 प्रतिकात्मक तस्बिर
                             प्रतिकात्मक तस्बिर
                                            हेटौँडा- बागमती प्रदेश सरकारले स्वीकृत दरबन्दीमा कार्यरत करार र अस्थायी कर्मचारीलाई मासिक पाँच हजार रुपैयाँ महँगी भत्ता दिने निर्णय गरेको छ। यो व्यवस्था २०८२ साल साउन १ गतेदेखि नै लागू हुने गरी भएको छ।
प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले मंगलबार जारी गरेको परिपत्रअनुसार आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको बुँदा नं. १९४ मा कर्मचारीलाई महँगी भत्ता दिने घोषणा गरिएको थियो। त्यसलाई कार्यान्वयन गर्ने क्रममा मन्त्रिपरिषद्ले २०८२ भदौ १२ गते बसेको बैठकले करार र अस्थायी कर्मचारीलाई पनि सो सुविधा दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ।
निर्णयअनुसार प्रदेशभित्रका सबै मन्त्रालय, निकाय, आयोग, सचिवालय तथा कार्यालयको स्वीकृत दरबन्दीमा कार्यरत करार र अस्थायी कर्मचारीले साउन १ गतेदेखि नै मासिक पाँच हजार रुपैयाँ अतिरिक्त महँगी भत्ता पाउनेछन्।
मन्त्रालयले खर्च शीर्षक नं. २११३२ (महँगी भत्ता) मा विनियोजित बजेटबाटै यो सुविधा उपलब्ध गराइने स्पष्ट पारेको छ। बजेट अपुग हुने वा विनियोजन नभएका निकायका हकमा भने थप रकम माग गर्न सकिने व्यवस्था गरिएको छ।
यसअघि स्थायी कर्मचारीलाई मात्रै महँगी भत्ता दिने व्यवस्था थियो। तर करार र अस्थायी कर्मचारीलाई समेत सो सुविधा लागू भएपछि प्रदेशभरका हजारौं कर्मचारी लाभान्वित हुने भएको छ।


 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 