दोस्रो विश्वयुद्धमा आफ्नो विजयको सम्झनामा सेनाको परेड : चीन

जापानसँग माग्यो चीनले युद्धबारे स्पष्टिकरण

हिमाल प्रेस १४ भदौ २०८२ १७:०७
24
SHARES
दोस्रो विश्वयुद्धमा आफ्नो विजयको सम्झनामा सेनाको परेड : चीन फाइल तस्बिर

काठमाडौँ – जापानले युरोप र एसियाका मुलुकहरूलाई चीनले आयोजना गर्न लागेको जापानी आक्रमणविरुद्धको चिनीया जनयुद्ध र विश्व फासिवादीविरोधी युद्धको विजय दिवसका कार्यक्रममा सहभागी नहुन आग्रह गरेपछि चीनले पनि त्यसलाई खण्डन गर्दै चीनको स्मृतिकार्यक्रमको वास्तविक उद्देश्यप्रति गलत व्याख्या गरिएको जनाएको छ।

क्योदो न्युजले श्रोतको हवाला दिँदै जापानले विदेशस्थित आफ्ना दूतावासमार्फत अन्य मुलुकहरूलाई चीनका कार्यक्रममा तथाकथित …जापानविरोधी स्वर रहेको भन्दै सहभागी हुनुअघि सावधानीपूर्वक विचार गर्न सन्देश दिएको उल्लेख गरेको थियो। तर जापानको यो सन्देशले चीनले सेप्टेम्बर ३ मा हुने सैन्य परेडप्रति लक्षित गर्दै इतिहासलाई गलत व्याख्या गरेको दाबी गरेको छ।

चीनले सैन्य परेड र अन्य कार्यक्रमहरू आयोजना गर्नुको पहिलो र मुख्य उद्देश्य भनेको युद्धमा प्राप्त आफ्नो कठिन विजयलाई सम्झनु र जापानी आक्रमणविरुद्धको संघर्षमा बलिदान गर्ने सबैप्रति श्रद्धाञ्जलि अर्पण गर्नु रहेको जनाएको छ। चिनियाँ दूतावासबाट जारी वक्तब्यमा ‘…१९३१ को सेप्टेम्बर १८ देखि १९४५ ताका जापानको आत्मसमर्पणसम्म चलेको १४ वर्ष लामो युद्धमा चीनले ३ करोड ५० लाखभन्दा बढी सैनिक तथा सर्वसाधारणको क्षति बेहोरेको’  उल्लेख गरेको छ।

चीनले यो मानवीय क्षतीलाई दोस्रो विश्वयुद्धमा भएका कुल क्षतिको एकतिहाइ भनेको छ। चीनले जापानी सेनाको दुई तिहाइभन्दा बढीलाई नियन्त्रणमा राखेर विश्व फासिवादीविरोधी युद्धमा विजय दिलाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको जनाएको छ। चीनले यो परेड विजयको उत्सव र बलिदानी प्राप्त गर्ने वीरहरूलाई समर्पित श्रद्धाञ्जलि भए पनि जापानले यसलाई फरक रुपले लिएकोमा चासो व्यक्त गरेको छ।

क्योदोको समाचारले संकेत गरे जस्तो यो कार्यक्रमले घृणा भडकाउने नभै चीनले यसमार्फत संसारलाई चिनीया जनता आजको शान्तिलाई गहिरो रुपमा लिने गरेको सन्देश दिन खोजेको पनि उल्लेख गरेको छ। जापानी आक्रमणविरुद्धको युद्धमा विजय चीनका लागि ऐतिहासिक मोड थियो, जसपछि चीन गहिरो स‌ंकटबाट निस्केर राष्ट्रिय पुनर्जागरणको बाटोमा लाग्दै आज विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्न सकेको पनि जनाएको छ।

अन्तर्राष्ट्रिय समुदायबाट सम्मान र समर्थन चीनले पाउँदै जाँदा चिनियाँ जनता र आगामी पुस्ताको स्मरणका लागि यो परेडसँगै भनिने छ, ‘… सहजै शान्ति आएको होइन। त्यसैले चीन आजको शान्तिलाई जोगाउन सदैव तयार छ।’

चीनले विदेशी राष्ट्रप्रमुखहरूलाई मात्र होइन, जापानी आक्रमणविरुद्धको संघर्षमा सहयोग गर्ने विदेशीहरू तथा उनका परिवारका प्रतिनिधिहरूलाई पनि परेडमा निम्त्याएको पनि जनाएको छ। चीनले भनेको छ, ‘विजय उत्सवका लागि विश्व एक ठाउँमा भेला हुँदा हामी फेरि स्मरण गर्नेछौँ—न्याय विजयी हुन्छ, शान्ति विजयी हुन्छ र जनता विजयी हुन्छ।’ परेडमार्फत चीनले आफूलाई लोकतान्त्रिक मुलुकको पर्याय झैँ देखाउन खोजेको छ।

यो परेड र स्मृति समारोहहरूले एशियालाई फेरि उही गलत बाटो—सैन्यवाद वा युद्धतिर—डोर्‍याउन खोज्ने शक्तिहरूलाई चेतावनीको लागि पनि गरिएको हो। यसमा शक्ति प्रदर्शन पनि हुने दूतावासको वक्तव्यमा स्पष्ट देखिन्छ। अहिले जापानी राजनीतिमा दक्षिणपन्थी शक्तिहरूले आफ्ना अघिल्ला जापानी फासिवादीहरूले छिमेकीहरूलाई दिएको यातनालाई ढाकछोप गर्दै आफू केवल परमाणु बमको पीडित मात्र हुँ भनेर चिनाउन पनि यो प्रयास गरेको चीनले जनाएको छ।

उनीहरूको उद्देश्य जापानको युद्धपश्चातको शान्तिवादी संविधान संशोधन गर्नु र सैन्य शक्ति विस्तार गर्नु हो भन्दै चीनले भनेको छ, ‘…जापानभित्रको दक्षिणपन्थी सोचले मात्र होइन, एशियामा बढ्दो भू–राजनीतिक प्रतिस्पर्धामा बाह्य शक्तिहरूको हस्तक्षेपले पनि क्षेत्रीय शान्ति र स्थिरतालाई चुनौती दिइरहेका छन्।’

चीनका यी स्मृतिकार्यक्रमहरूले यसै सन्दर्भमा, दशकौँदेखि कायम शान्ति र स्थिरतालाई कसरी जोगाउने भन्ने गम्भीर आत्ममन्थनको गरेको भन्दै एशियाको विकास र समृद्धिका लागि नै यो परेड वा स्मृति अपरिहार्य रहेको पनि दाबी गरेको छ। चीनले जापानी आक्रमणविरुद्धको जनयुद्ध र विश्व फासिवादीविरोधी युद्धमा विजय उत्सवका क्रममा देखाउन खोजेको कुरा घृणा होइन, बरु शान्ति र न्याय भएको पनि जिकिर गरेको छ।

युद्धकालीन आक्रमणलाई सेतो बनाउने खेल

दोस्रो विश्वयुद्धमा जापानले सर्तविहीन आत्मसमर्पण गरेको यतिबेला ८० वर्ष पुगेको छ। यो क्षणले जापानी सैन्यवादले विशेषगरी एसियाका धेरै मुलुकमा पुर्‍याएको अपार पीडामाथि गम्भीर आत्ममन्थन गर्ने अवसर दिनुपर्ने हो। तर यो अवसरले जापान अझै आफ्नो अतीतसँग पूरा हिसाबकिताब गर्न कत्तिको टाढा छ भन्ने देखाइदिएको छ।

दक्षिणपन्थी शक्तिहरू अझै पनि इतिहासलाई धमिलो बनाउँदै जापान साच्चै पीडितका रूपमा रहेको चित्रण गर्न उद्यत रहेका आरोप पनि चीनको छ। त्यत्तिले नपुगेर अहिले उनीहरु सैन्य विस्तारको बाटोमा पनि अघि बढिरहेको पनि चीनको दाबी छ।

सन् १९९५ मा, आत्मसमर्पणको ५० औँ वर्षगाँठमा जापानी प्रधानमन्त्री तोमिइची मुरायामाले ‘मुरायामा वक्तव्य’ जारी गर्दै जापानको औपनिवेशिक शासन र आक्रमणले धेरै मुलुकमा ‘अत्यधिक क्षति र पीडा’ पुर्‍याएको स्वीकार गर्दै ‘गहिरो पश्चात्ताप र हार्दिक माफी’ व्यक्त गरेका थिए। पछि आएका प्रधानमन्त्रीहरूले पनि ६० औँ र ७० औँ वर्षगाँठमा यस्तै भावना व्यक्त गरे। तर शब्दावली क्रमशः कमजोर हुँदै गयो। जुनिचिरो कोईजुमीले २००५ मा औपनिवेशिक शासन र आक्रमणको कुरा स्वीकारे पनि ‘गलत राष्ट्रिय नीति’ भन्ने शब्द भने हटाइयो।

२०१५ मा शिन्जो आबेले भने इतिहासका पानाहरू पल्टाउने प्रयास गर्दै, जापानले पहिले नै धेरैपटक पश्चात्ताप व्यक्त गरिसकेको र भावी पुस्ताले बारम्बार माफी माग्ने ‘भाग्यको बोझ’ बोकिरहनु नपर्ने दाबी गरेका थिए। यो वर्ष, प्रधानमन्त्री शिगेरु इशिबाले अगस्ट १५ मा औपचारिक वक्तव्य दिने वा नदिने भन्नेमा बहस भयो। दक्षिणपन्थीहरू कुनै नयाँ वक्तव्य दिनै नहुने दाबी गर्दै आबेको शब्दहरूले नै कुरा टुंगो लगाइसकेको बताए। इतिहासलाई प्रभाव पार्ने गरि दक्षिणपन्थी धारमा जापान लागेको पनि चीनको बुझाइ छ।

अगस्त १५ मा भएको युद्ध मृतकहरूको राष्ट्रिय स्मृति समारोहमा इशिबाले ‘पश्चात्ताप’ शब्द प्रयोग गरे, त्यो पनि १३ वर्षपछि मात्र उनले त्यस्तो औँल्याएका हुन्। तर जापानी मिडियाले औँल्याएझैँ, उनको पश्चात्ताप जापानको युद्धतर्फको बाटोप्रति मात्र थियो, छिमेकी एशियाली मुलुकहरूलाई पारेको क्षति प्रति थिएन।

यसै महिनामा हिरोशिमा र नागासाकीमा परमाणु बम वर्षगाँठमा दिइएका भाषणहरू पनि जापानले भोगेको पीडामै केन्द्रित थिए, जापानले अरू मुलुकमाथि गरेको आक्रमणको उल्लेख निकै कम गर्छ। जापानी संग्रहालयहरूमा नान्जिङ हत्याकाण्ड वा चोङछिङ बमबारीबारे भएका प्रदर्शनीलाई दाहिनेपन्थी समूहहरूले विरोध गर्दै हटाउन माग गरेका छन्।

युद्धपश्चातको शान्तिवादी संविधानले जापानलाई लामो समय रक्षात्मक नीतिमा राख्यो। तर हालका वर्षहरूमा प्रतिबन्धहरू शिथिल हुँदै गएको र रक्षा खर्च तीव्र रूपमा बढिरहेको छ। सन् २०२२ मा जापानले नयाँ सुरक्षा नीतिगत कागजात जारी गर्दै २०२३–२०२७ बीचमा ४३ ट्रिलियन येन (करिब २९२ अर्ब अमेरिकी डलर) खर्च गर्ने योजना बनायो।

चीनको निमन्त्रणामा २६ विदेशी राष्ट्र तथा सरकार प्रमुखहरूले सेप्टेम्बर ३ मा बेइजिङमा हुने भिक्ट्री डे सैन्य परेडमा सहभागिता जनाउने भएका छन्। यो दिन जापानी आक्रमणविरुद्धको चिनीया जनयुद्ध  (१९३१–१९४५) तथा विश्व फासिवादीविरोधी युद्धमा प्राप्त विजयको ८० औँ वर्षगाँठ हो।

विदेशी नेताहरूको सहभागिताले यस महत्वपूर्ण अवसरलाई दिएको सम्मान मात्र देखाउँदैन, चीनले लामो संघर्षमा गरेको योगदानलाई अन्तर्राष्ट्रिय मान्यता पनि दिएको बुझाइ पनि चीनको छ। परेडमार्फत चीनले आफ्नो सैन्य आधुनिकीकरणमा भएको प्रगतिलाई देखाउनेछ, तर यो कुनै देशलाई धम्क्याउने शक्ति प्रदर्शन नभएको चीनको भनाइ छ।

जापानसँग १४ वर्षसम्म चलेको युद्धमा चीनले ३ करोड ५० लाखभन्दा बढी नागरिक र सैनिक गुमाएको थियो। विगतलाई सामना गर्ने र पछुतो देखाउनुको सट्टा जापानले विदेशी नेताहरूलाई चीनका स्मृति कार्यक्रममा भाग नलिन आग्रह गर्नु गलत अभ्यास भएको चीनले उल्लेख गरेको छ।

यसबारे जापानसँग स्पष्टीकरण मागे पनि जापान मौन रहेको चीनको भनाइ छ। यसरी टारामटार गर्ने प्रयासले जापान अझै अतीतलाई सही ढंगले स्वीकार्न नसकेको बताउँदै चीनले यसले छिमेकीहरूसँगको सम्बन्धलाई अविश्वसनीय बनाइरहने दाबी गरेको छ।

आज चीन शान्तिपूर्ण समाजवादी आधुनिकीकरणमार्फत राष्ट्रिय पुनर्जागरणको बाटोमा अघि बढिरहेको छ उसले जनाएको छ। आफ्नो रक्षा नीति पूर्णतया रक्षात्मक रहेको चीनको भनाइ छ। चीनले अघि सारेको ‘वैश्विक सुरक्षा पहल’ ले पनि साझा, समग्र, सहकार्यात्मक र दिगो सुरक्षा प्राप्त गर्ने बाटो देखाएको उसको भनाइ छ। सेप्टेम्बर ३ ले सबै राष्ट्रलाई एकताबद्ध भई इतिहासबाट पाठ सिकेर आजको शान्ति र न्यायलाई जोगाउनुपर्ने अवसर दिने चीनले उल्लेख गरेको छ। यसलाई विभाजन ल्याउने प्रयोजनमा प्रयोग गर्ने कुनै पनि प्रयासलाई शान्तिप्रेमी राष्ट्रहरूले अस्वीकार गर्ने चीनले दाबी गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast