एससीओ सम्मेलन : चीन, रूस र भारतबीच रणनीतिक सम्वादको नयाँ चरण

हिमाल प्रेस १५ भदौ २०८२ १८:०९
18
SHARES
एससीओ सम्मेलन : चीन, रूस र भारतबीच रणनीतिक सम्वादको नयाँ चरण

काठमाडौँ– चीनका राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित युरेशियाली क्षेत्रका करिब २० देशका शीर्ष नेताहरू चीनको तियानजिन सहरमा आयोजित शिखर सम्मेलनमा सहभागी भएका छन्।

सांघाई सहयोग संगठन (एससीओ) अन्तर्गत आयोजित यो सम्मेलन सोमबारसम्म जारी रहनेछ। सम्मेलनको सुरक्षालाई मध्यनजर गर्दै तियानजिनमा उच्च सतर्कता अपनाइएको छ।

बुधबार राजधानी बेइजिङमा दोस्रो विश्वयुद्धको समाप्तिको ८०औँ वार्षिक उत्सवमा आयोजना हुने भव्य सैन्य परेडलाई समेत दृष्टिगत गर्दै सम्मेलनलाई विशेष महत्वका साथ हेरिएको छ।

सांघाई सहयोग संगठनमा चीन, भारत, रूस, पाकिस्तान, इरान, कजाखस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान र बेलारुस स्थायी सदस्य रहेका छन् भने १६ अन्य देशहरू पर्यवेक्षक साझेदारका रूपमा आबद्ध छन्।

रूसी राष्ट्रपति पुटिन आइतबार उच्चस्तरीय सरकारी तथा व्यापारिक प्रतिनिधिमण्डलसहित थिआन्जिन पुगेका हुन्। सम्मेलनका क्रममा राष्ट्रपति सी जिनपिङले माल्दिभ्स, अजरबैजान, किर्गिस्तान तथा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसहित विभिन्न मुलुकका नेताहरूसँग द्विपक्षीय भेटवार्ता गरे।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति सीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि सौहार्दपूर्ण वातावरणमा छलफल गरेका छन्।

क्षेत्रीय समन्वय र नयाँ विश्व व्यवस्था निर्माणतर्फ छलफल

चीन र रूसले यस संगठनलाई बहुध्रुवीय विश्व व्यवस्थाको विकल्पको रूपमा अघि सार्दै आएका छन्। यसपटकको सम्मेलन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः पदस्थापन भएपछिको पहिलो एससीओ बैठक हो, जसले पनि यसलाई विशेष महत्व दिएको छ।

राष्ट्रपति पुटिनले सम्मेलनअघि चिनियाँ सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा भने, ‘यो बैठकले साझा युरेशियाली क्षेत्रको एकता सुदृढ गर्न तथा वर्तमान चुनौती र खतराहरूको सामना गर्न संगठनलाई अझ प्रभावकारी बनाउनेछ।’

विश्लेषकहरूका अनुसार चीन र रूसले एससीओजस्ता क्षेत्रीय मञ्चमार्फत अन्तर्राष्ट्रिय सन्तुलनको पक्षमा नयाँ पहल गर्ने प्रयास गरिरहेका छन्। यस्ता मञ्चहरूमा सहभागिताका माध्यमबाट विकासोन्मुख र गैरपश्चिमी मुलुकहरूलाई सहभागी गराई समावेशी विश्व संरचनाको परिकल्पना गरिएको बताइएको छ।

व्यापक सहभागिता र कूटनीतिक सन्देश

यस सम्मेलनमा इरानका राष्ट्रपति मासुद पेजेश्कियन, तर्कीएका राष्ट्रपति रेचेप तैयप एर्दोआन लगायत धेरै देशका प्रमुखहरूको उपस्थिति रहेको छ।

विश्लेषकहरूको भनाइमा यस्तो उच्चस्तरीय सहभागिताले एससीओको बढ्दो प्रभाव र चीनको कूटनीतिक सक्रियतालाई प्रष्ट पार्दछ।

एशिया समाज नीति संस्थानकी विश्लेषक लिज्जी लीका अनुसार, ‘चीनले एससीओलाई सार्वभौमिकता, आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति तथा बहुध्रुवीयता जस्ता सिद्धान्तमा आधारित मञ्चको रूपमा प्रस्तुत गर्दै आएको छ।’

आपसी छलफल

शनिबार राष्ट्रपति शीले कम्बोडियाका प्रधानमन्त्री हुन मानेतसँग पनि शिष्टाचार भेटवार्ता गरे। आगामी दिनहरूमा राष्ट्रपति पुटिनले टर्की र इरानका राष्ट्रप्रमुखहरूसँग युक्रेन युद्ध र इरानी आणविक कार्यक्रमबारे छलफल गर्ने कार्यक्रम रहेको छ।

जापानस्थित सोका विश्वविद्यालयका प्राध्यापक लिम ताई वेइका अनुसार, ‘रूसका लागि एससीओजस्ता क्षेत्रीय मञ्चहरू विश्व राजनीतिमा भूमिका बढाउने अवसर हुन्। साथै, चीनजस्तो ठूलो अर्थतन्त्रको साथ पाउन पुटिन इच्छुक छन्।’

भारतका प्रधानमन्त्री मोदी शनिबार चीन आएका हुन्। यो सन् २०१८ यता उनको पहिलो चीन भ्रमण हो। केही दिनअघि अमेरिकाले भारतले रूसी तेल खरिद गरेको विषयलाई लिएर भारतीय सामानमाथि आयात शुल्क बढाएको थियो, जसले भारत–अमेरिका व्यापार सम्बन्धमा असर पारेको बताइन्छ।

भारत र चीन विश्वका दुई सबैभन्दा जनसंख्या भएका मुलुकहरू हुन्, जसबीच दक्षिण एशियाली क्षेत्रमा प्रभाव जमाउने प्रतिस्पर्धा रहँदै आएको छ। सन् २०२० मा दुवै मुलुकबीच सीमामा झडप भएको थियो। यद्यपि, गत वर्ष अक्टोबरमा रुसमा आयोजित सम्मेलनमा प्रधानमन्त्री मोदी र राष्ट्रपति सी बीचको भेटपछि द्विपक्षीय सम्बन्धमा केही सहजता देखिएको थियो।

चिनियाँ सञ्चार माध्यमद्वारा सार्वजनिक गरिएको बेइजिङ परेडको सहभागीहरूको सूचीमा प्रधानमन्त्री मोदीको नाम उल्लेख गरिएको छैन। तर, म्यान्मारका सैनिक शासन प्रमुख मिन आङ हलाइङ र उत्तर कोरियाका नेता किम जोङ उनको सहभागिता उल्लेख गरिएको छ।-रासस/एएफपी

प्रकाशित: १५ भदौ २०८२ १८:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast