
काठमाडौँ- अभिनेत्री सुरक्षा पन्तको प्रमुख अभिनय रहेको फिल्म ‘धागो’ आगामी कात्तिक २८ मा प्रदर्शन हुने भएको छ। निर्माण टिमले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै कात्तिक २८ मा प्रदर्शन गर्ने जानकारी दिएको हो।
फिल्मले परिवारिक सम्बन्धको कथा प्रस्तुत गर्ने टिमले बताएको छ। फिल्म उदिप राणा थापाले निर्देशन गरेका हुन्।
डुवर्सको चिया बगानमा जन्मे/हुर्केका उदिपसँग १८ वर्षसम्म बलिउडमा जी-फाइभ, टेलिभिजन च्यानल र ठूला प्रोडक्सन हाउसहरूमा क्रिएटिभ हेड, निर्देशक र प्रोड्युसरको रूपमा काम गरेको अनुभव छ। तथापि फिचर फिल्मको रूपमा ‘धागो’ पहिलो हो।
उनले यो फिल्म आफ्ना मान्छेहरूको कथा रहेको बताए। उनले भने, ‘मेरो सफलताको श्रेय मेरा आमाबुवाको त्याग र डुवर्सका जनताको आशीर्वादलाई जान्छ। ‘धागो’ मेरो माटो र मेरो मान्छेहरूको कथा हो। यसमार्फत मैले हाम्रो समाजका अनगन्ती धागोहरूलाई जोड्ने प्रयास गरेको छु।’
फिल्मले नेपाल-भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीको जीवन, उनीहरूको भावनात्मक सम्बन्ध र सांस्कृतिक पक्षलाई समेटेको निर्माण पक्षले जनाएको छ।
सुरक्षा पन्तसँगै फिल्ममा भारतको वेस्ट बंगाल डुवर्सका प्रभात थापा र मिस दार्जिलिङ तथा मिस नर्थ इस्ट भारत विजेता सुरभी थापा प्रमुख भूमिकामा देखिनेछन्। साथै बुद्धि तामाङ, सुनिल थापा, रवीन सान्संकर, दीप छेत्री, प्रज्ञा थापा, बाबु प्रधान, सेवन विश्वकर्मा, राजिव भुसाल, आइशा तामाङ, पप्पु विश्वकर्मा लगायतका कलाकारले अभिनय गरेका छन्।
बलिउडका अनिकेर एम.घोघले छायांकन गरेको फिल्म अखिलेश रायको सम्पादन र पुष्पन प्रधानको संगीतमा बनेको छ। म्याग्नेट इन्टरटेन्मेन्ट इन्डियाले निर्माण गरेको फिल्मका निर्माता उमा थापा, उत्तम थापा र उदिप थापा हुन्।