भारतीय चाहना : लोकतन्त्र र संविधानमा अडेर सरकार गठन होस्

राष्ट्रपति र सेनालाई छिमेकीको सुझाव

हिमाल प्रेस २७ भदौ २०८२ १७:१० | Friday, September 12, 2025
भारतीय चाहना : लोकतन्त्र र संविधानमा अडेर सरकार गठन होस्

काठमाडौँ- दक्षिणी  छिमेकी भारतले नेपालमा हुर्कँदो लोकतन्त्र र वर्तमान संविधानमा अडेर नयाँ सरकार निर्माण होस् भन्ने चाहना व्यक्त गरेको छ। नेपालको पछिल्लो राजनीतिक गतिविधिलाई नजिकबाट नियालिरहेको भन्दै भारतीय अधिकारीहरूले  राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देललाई यस्तो सन्देश दिएका हुन्।

संविधानमा असहज देखिएका विषयमा विज्ञ टोली राखेर बिस्तारै सच्याउन सकिने तर नेपाली नागरिकको लामो संघर्षपछि आएको संविधानबाट बाहिर जान नहुने सुझाव भारतीय पक्षको छ।

नेपालसँग सीमा जोडिएका क्षेत्रमा ‘अलर्ट’ राखेको भारतले नेपालको जेलबाट भागेका कैदीहरू आफ्नो मुलुक प्रवेश गर्न सक्ने र अप्रिय घटना गराउन सक्ने हुनाले त्यसतर्फ सचेत रहन नेपाली सुरक्षा निकायलाई आग्रह गरेको छ।

जेनजीको आन्दोलन चर्केपछि नख्खु जेलबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बाहिरिएका थिए। लामिछानेले आफू प्रक्रिया पुर्‍याएर निस्केको दाबी गरेपछि अन्य कैदी पनि पछि लागेर निस्केका थिए। देशभरका कारागारका कैदीबन्दी यसरी निस्कन खोजेपछि ठाउँठाउँमा हिंसात्मक घटना भएका छन्। भारतीय पक्षले नेपाली सेनालाई यस्ता विषयमा गम्भीर हुन सुझाव  दिएको  छ।

‘नेपाल सार्वभौमसत्ता सम्पन्न पुरानाे मुलुक हो। एक असल छिमेकीका नाताले हामीले  सुझाव दिएका हौँ भन्ने व्यहोराको सन्देश बिहीबार जंगीअड्डामा आएको छ’, एक उच्च अधिकारीले भने, ‘यस्ता ध्वंसात्मक कार्यमा भारत कहिल्यै सारथी बन्दैन। युवाहरूले गरेको प्रदर्शन सम्झनलायक छ। त्यसमा भएकाे घुसपैठले नेपाल असहज अवस्थामा पुगेकाे निष्कर्ष भारतको छ।’

नेपालमा अस्थिरता बढ्दै गएमा भारतलाई पनि समस्या हुने र नेपालमा बाह्य हस्तक्षेपसमेत हुन सक्ने चिन्ता सन्देशमा गरिएको ती अधिकारीले बताए। नेपालमा यसअघि शान्ति समन्वय गर्न खटिएको राष्ट्रसंघ मिसन बिदा हुन निकै असहज भएको अवस्थालाई पनि भारतले स्मरण गराएको छ। भारतले नेपालमा तेस्रो पक्षको उपस्थिति नहोस् भन्ने चाहना राखेको उच्च अधिकारीहरूले बताए।

नेपाली नागरिकले पाएको पीडाप्रति जति सान्त्वना दिए पनि कम हुने भन्दै भारतले यस्तो दु:खद घडीमा नेपाली सेनाले राजनीतिक निकास र शान्तिसुरक्षाका लागि गरेको प्रयासको मुक्तकण्ठले प्रशंसा  गरेको छ। नेपालको हितका लागि भारत जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको प्रतिबद्धता सन्देशमा गरिएको छ।

जेनजीको शान्तिपूर्ण आन्दोलनमा  घुसपैठ गरी अन्य पक्षले भौतिक संरचना तहसनहस गरेको र मुलुकको आर्थिक अवस्थालाई जर्जर पार्ने काम गरेको प्रति भारत निकै सजग बनेको छ। त्यस्ता घुसपैठ गर्नेलाई खोजेर कारबाही गर्न सकेमा नेपालमा आगामी दिनमा यस्ता घटना नदोहोरिने भारतको सुझाव छ। ‘विध्वंस र अतिवादले मुलुकको हित गर्दैन। राजनीतिक दलहरु पनि कसैले प्रश्न उठाउन नसक्ने गरी अघि बढ्नेमा हामी विश्वस्त छौँ’, भारतले भनेको छ।

प्रकाशित: २७ भदौ २०८२ १७:१० | Friday, September 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast