
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँका अगुवा कार्यकर्तासँगको भेट गरी लामो छलफल गरेका छन्। भेटका क्रममा पार्टी फुटाउने प्रवृत्ति, संगठनविरुद्ध भ्रम फैलाउने गतिविधि र आन्दोलन विरोधीलाई सहयोग गर्ने प्रयासका विरुद्ध कठोर हुने बताएका छन्।
उनले विगतदेखि वर्तमानसम्मका अनुभवहरू कार्यकर्तालाई सुनाउँदै पार्टीलाई अझ सुदृढ बनाउन सबै एकढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। भेटमा ओलीले २०५४ मा तत्कालीन नेता बामदेव गौतमले पार्टी फुटाएको घटनाले एमालेलाई गम्भीर संकटमा पुर्याएको स्मरण गराए। उनले भने, ‘त्यो समयमा हाम्रो पार्टी दुईतिहाइ मत ल्याउने अवस्थामा थियो, तर बामदेवले पार्टी फुटाए, त्यसपछि एकले अर्कालाई निष्कासन गर्दै अघि बढ्नुपर्यो र अहिलेको पार्टी निर्माण भयो, यो आजसम्मको यात्रामा हामीलाई धेरै संघर्ष गर्नुपर्यो, परिणामस्वरूप एमाले अझ बलियो बनेको छ।’
अहिले पनि कतिपय व्यक्तिहरू पार्टीभित्रै वा पार्टीसँग सम्बन्धित भएर विभिन्न असम्भव क्रियाकलाप गरिरहेको ओलीले बताए। विशेषतः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको गतिविधि लक्षित गर्दै उनले भने, ‘पूर्वराष्ट्रपति भएको व्यक्तिले असभ्य गतिविधि गर्नुहुँदैन, पार्टीविरुद्ध बोल्नेहरूलाई भेला गरेर हिँडिरहनु भएको छ, यसरी पार्टीविरुद्ध सक्रिय हुने प्रवृत्ति दीर्घकालमा हानिकारक हुन्छ।’
ओलीले सदस्यता विवादसम्बन्धी उठेका प्रश्नलाई पनि सम्बोधन गरे। उनले कार्यकर्तालाई पनि भ्रममा नपर्न आग्रह गरे। उनले भने, ‘च्यासलले सदस्यता खायो भन्ने हल्ला छ, तर सदस्यता खाएको होइन, पार्टीमा निवेदन दिइएको छैन, प्रक्रिया मिलेको छैन, सदस्यता नवीकरण पनि व्यक्तिगत इच्छाले हुने होइन, पार्टीको निर्णयले मात्र हुन्छ।’
उनले बालुवाटारको प्रसंग उठाउँदै भनिन्, ‘बालुवाटार बोलाएको आउनु भएन, पार्टी कार्यालयमै भेट भयो।’