट्र तथा नागरिकको पक्षमा काम गरेको बताउँदै उनले कहीँकतै कमजोरी भए त्यसलाई सच्याउनुपर्ने जिकिर गरे।

खनालले जेनजी आन्दोलनमा सहाद प्राप्त गर्नेहरूप्रति समवेदना प्रकट गर्दै पार्टी सभापतिमाथि भएको अमानवीय व्यवहारको भत्र्सना गरे। उनले गुमेको सम्मान पुनः स्थापना गर्न सक्दो चाँडो अधिवेशन बोलाई नेतृत्व हस्तान्तरण गर्न अनुरोध गरे।

सभापति खनालको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता एकनारायण सापकोटा, चितवन कांग्रेसका कानुनी सल्लाहकार अधिवक्ता गोविन्द सिग्देल, प्रजातन्त्रवादी कानुन व्यवसायी संघ चितवनका अध्यक्ष श्रीराम दवाडी, जेनजी युवा समूहका तर्फबाट कानुन व्यवसायी उमंग लोहनीलगायतले आ–आफ्नो धारणा राखेका थिए।

प्रकाशित: ३ असोज २०८२ १८:५१ | Friday, September 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast