
बारा– बारामा बाघको आक्रमणमा परी कृष्णप्रसाद शर्माको मृत्यु भएको छ।
मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ को २ नम्बर पुल निवासी ५५ वर्षीय कृष्णप्रसाद शर्मा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।
बुधबार बिहान करिब ७ः३० बजेतिर स्कुटर लिएर आधाभार जंगलतर्फ घाँस काट्न गएका शर्मा घर नफर्किएपछि आफन्तले खोजतलास गरेका थिए। खोजतलासका क्रममा जंगलभित्र स्कुटी र घाँस भेटिए पनि उनी फेला परेनन्। त्यसपछि आफन्तले प्रहरीलाई जानकारी गराएका थिए।
प्रहरीले खोजतलास गर्नेक्रममा त्यही क्षेत्रमा चप्पल र केही रगतको दाग भेटिएको थियो। दिउँसो प्रहरी टोली र आधाभार ब्यारेकबाट खटिएको नेपालीसेनाको संयुक्त टोलीले जंगलभित्र शव फेला पारेको बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।
शवको टाउको नभएको र बाघले आक्रमण गरेको अवस्थामा भेटिएको प्रवक्ता पण्डितले भने। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।