आउन थाले दसैँ गीत, समेटिए परदेशीका पीडा र गाउँ फर्किँदाको खुसी

सुस्मिता बजगाईं १ असोज २०८२ १९:४६ | Wednesday, September 17, 2025
आउन थाले दसैँ गीत, समेटिए परदेशीका पीडा र गाउँ फर्किँदाको खुसी

काठमाडौँ- गाउँ/सहरमा मालाश्री धुन घन्किन थालेपछि पायः मानिसलाई दसैँ आएको आभास् दिलाउँछ। परदेसिएकाहरू गाउँ फर्केसँगै दसैँमा सार्वजनिक हुने गीतले पनि दसैँको रौनक थपिने गर्छ।

यस वर्षको सोह्र श्राद्धकै समयमा संगीतकर्मीहरूलाई दसैँको माहोलले छोइसकेको छ। केही दसैँ विशेष गीत युट्युबमा अपलोड भइसकेका छन्। गायिका शान्तिश्री परियार, समीक्षा अधिकारी, टीका सानु, गायक तिलक बस्नेत, दीनेश श्रेष्ठ, कृष क्षेत्रीलगायत केही स्रष्टा र संगीतकर्मीहरूको गीत युट्युबमा आइसकेको छ।

गीतमा दसैँमा परदेशी आउँदा परिवारमा छाएको खुसीसहित आउन नपाएकाहरूको पीडा बोध गरिएको छ। नयाँ गीत आएसँगै केही संगीतकर्मीहरूले भने पुरानै गीत पुनः सार्वजनिक पनि गरिरहेका छन्। कोही सार्वजनिक गर्ने तयारीमा रहेको बताउँछन्।

यस वर्ष तिलक बस्नेत र शान्तिश्री परियारको स्वरमा ‘छैन खुसी मन’ बोलको दसैँ गीत सार्वजनिक भएको छ। गीतमा ऋण लागेर परदेसिन लागेका पतिले पत्निलाई छोडेर जान मन नभएको भाव व्यक्त गरिएको छ।

मायाभन्दा धन ठूलो रहेको भन्दै परिवारलाई छोडेर परदेसिनु परेको वेदना गीतमा पोखिएको छ। गीत गायक तिलककै शब्द र संगीतमा बनेको छ। भिडियोमा अशोक पौडेल, निरुता शाही र शान्ति सोडारी बिस्टको अभिनय छ।

‘दसैँ आयो तिहारै आयो’ बोलको सार्वजनिक गीतमा चाडपर्वमा गाउँ फर्किन मन लागेको भाव व्यक्त गरिएको छ। गीतमा कर्मले जता लगे पनि दसैँमा गाउँकै झल्को आउने पनि भनिएको छ। परदेशमै भए पनि सबै मिलेर दसैँ मनाउने, खाडी मुलुकमा जति दुःख गरे पनि देशमा मर्न चाहाने र साहुको ऋण तिरेर फर्किने चाहाना रहेको भाव शब्दमा पोखिएको छ। गाउँमा आमा र प्यारीले पर्खिदैँ होलिन् भन्दै दसैँमा धानको बाला झुल्ने, सबै मिलेर लिंगे पिङ खेल्ने गरेको स्मरण पनि गरेका गरिएको छ।

गीतमा कृष क्षेत्री, टीका सानु, निर्मलादेवी बस्नेत, सन्तोष पन्थी र जमुना पुनको स्वर छ। गायक कृष क्षेत्रीकै शब्द र संगीत रहेको गीतमा कुमार सानु पुनको संगीत संयोजन तथा मिक्सिङ/मास्टरिङ छ। तिलक ठकुरी ‘चिट्टी’को कोरियोग्राफी र निर्देशनमा बनेको गीतको भिडियोमा उनीसहित बबिन सिंह ठाकुर, नञ्जिता सुनार, थमन सुनार, थमन कायल, मिना रसाइली, आशिष आर.एम र नुमा लिङ्देनको नृत्य छ।

त्यस्तै, तिलक बस्नेत र पूर्णकला बिसीको आवाजमा गाउँझैँ राम्रो नहुने कही पनि’ बोलको गीत सार्वजनिक भएको छ। दुई वर्षको अन्तरालमा दसैँमा गाउँ फर्केका युवाको सुखी समेटिएको छ। हावा र पानी मिठो हुने भन्दै गाउँलाई स्वर्गसँग तुलना गरिएको छ।

घरमा भगवान सधैँ दाहिने रहुन भन्दै आशीर्वाद पनि दिइएको छ। साथै जुवातासले कतिपयको जीवन तहसनहस भएको भन्दै नखेल्न आग्रह पनि गरिएको छ। गायक तिलककै शब्द र संगीतमा बनेको गीतमा रमेश सेञ्चुरीको संगीत संयोजन छ। गीतको भिडियोमा ज्ञानु नेपाली, निरुता शाही र सौरभ विश्वासको अभिनय छ।

‘जान्छु परदेश’ बोलको दसैँ गीतमा जनयुद्धमा पति अपांग भएपछि घर परिवार धान्न परेदश जाने तयारीमा गरेकी पत्निको कथा समेटिएको छ। गीत सन्तोष केसीको स्वर, शब्द र संगीतमा बनेको छ। स्वरमा सन्तोषलाई गायिका सुनिता बुढा क्षेत्रीले साथ दिएकी छन्। भिडियोमा पतिपत्नीको विछोडको वेदना देखाइएको छ। भिडियोमा शिल्पा पोखरेल र विक्रम बुढाथोकीले अभिनय गरेका छन्।

दिनेश श्रेष्ठ र समीक्षा अधिकारीकाे स्वरमा दसैँ विशेष ‘यो दशैमा त रम्म झम्म’ बोलको गीत पनि सार्वजनिक भएको छ। गायक दिनेशकै शब्द रहेको गीतमा उनले नै संगीत भरेका छन्। चार वर्षपछि परदेशबाट दसैँमा घर फर्किन लागेका एक युवाको खुसी गीतमा झल्किएको छ। आफू घर आउन लागेको कुरा उनले पत्निलाई फाेनमा भन्दै गरेको दृश्य भिडियोमा देखाइएको छ।

गीतले परदेशी आउने भएपछि परिवारमा छाउने खुसी व्यक्त गरेको छ। प्रविण थापाको कथा तथा निर्देशनमा बनेको गीतको भिडियोमा अरुण सापकोटा, स्मारिका ढकाल, जयराम सापकोटा, उमेश पराजुली, सरोज सञ्ज्याल र चन्द्र रिजालको अभिनय छ।

प्रकाशित: १ असोज २०८२ १९:४६ | Wednesday, September 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast