
बुटवल- तीन कम्युनिष्ट पार्टीका वैचारिक नेताका छवि बनाएका नेत्रविक्रम चन्द ‘विप्लव’, घनश्याम भुसाल र जनार्दन शर्मा बिहीबार बुटवलको एक अन्तरक्रियामा एउटै मञ्चमा देखिए। त्यो पनि तीनै जना मुख्य वक्ताका रूपमा।
विप्लव नेपाल कम्युनिष्ट पार्टीका महासचिव हुन् भने भुसाल नेकपा एकीकृत समाजवादीका महासचिव र शर्मा नेकपा माओवादी केन्द्रका उपमहासचिव। पदीय हिसाबले अलग-अलग पार्टीमा रहेका यी नेताहरू पर्टीभित्र निर्णय प्रक्रियामै हस्तक्षेप गर्न सक्छन्। तर तीनै नेताहरूले संयुक्त मञ्चबाट बोल्न थालेपछि विभिन्न कोणबाट बहस हुन थालेको छ।
बुटवलमा तीनै नेताहरूले ‘वर्तमान राजनीतिक संकट र निकास’ का विषयमा खुलेर बोलेका छन्। तीनै जना नेताहरूले नेपालका कम्युनिष्ट पार्टीहरूले आफ्नो मूल्य मान्यता भुलेको बताएका छन्। उनीहरूले त्यति मात्रै भनेनन् वर्तमान मूल नेतृत्व दलाल पुँजीवादको भित्तामा टाँसिएकाले अब दोस्रो वा नयाँ पुस्ताले कम्युनिष्ट पार्टीहरूमा हस्तक्षेप गर्नुपर्ने मत राखेका छन्। मूलतः भुसाल र शर्माले पार्टीभित्र नेतृत्वकै कमजोरीले कम्युनिष्ट आन्दोलन कमजोर र भ्रष्टीकरणमा गएको तर्क गरे।
विप्लव आफैँ पार्टीको नेतृत्वकर्ता भएकाले पार्टीभित्रको कुरा त गरेनन्। तर माओवादी आन्दोलनदेखि आजसम्म कम्युनिष्ट पार्टीहरूमा देखिएको भ्रष्टीकरणले वर्तमान संकट निम्तिएको टिप्पणी गरे। यी तीन नेताको बुटवल कार्यक्रमबारे राष्ट्रियस्तरमा चर्चा पनि छ।
खास गरी तीन नेताहरूको बुटवल कार्यक्रम के हो? यो मोर्चा हो या धुव्रीकरण भन्ने विषय राष्ट्रियरूपमा बहस भएको छ। सहिद बेपत्ता स्मृति प्रतिष्ठान नेपालको ब्यानरमा गरिएको अन्तरक्रियात्मक कार्यक्रमको खास सन्देश के हो? के यिनीहरूले छुट्टै पार्टी गठन गर्न खोजेका हुन्? तीन जना एकै ठाउँमा किन देखिँदैछन्? यही जिज्ञासा राखेको सुनाए विप्लवले। ‘यो बहस के हो? नयाँ पार्टी बनाउने हो कि? भनेर जिज्ञासा राखेको पाइन्छ,’ महासचिव विप्लवले भने, ‘यो यति हो भनेर भन्न सकिँदैन, ८–१० वटा अन्तरक्रियापछि सकिन पनि सक्छ।’
उनले अहिलेको बहस व्यक्तिको नभई मुलुकको आवश्यकताले सिर्जना गरेको बताए। उनले नेपालको कम्युनिष्ट आन्दोलन दिग्भ्रमित भएकाले दिग्दर्शन गर्ने बेला आएको बताए। उनले अहिले कुनै पनि पार्टी विवादमुक्त नभएको पनि बताए। ‘ठूलो, सानो सबै पार्टीमा लडाइँ छ। कम्तीमा पनि दुई/दुई जना मान्छे भएर मुक्कामुक्की नगरेको पार्टी नै छैन,’ विप्लवले भने, ‘यसो हेर्दा यो समस्या पार्टीमा मात्रै जस्तो लाग्छ, तर त्यसो होइन। समाजमै बहस रहेको र त्यसको प्रतिविम्ब पार्टीमा रहेको छ।’
उनले प्रस्ट्याउँदै भने, ‘यो बहस नेपालको राजनीति र कम्युनिष्ट आन्दोलनलाई दिग्भ्रमितबाट दिग्दर्शन गर्न हो।’ उनले अहिले मोर्चाका रूपमा वा यस्तै अन्तरक्रिया वा पार्टीका रूपमा जानेबारे अहिल्यै केही भन्न नसक्ने बताए। तर उनको अभिव्यक्तिबाट मुलुकको राजनीतिक निकासका लागि कम्युनिष्ट पार्टीहरूबीच ध्रुवीकरण देखिएको बुझ्न सकिन्थ्यो। उनले नेपाली राजनीति गणतन्त्र प्राप्तिपछि कुन वर्ग, कुन विचार र कुन नेतृत्व भन्ने टुंगोमा नपुग्दा संकट आएको बताए।
गणतन्त्रसम्मको परिवर्तनलाई आत्मसात् गर्दै यसपछिको नेतृत्वको पुनर्गठन जरुरी रहेको बताए। उनले नेपाली समाजलाई अगाडि बढाउन सच्चा, इमान्दार कम्युनिष्ट पार्टीले नै नेतृत्व गर्नुपर्ने बताए। ‘आजको संकटको कारण गणतन्त्रको अर्थतन्त्रमा परिवर्तन नआउनु हो,’ उनले भने। विप्लवले एमालेभित्र विद्यादेवी भण्डारीलाई एक्ल्याए जस्तो नभएको भन्दै अब कम्युनिष्ट पार्टीहरूले समाजमा आशा र भरोसा देखाउन सक्नुपर्ने बताए।
सहिद बेपत्ता स्मृति प्रतिष्ठान नेपालले गरेको अन्तरक्रियामा नेकपा एकीकृत समाजावदीका महासचिव घनश्याम भुसालले आफ्नो भनाइ नै तीन जनाको प्रसंगबाट सुरुवात गरे। वामपन्थी आन्दोलनलाई ध्रुवीकरण गर्नुपर्ने बेला आएकाले आफूहरू वर्तमान राजनीतिको संकट र निकासबारे बहसमा आएको सुनाए। परिस्थिति धेरै पाकिसकेको बताउँदै उनले अब केन्द्रदेखि वडासम्मै वामपन्थी धुव्रीकरणबारे बहस हुनुपर्ने बताए।
‘पुरानोले काम नगरेको तर नयाँ नबसिकेकोले अवस्था हो, जसरी सर्पले काँचुली फेर्ने बेला छटपटी हुन्छ, अहिले समाजमा यस्तै छटपटी छ,’ भुसालले भने, ‘स्वार्थ र भ्रमहरू भत्काएर नयाँ मानक बनाउनुपर्छ।’ भुसालले नेतृत्वबाट आस गर्ने ठाउँ नै नरहेको बताए। उनले वामपन्थी पार्टीहरूको विभाजन कार्यकर्ताका कारण हुँदै नभएको समेत बताए। आफूहरूले थालेको बहसबारे धेरै कोणबाट टिप्पणी भइरहेको प्रसंग उनले नयाँ पार्टी गठन नहुने प्रष्ट पारे। ‘तीन जना मिलेर अलग पार्टी बनाउने होइन, अर्को पार्टी बन्दैन,’ भुसालले भने, ‘हामीले सही सिद्धान्त बुझाउने र विभाजन नभई जुटाउने अभियानमा छौँ।’
उनले देउवा, ओली, प्रचण्ड, माधव नेपालदेखि रविसम्ममा असन्तुष्टि रहेकाले अब नयाँ निकास आवश्यक रहेको बताए। उनले वर्तमान राजनीतिमा देखिएको समस्याबारे साउन ६ गतेदेखि बहस सुरु भएको बताउँदै बुटवलमा आएपछि यसले गति लिने विश्वास व्यक्त गरे। ‘हामी तीन जनाले मात्रै गर्नुपर्छ भन्ने रहेन, कम्युनिष्ट आन्दोलनमा चिन्तितहरूले माथिदेखि वडासम्म बहस गरौँ,’ भुसालले भने। उनले वर्तमान नेतृत्वको नालायकीकै कारण जनताको अपमान भएको बताउँदै विकल्प समेत पाउन नसक्ने अवस्था आएको बताए।
त्यसो त पछिल्लो समय नेतृत्वमाथि प्रश्न उठाइरहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कम्युनिष्ट ध्रुवीकरण आजको आवश्यकता भएको औँल्याए। ‘लोकतन्त्र जनताको भएन, दलाल पुँजीवादी र भ्रष्टहरूको भयो,’ शर्माले भने, ‘४७ लाखदेखि ५० लाख युवा देशमा रोजगारी नपाएर खाडी राष्ट्रमा छन्, खेतहरू बाँझा छन्, वनजंगल, प्राकृतिक स्रोत साधनको सही सदुपयोग भएको छैन, यी साधनमाथि दलाल पुँजीवादीको कब्जा छ।’
नेता शर्माले माओवादी केन्द्र र एमालेबीच एकता भएर नेकपा भएपछि उत्साह जागे पनि विघटनपछि निराशाको शृंखला सुरु भएको टिप्पणी गरे। कम्युनिष्ट नेताहरूले लोकतन्त्र र समाजवादको भाषण गरे पनि व्यवहार ठीक उल्टो भएको बताए। उनले यो बहसले कम्युनिष्ट पार्टीलाई ध्रुवीकृत गरी एकताबद्ध बनाउन सुरु गरिएको बताए। अहिले कम्युनिष्ट पार्टीहरू जनताको लागि नभई आफ्नो स्वार्थका लागि बनेको बताए।
‘दलहरू जनताका मुद्दामा स्पष्ट भएनन्, नीतिहरू प्रस्ट भएनन्, बरु अप्रस्ट, अलमल भए,’ उनले भने, दलहरूमा लोकतन्त्र पनि छैन, गरिबी बेरोजगारी अन्त्य गर्ने बहस पनि छैन।’ शर्माले पार्टी नेतृत्वले पार्टीमा आफ्नो जयजयकार गर्ने जमात मात्र तयार गरेको तर लोकतन्त्रको अभ्यासमार्फत विज्ञहरूको टिम बनाउन नसकेको बताए।
नेता शर्माले माओवादी केन्द्र र एमालेबीच एकता भएर नेकपा भएपछि उत्साह जागे पनि विघटनपछि निराशाको शृंखला सुरु भएको टिप्पणी गरे। कम्युनिष्ट नेताहरूले लोकतन्त्र र समाजवादको भाषण गरे पनि व्यवहार ठीक उल्टो भएको बताए। उनले दलाल पुँजीवाद हाबी हुँदा अर्थमन्त्री हुँदा पनि समाजवादी मोडेल लागू गर्न नसकिएको स्वीकार गरे। उनले आम जनतामा देखिएको निराशा, विदेशिने युवाहरूको पलायन रोक्ने गरी नयाँ धुव्रीकरण आवश्यक रहेकोमा जोड दिए।
तीन जना नेताहरूले नयाँ धुव्रीकरणको आवश्यकता महसुस गरेर छलफल थाले प्रस्ट बुझिन्छ। कम्युनिष्ट पार्टीभित्रको आचरण, विचलन र मूल्यमान्यताको कुरा गरे पनि वर्तमान नेतृत्वसँग असन्तुष्ट भएको कार्यक्रमले संकेत गरेको छ।
सहिद बेपत्ता स्मृति प्रतिष्ठान नेपालको ब्यानरमा कार्यक्रम गरिएको थियो। नेकपा र नेकपा एकीकृत समाजावादीका नेताहरूको बाक्लो उपस्थिति रहे पनि माओवादी केन्द्रका नेताहरूको उपस्थिति पातलो थियो।
कार्यक्रम एसियन होटल बुटवल योगीकुटीमा गरिएको थियो। होटलमा करिब ३ सय कुर्सी राखिएको भए पनि बाहिरसम्म मानिसहरूको उपस्थिति थियो। पुराना नेताहरूको कार्यशैलीका कारण वाक्क भएकाले यी तीन नेताहरूको बोली सुन्नका लागि भने बुटवलका विभिन्न क्षेत्रका मानिसहरूको सहभागिता थियो।