इजरायली आक्रमणमा ६ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

हिमाल प्रेस ११ भदौ २०८२ १९:४२
18
SHARES
इजरायली आक्रमणमा ६ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा फाइल तस्बिर

काठमाडौँ– सिरियाले इजरायली ड्रोन आक्रमणमा ६ सैनिकको मृत्यु भएको घटनाको निन्दा गर्दै यसलाई देशको सार्वभौमिकताको ‘स्पष्ट उल्लंघन’ भनेको छ। लामो समयदेखि सत्तामा रहेका बशर अल असदलाई गत डिसेम्बरमा सत्ताच्यूत गरेपछि इजरायलले सिरियामा सयौँ आक्रमण गरिसकेको छ।

इजरायलले दमास्कसका अन्तरिम अधिकारीहरूसँग पनि वार्ता सुरु गरेको छ। सिरियाली विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त आक्रमणलाई ‘अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रको घोर उल्लंघन’ भनेको छ।

उक्त आक्रमणले सिरियाली गणतन्त्रको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको स्पष्ट उल्लंघन गरेको विज्ञप्तिमा उल्लेख छ।

सरकारी टेलिभिजनका अनुसार दमास्कसबाहिर किस्वेह नजिकै इजरायली ड्रोनले गरेको आक्रमणमा परी ६ जना सैनिकको मृत्यु भएको हो।

रक्षा मन्त्रालयका एक अधिकारीले नाम नबताउने सर्तमा एएफपीलाई इजरायली ड्रोनले ‘४४ औँ डिभिजनको एउटा सैन्य भवनलाई लक्षित गरेको’ बताएका छन्।
इजरायली सेनाले एएफपीको अनुरोधमा कुनै प्रतिक्रिया जनाएको छैन।

यसअघि मंगलबार सरकारी समाचार संस्था सानाले गोलान हाइट्समा सिरियाको नियन्त्रणमा रहेको युद्धविराम रेखाको पूर्वमा रहेको तरन्जा गाउँको एक घरमा इजरायली आक्रमणमा एक युवकको मृत्यु भएको जनाएको थियो।

असदलाई सत्ताच्युत गरेयता इजरायलले संयुक्त राष्ट्रसंघको गस्तीमा रहेको असैन्यीकृत क्षेत्रको अधिकांश भाग सिरियानियन्त्रित युद्धविराम रेखामा कब्जा जमाएको छ।

प्रकाशित: ११ भदौ २०८२ १९:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast