घर खरानी बनाइदिएपछि गभर्नर पौडेल लेख्छन्- दुई पैसा कसैको खाएको भए रिपोर्ट गरे हुन्छ

हिमाल प्रेस २६ भदौ २०८२ १४:१० | Thursday, September 11, 2025
घर खरानी बनाइदिएपछि गभर्नर पौडेल लेख्छन्- दुई पैसा कसैको खाएको भए रिपोर्ट गरे हुन्छ नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलको चितवनस्थित घरमा पुगेका आन्दोलनकारी र जल्दै गरेको ललितपुरको भैँसीपाटीस्थित घर।

भैँसेपाटीको जलाइएको घर मैले योजना आयोगको उपाध्यक्ष हुनुअघि नै छात्रवृत्ति र देशविदेशमा काम गरेर साढे पाँच आना जग्गामा बनाएको हुँ। श्रीमती र मेरी ९ वर्षकी छोरीलाई यो घर धेरै मन पर्ने भएकाले गभर्नर भएपछि पनि यही बस्थ्यौँ। गाडी पार्क गर्न मिल्ने जमिन पनि नभएको भनेर स्टाफहरुको पहिलो खेपको कमेन्ट आएको थियो।

भित्र यसको बनावट सुन्दर थियो। माथिल्लो तलामा किताबैकिताब, मैले इबे आदिमा किनेका पुराना ऐतिहासिक सामग्री, विभिन्न देशमा जाँदा किनेर ल्याएका कलाकृति थिए। देवीदेवताका मूर्ति, भियतनामी सिल्क पेन्टिङदेखि लिएर माओत्सेतुङसम्मका मूर्ति थिए।

जम्मा ५०० प्रति छापिएको जंगबहादुरको गर्लफ्रेन्ड लौरा बेलको जीवनी पनि त्यहीँ थियो। छोरीको अत्यन्त मन पर्ने कोठा पनि त्यही थियो। अस्ति यो घर जल्नु दुई घन्टाअघि नै यो घर जलेको खबर एक प्रख्यात अनलाइनमा आयो। मैले बुझ्दा घरमा केही भएको थिएन। पछि भने घरभित्र मानिस गए।

बाआमाको फोटो, मेरी छोरीको सानो छँदाको फोटो लात्ताले कुल्चेर फुटाए र सबैमा आगो लगाए। छोरीलाई कपन गुम्बाको गुरु रिम्पोछेले दिनुभएको यौटा मन्त्रेको खेलौना थियो, ऊ राति नतर्सियोस् भनेर च्यापेर सुत्न दिन्थ्यौँ। त्यो खेलौना पनि कुल्चिए र आगो लगाइदिए।

राति मेरी छोरी र श्रीमती नजिकको यौटा घर गएर सुते। म परको अर्को ठाउँमा। मेरा साथीहरूलाई थाहा छ, छोरी सुताउनुपर्छ भनेर म सधैँ चाँडै घर आउँछु र कतै डिनर खाने गर्दिनँ। त्यो दिन हामी सबै ‘शरणार्थी’ भयौँ।

किताब र कपडा धेरै भएकोले ढिलोसम्म घर जलिरह्यो। राति पनि केही व्यक्तिले आएर बेलाबेलामा ढुंगा हानेर र सामान चोरेर गैराख्थे भनेर छिमेकीहरूले सुनाए। धेरै साथीहरूले मलाई फोन गरेर सोध्दा मैले ठिकै छ भन्ने जवाफ दिएको छु।

हिजो राति मभन्दा पनि पीडामा परेका व्यक्तिहरूको बारेमा पढेँ। त्यसैले सबैलाई सूचना होस् भनेर जल्दै गरेको मेरो घरको भिडियो पोस्ट गरेको छु। अब यसबारेमा अरू छलफल के नै गर्नुपर्ला र? नयाँ सरकार बन्दै छ।

मैले दुई पैसा कसैको खाएको या मागेको खबर भए रिपोर्ट गरे हुन्छ। यो गभर्नरको पद पनि कस्तो अवस्थामा लिएको थिएँ भन्ने सबैलाई थाहै छ।

पौडेलको सामाजिक सञ्जालबाट

प्रकाशित: २६ भदौ २०८२ १४:१० | Thursday, September 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast