
इटहरी- आर्थिक वर्ष २०८२/०८३ को डेढ महिना बित्न लाग्दासमेत धरान उपमहानगरपालिका बजेट ल्याउन ‘असक्षम’ भएको छ। आन्तरिक असहमतिका कारण हालसम्म धरान उपमहानगर बजेट होलिडेको अवस्थामा छ। स्वतन्त्र मेयर हर्कराज राई (हर्क साम्पाङ) ले आफ्नो अडान छाड्न नसक्नु र दलहरूबीच असहमति हुँदा धरान बजेट होलिडेको अवस्थामा रहेको हो।
बजेट, नीति तथा कार्यक्रम पारित गर्ने एजेण्डासहित बुधबार बसेको धरानको कार्यपालिका बैठक बजेट टेबुल नै हुन नसकेपछि भदौ १३ गतेसम्मका लागि स्थगित भएको छ। लामो समयपछि बसेको कार्यपालिका बैठकमा १६ वटा एजेण्डा समावेश थिए। जसमध्ये बजेट टेबुल नै हुन सकेन।
बैठकमा नीति तथा कार्यक्रम अनुमोदन गर्ने, बजेट सिलिङ पास गर्ने, ब्रेक डाउन भई आएका जति बजेट पास गर्नेदेखि कर्मचारी तह वृद्धि गर्ने, योजना अनुमोदन गर्ने, पालिका गान अनुमोदन गर्नेलगायत २६ एजेण्डा तय भएको थियो।
खासगरी स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार १० गतेभित्र नगरसभामा बजेट प्रस्तुत गरी असार मसान्तसम्ममा पास गर्नुपर्ने प्रावधान छ। तर, भदौ दोस्रो सातासम्म धरानले बजेट ल्याउन ‘असक्षम’ हुँदा दैनिक कामकारबाही प्रभावित बनेको छ।
उपप्रमुख आइन्द्र विक्रम बेघा संयोजक रहेको राजस्व परामर्श समितिले एक अर्ब ६० करोड हराहारीमा बजेट बनाउन प्रस्ताव गरेपनि स्रोत अनुमान तथा सिलिङ समितिले भने बजेट वृद्धि गरेर २ अर्ब २० करोड ७४ लाखको ल्याउने निर्णय गरेको थियो।
बेघाका अनुसार विषयगत समितिको बजेट तथा कार्यक्रम तर्जुमा गर्न स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको साउन २९ गते बसेको बैठकमा कुल २ अर्ब २० करोड ७४ लाख ५९ हजारको घाटा बजेट कार्यपालिका बैठकमा पेस गर्ने निर्णय भएको थियो। सोही अनुसार बुधबार बैठक बोलाइएको हो।
एमालेको आपत्ति
स्वतन्त्र मेयर साम्पाङको विपक्षमा लामो समयसम्म उभिएका प्रमुख राजनीतिक दलहरूबीच बजेटको विषयमा फुट आएको छ। उपमहानगरपालिकाको कार्यपालिका र नगरसभामा बहुमत रहेको नेकपा एमाले एकातिर उभिँदा, मेयर साम्पाङसँग उपमेयर उपमेयर बेघा नेतृत्वको माओवादी र नेपाली कांग्रेस खुलेरै सहकार्य गर्ने स्थितिमा पुगेका छन्।
बजेट पारित गर्न एमालेको समर्थन अपरिहार्य हुने भएकाले अहिले कार्यपालिका दुई धारमा विभाजित भएको छ। खासगरी राजश्व परामर्श समितिले प्रस्ताव गरेको १ अर्ब ६० करोड हराहारीमै बजेट सीमित गर्नुपर्ने, घाटा बजेट ल्याउन नहुने, मेयर–उपमेयर भिजन तथा कोष हटाउनुपर्ने, कर वृद्धि नगर्नुपर्नेजस्ता कुरामा एमालेले अडान लिएको थियो।
एमालेबाट निर्वाचित वडाध्यक्ष विवेक राई, जीवन सुवेदी, नेत्र काफ्ले, पूर्ण लिम्बु र कार्यपालिका सदस्यहरू सावित्रा परियार, विकास भाटीलगायतले बोल्दै उक्त अडान लिए।
मेयरको समर्थनमा माओवादी-कांग्रेसको अडान
यसअघि मेयरको विपक्षमा उभिएको कांग्रेस–माओवादीले भने बजेटको विषयमा मेयरको समर्थन गरेका छन्।
कांग्रेस-माओवादीले भने स्रोत अनुमान तथा सिलिङ समितिले तयार पारेको २ अर्ब २० करोड ७४ लाखको बजेट पारित गरेर अघि बढ्नुपर्ने, मेयर भिजन र उपमेयर भिजनसहितको संरचना यथावत् राख्नेजस्ता अडान लिएका छन्। तर, बहुमत सदस्य रहेको एमालेको समर्थनबिना कार्यपालिका र नगरसभामा बजेट पारित हुने सम्भावना छैन।
साम्पाङलाई कमजोर पार्न राजनीतिक रूपमा एकढिक्का देखिएका दलहरू भित्रै बजेटको विषयमा उत्पन्न भएको विभाजनले धरानमा आगामी दिनमा अझै ठूलो राजनीतिक द्वन्द्व पैदा गर्ने संकेत गरेको छ।
प्रस्तावित बजेटमा मेयर भिजनमा ३ करोड ५ लाख, मेयर कोषमा १ करोड ५० लाख र उपमेयर भिजनमा २ करोड, उपमेयर कोषमा ७५ लाख राखिएको छ।
गत वर्ष मेयर भिजन ५ करोड विनियोजन गरिएको थियो। यसपटक भने छुट्टै वडाको बजेट बाहेक वडाध्यक्षहरूको योजना अनुसार खर्च गर्ने गरी १० करोड र कार्यपालिका सदस्य भिजनमा ४५ लाख रुपैयाँ राखिएको छ।