
काठमाडौँ– चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिने भ्रमणको तयारी पूरा भएको छ।
विश्वकै ठूलो क्षेत्रीय सुरक्षा–आर्थिक संगठनमध्ये एक मानिने यो संगठनको शिखर सम्मेलन नेपालको उच्चस्तरीय उपस्थितिले नेपाल–चीन सम्बन्ध अझ मजबुत बनाउन तथा बहुपक्षीय सहकार्यमा नेपालको सक्रियता देखाउने महत्वपूर्ण अवसर हुने ठानिएको छ।
भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङ तथा रुसका राष्ट्रपति भ्लादिमिर पुुटिन र सहभागी अन्य मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखबीच प्रधानमन्त्री ओलीको दुईपक्षीय भेटवार्ता तय हुने क्रम जारी रहेको छ।
भ्रमणको कार्यक्रमबारे परराष्ट्र मन्त्रालयले सार्वजनिक गरिसकेको छ भने भ्रमण दलमा रहेका सदस्यबीच प्रधानमन्त्री ओलीको उपस्थितिमा मन्त्रालयले प्रधानमन्त्री निवास, बालुुवाटारमा ब्रिफिङ गरिसकेको छ।
प्रधानमन्त्री ओलीसहित २३ सदस्यीय टोलीलाई मन्त्रालयका सचिव अमृतबहादुर राई, शिष्टाचार महापाल कुमारराज खरेलले विस्तृत कार्यक्रम र व्यवस्थापकीय पक्षबारे जानकारी गराएका हुन्।
भ्रमणका सम्बन्धमा प्रधानमन्त्री ओलीले शुक्रबार प्रतिनिधिसभामा जानकारी गराउने भएका छन्।
प्रधानमन्त्री ओली यही भदौ १४ देखि १८ गते सम्म चीनको तियानमिन सहरमा हुने एससीओको शिखर सम्मेलनमा सहभागी हुन शनिबार बिहान तियानमिन प्रस्थान गर्नेछन्। उनले त्यही दिन साँझ चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने तय भएको मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री ओलीले उक्त शिखर सम्मेलन तथा चीनको जनयुद्धमार्फत जापानी आक्रमण विरुद्धको प्रतिरोध र विश्व फासिवादविरोधी युद्धमा विजयको ८० औँ वार्षिकोत्सवमा सहभागिता जनाउने छन्।
उनले भदौ १६ गते तियानमिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्ने छन्। सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी विश्वका केही नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
हालसम्म चीन र रुसका साथै भियतनाम, माल्दिभ्स, लाओपिपुल्स, क्याम्बोडिया राष्ट्र/सरकार प्रमुुखसँग भेटवार्ता गर्ने तय भएको हो।
त्यसैगरी, प्रधानमन्त्री ओली भदौ १७ गते तियानमिनबाट बेइजिङ जाने र चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनले भदौ १८ मा बेइजिङमा आयोजना हुने जापानी आक्रमण विरुद्धको प्रतिरोध युद्ध र विश्व फासिवाद विरोधी युद्धमा विजयको ८० औँ वार्षिकोत्सवका स्मृति कार्यक्रमको परेडमासमेत सहभागिता जनाउनेछन्। भ्रमण दल सोही दिन राति स्वदेश फर्कनेछ।
भ्रमण दलमा प्रधानमन्त्री ओलीका साथ प्रथम महिला राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरू रहनेछन्।
प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा गत मंसिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गरेका थिए।
उक्त भ्रमणका अवसरमा नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो।
बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को कार्यढाँचामा दुई मुलुकले हस्ताक्षर गरी प्राथमिकता प्राप्त आयोजनाको सूचीकरण र सहकार्यको प्रक्रिया सुरु भएको छ।