सामयिक टिप्पणी

चीनको कार्यक्रम, जापानको असहमति

ध्रुवहरि अधिकारी १५ भदौ २०८२ ११:३९
196
SHARES
चीनको कार्यक्रम, जापानको असहमति

प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर चीनमा हुनुहुन्छ। सन्दर्भ हो, शांघाई सहयोग संगठन (एस्‌सीओ) को शीर्षस्थ सम्मेलन। नेपाल ‘संवाद साझेदार’ को हैसियत राख्दछ, त्यसैले निम्तो मान्न जानु उचित हो। अवसरको लाभ लिई द्विपक्षीय भेटवार्ता पनि गर्न पाइन्छ। राष्ट्रपति सी चिनफिङसँगको भेटघाट उदाहरण हो।

शांघाई संगठनको औपचारिक कार्यक्रम दुई दिनको हो जुन सोमवार सकिन्छ। प्रधानमन्त्री र उहाँको टोली त्यसपछि स्वदेश फर्के हुने हो।

तर मङ्‌गलवार उहाँ त्यतै बस्दै हुनुहुन्छ। बुधवार हुने अर्को कार्यक्रम हेर्न- अर्थात् दर्शक हुन। चीनले आफ्नो सैन्यशक्ति प्रदर्शन गर्न आयोजना गरेको सैनिक कवाज (परेड) अवलोकन गर्न रूस र उत्तर कोरियासमेत केही देशका नेताहरूको उपस्थिति हुँदैछ। अर्थात् ओली अपवाद भने हुनुहुन्न।

तर नेपालका प्रधानमन्त्रीले चीनको छोटो प्रवासलाई लम्ब्याउनु हुने थिएन। र, कुरो खर्च किफायतसँग मात्र सम्बन्धित छैन। मुख्य विषय, कवाज प्रदर्शन समारोहमा नेपालका प्रधानमन्त्रीको उपस्थितिले जापानसँगको नेपालको सम्बन्धमा नकारात्मक प्रभाव पर्नसक्छ। जापानसँगको नेपालको सम्बन्ध चिसो हुने जोखिम टड्कारै देखियो। त्यत्ति मात्र होइन, यो कार्यशैली नेपालको घोषित असंलग्न परराष्ट्रनीति र संसारका सबै देशसँग मित्रता कायम गर्ने लक्ष्यसँग पनि मेल खाएन। र्‍याङ्‌को ठ्याङ् पटक्कै मिलेन। भोलि-पर्सि अन्य देशहरूले पनि नेपालसँगको सम्बन्धमा पुनर्विचार गर्ने स्थिति आयो भने के गर्ने?

मुलुकको सर्वोपरि हित अनुकूल नहुने काम गर्नु हुँदैन। अर्को शब्दमा, प्रधानमन्त्रीले कवाज दर्शकहरूको लहरमा आफूलाई राख्नु उपयुक्त हुँदैन। बरु, आयोजकहरूलाई निराश नपारीकन भ्रमण छोट्याएर स्वदेश फर्किनु मनासिब हुन्छ। यसको उपाय खोज्ने काम उहाँकै हो। प्रेसमा आएकै जानकारी हो, चिनियाँ कवाज हेर्न नबस्ने र नआउने प्रतिनिधिहरू अन्य मुलुकका पनि छन्। अमेरिकी र धेरैजसो युरोपेलीहरू त्यो कवाज बहिष्कार गर्दैछन् तर तिनको रणनीति र कूटनीति चीनसँगको प्रतिस्पर्धासँग गाँसिएको छ। स्पष्टै छ, नेपाल त्यस कित्तामा पर्ने मुलुक होइन। किनभने यसको ऐतिहासिक परिवेश विशिष्ट छ- सन् १९४९ मा स्थापित साम्यवादी चीनको दाँजोमा र सन् १९४७ मा अंग्रेजको उपनिवेश समाप्तिपछि निर्मित भारतको तुलनामा।

सैनिक कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थिति नहुने जानकारी प्रेसमा आइसकेको छ। हालैका साताहरूमा भारत-चीन सम्बन्धमा स्पष्ट सुधार आइरहेको छ तापनि मोदी बुधवारसम्म त्यता नबस्ने कुराको पुष्टि भइसकेको छ। दिल्लीबाट परराष्ट्र मन्त्रालयले प्रकाशित गरेको जानकारी पढ्दा थाहा हुन्छ, मोदीले पहिले जापान भ्रमण गर्ने र त्यसपछि चीन गएर शांघाई सम्मेलनमा सरिक हुने अनि स्वदेश फर्किने चाँजो मिलाइएको छ।

जापान-भ्रमणको चरण सकिएको छ जहाँ प्रधानमन्त्री तहको द्विपक्षीय वार्षिक बैठक तय गरिएको थियो। मोदीका लागि चीन पुग्नुअघि जापान जानु कूटनीतिक हिसाबले लाभदायक देखिएको हुनुपर्छ। ज्ञातव्य छ, भारत र जापान दुवै ‘क्वाड’ नामक समूहमा पनि सदस्य छन् जसमा अमेरिका औ अष्ट्रेलिया पनि सदस्य हुन्।

चिनियाँ सैनिक समारोह दोस्रो विश्वयुद्ध (सन् १९३९-४५) सकिएको असी वर्ष पूरा भएको अवसरमा आयोजित हो। र ,उल्लेख पनि त्यसैगरी त्यत्ति मात्र गरेको भए पुग्थ्यो। तर चीनका सरकारी निकाय र प्रचारयन्त्रले त्यो दिन (२ सेप्टेम्बर १९४५) लाई ‘चीनमाथि जापानी आक्रमणको प्रतिरोधमा भएको लडाञीमा चीनको विजय’ भन्ने शब्दावलीसमेत हालेर महिनौँअघिदेखि प्रचार-प्रसार गरेका थिए जसबारे जापान अनभिज्ञ थिएन। जग-जाहेर छ, जापान इतिहासको त्यस घटनाबारे चीनले गरेका व्याख्याहरूसँग सहमत छैन। त्यसकारण जापान सरकारले बेलैमा आफ्ना दूतावासहरूमार्फत आफ्नो अप्रसन्नताको सङ्‌केत जनाउने सन्देश विभिन्न मित्रराष्ट्रहरूमा पठाएको थियो- जापानको ‘क्योदो’ समाचार संस्था समेतबाट प्रवाहित समाचारले यसै कुरालाई पुष्टि गर्दछ। कूटनीतिक पत्र काठमाडौँमा पनि आयो होला। जे होस्, नेपाल सरकार विश्वयुद्धको अन्त्यबारेका घटनाक्रमसँग यसै पनि परिचित थियो होला, हुनै पनि पर्छ।

तर नेपालको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको चीनयात्राबारे भदौ ११ गते जारी गरेको सार्वजनिक सूचना (अंग्रेजी) परिस्थितिको लेखाजोखा गरेर सही ढंगले लेखेको देखिएन। किनभने त्यसमा कवाज समारोहलाई पनि शांघाई सम्मेलनकै एक अंगका रूपमा प्रस्तुत गरिएको छ। अनि, जापानको विरोध झल्किने बेहोरा दोहोर्‍याएर समावेश गरेको हुनाले समग्र सूचना नै भद्दा भएको छ। कदाचित् चीनले निम्तोपत्र पठाउँदा ‘जापानी आक्रमण’ आदि शब्द राखेकै रहेछ भने पनि नेपालको परराष्ट्र मन्त्रालयले राज्यको नीतिअनुरूप सुहाउने शब्द मात्र हालेर (छोट्याएर) ‘दोस्रो विश्वयुद्धको अन्त्य भएको सन्दर्भमा’ भन्नेसम्म बुझिने जानकारी दिनुपर्ने थियो। कूटनीतिक लेखापढीमा सीप भएका कर्मचारी परराष्ट्र मन्त्रालयमा नभए अन्यत्र कहाँ हुने?

समवेदनाको सन्देश पठाउनु पर्नेमा बधाईको सन्देश पठाइनेजस्ता विगतका एकाध घटनाले गर्दा यस पटक पनि कतै असावधानीवश पो यस्तो काम हुन गयो कि भन्ने लागेर ध्यानाकर्षण गराउने मनसायले यस हरफको लेखकले मन्त्रालयका सचिव र प्रवक्ता दुबैसँग सम्पर्क राख्ने कोशिस गरेको पनि हो, तर पार लागेन। व्यस्तता थियो होला-यस्तै अनुमान गरौँ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast