 सूर्य थापा
                             सूर्य थापा 
                                            काठमाडौँ– नेकपा एमाले नेता तथा सांसद सूर्यबहादुर थापाले राष्ट्रपति रामचन्द्र पौडेलले अविलम्ब राष्ट्रको नाममा सम्बोधन गरेर आम नागरिकलाई आश्वस्त र विश्वस्त बनाउनआग्रह गरेका छन्।
थापाले आज विज्ञप्ति जारी गर्दै अहिलेकै संविधान र सार्वभौम संसद्बाट नै राजनीतिक निकास दिनुपर्नेमा जोड दिएका छन्।
‘सरकार बनाउने संसद्ले हो। यो मूलबाटो छाडेर वा बिराएर अथवा भत्काएर देशलाई सही रूपमा अघि बढाउन सम्भव हुने छैन। इतिहासमा कलंकको टीका लगाउने गल्ती कसैबाट नहोस्। यति कुरामा हरेक लोकतन्त्र पक्षधरले ध्यान दिनुपर्छ,’ उनले भनेका छन्।
उनले जनताको नासो संसद् विघटनको असंवैधानिक कदममा देशी–विदेशी स्वार्थ समूहहरू सक्रिय रहेको स्पष्ट देखिएको उल्लेख गरेका छन्।
‘संविधानसम्मत र सार्वभौम संसदको छलफल एवं निर्णयभन्दा भिन्नढंगले कोही पनि अघि बढ्न खोज्नु असंवैधानिक मात्र होइन स्वतन्त्रता र मानव अधिकारका लागि पटक पटक भएका आन्दोलनबाट प्राप्त उपलब्धिलाई कत्लेआम गर्ने कदम हुनेछ,’ उनले भनेका छन्।
सांसद थापाले अहिलेको आन्दोलनले खोजेको सुशासन र प्रतिनिधित्व प्रणालीमा परिवर्तनको विषयलाई संविधान संशोधनको माध्यमबाट समाधान गर्नसक्ने र संविधानको परिधिभित्र रहेरै जान सकिने अवस्था पनि विद्यमान रहेको बताएका छन्।
‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू संविधानविपरीतको काम र क्रियाकलापमा सहभागी वा सहमत हुनुभएको छैन र हुनुहुने पनि छैन भन्ने विश्वासमा छौं। सम्माननीय राष्ट्रपतिलाई यस्तो काम गर्नमा कुनै अवाञ्छित प्रयास कहीं कतैबाट नहोस्,’ उनले भने।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 