
काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले अखिल क्रान्तिकारी र त्रिविबीच भएको शुल्क घटाउने सम्झौतामा प्रश्न उठाउँदै यसको आधिकारिकता खोजेको छ।
स्ववियु अध्यक्ष दीपकराज जोशीले बिहीबार त्रिवि पदाधिकारीलाई बुझाएको ध्यानाकर्षण पत्रमा चार विभागको शुल्क घटाउने सम्झौता शैक्षिक, वैज्ञानिक र वस्तुगत आधारबिना गरिएको भन्दै विद्यार्थीलाई अन्यायपूर्ण अवस्थामा पुर्याएको बताएका छन्।
‘चार विभाग कार्यक्रमबाट विभागमा परिणत भएपछि शुल्क घट्नु स्वाभाविक हो। तर आधारविहीन सम्झौताले विद्यार्थीलाई शोषणको वैधानिकता दिने काम मात्रै गरेको छ। सम्झौता गर्ने व्यक्तिको आधिकारिकता नै प्रश्नवाचक छ,’ पत्रमा उल्लेख छ।
मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व, शान्ति तथा विकास अध्ययन विभागको शुल्क घटाउने सहमति भएको थियो।
स्ववियुले केन्द्रीय विभागहरूको शुल्क सम्बन्धी सूक्ष्म अध्ययन गरी पुनर्मूल्यांकन समिति गठन गर्नुपर्ने र छात्रवृत्तिसम्बन्धी नियमलाई समेत संशोधन गर्नुपर्ने माग राखेको छ। हालको छात्रवृत्ति निर्देशिका विभेदकारी रहेको भन्दै प्रत्येक वर्ष एउटै विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति दिने प्रावधानप्रति आपत्ति जनाएको छ।
स्ववियुले तीन दिनभित्र शुल्क पुनर्मूल्यांकन समिति गठन गरी ठोस पहल नगरे आन्दोलनका कार्यक्रम श्रृंखलाबद्ध रूपमा अघि बढाउने चेतावनी दिएको छ।
‘आन्दोलनबाट सिर्जना हुने कुनै पनि परिस्थिति को जिम्मेवारी त्रिभुवन विश्वविद्यालय आफैँले लिनुपर्नेछ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ।