अन्तर्राष्ट्रिय कार्डमार्फत राजस्व भुक्तानी सुरु

हिमाल प्रेस २ असोज २०८२ १६:५४ | Thursday, September 18, 2025
अन्तर्राष्ट्रिय कार्डमार्फत राजस्व भुक्तानी सुरु

काठमाडौँ- अन्तर्राष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी गर्न सकिने भएको छ। महालेखा नियन्त्रक कार्यालयले राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली जोडिएको जनाएको छ।

राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली आजदेखि जोडिएको र सञ्चालनमा आएको प्रवक्ता दीपक लामिछानेले जानकारी दिए। अर्थमन्त्री रामेश्वर खनाल र मुख्यसचिव एकनारायण अर्यालले संयुक्त रूपमा अन्तरआबद्धता सेवा शुभारम्भ गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

सो प्रणालीको अन्तर आबद्धता सुरु भएपछि विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटकका लागि राजस्व भुक्तानी प्रक्रियाले सेवा प्रवाह कागजातरहित बनाउन सहयोग पुर्‍याउनेछ।

त्यसैगरी, भौतिक उपस्थितिरहित बनाउनुका साथै चौबिसै घण्टा सेवा प्रवाह सुनिश्चित भएको छ। यसबाट द्रूत राजस्व संकलन, पारदर्शी, अन्तर्राष्ट्रिय पहुँचयुक्त र सेवाग्राहीमैत्री हुन गई डिजिटल इकोनोमीको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

यो भुक्तानी प्रणालीबाट मास्टर कार्ड, भिसा कार्ड, ‘अलिपे’लगायतका अन्तर्राष्ट्रिय कार्ड नेटवर्कमा आवद्ध कार्डहरूमार्फत अध्यागमन विभागद्वारा निर्धारित सेवा प्राप्त हुनेछ। यसले त्रिभुवन विमानस्थललगायतबाट प्रवेश गर्ने पर्यटकले सहजरुपमा यो सेवा लिनसमेत सहज हुने जनाइएको छ।

यो सेवा हाललाई अध्यागमन विभाग र मातहतका निकायबाट प्रवाह हुने अध्यागमनसम्बन्धी राजस्व भुक्तानीमा सुरुवात भएको छ। आगामी दिनमा सरकारका अन्य निकायमा पनि क्रमशः सेवा विस्तार गर्दै लैजाने प्रवक्ता लामिछानेले जानकारी दिए।

प्रकाशित: २ असोज २०८२ १६:५४ | Thursday, September 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast