दललाई ‘निजी सम्पत्ति’ बनाउन खोज्दै यी नेता!

वाम दलहरूमा आन्तरिक लोकतन्त्र कुण्ठित

किरण पौडेल ११ भदौ २०८२ १७:२२
10
SHARES
दललाई ‘निजी सम्पत्ति’ बनाउन खोज्दै यी नेता!

काठमाडौँ– नेताविरुद्ध प्रायः आवाज उठाउनै नसक्ने र उठाउनेलाई कारबाही गर्ने संस्कृतिले तीन ठूला वामपन्थी दलहरूमा भित्रभित्रै असन्तुष्टि चुलिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालमाथि असन्तोष बढेको हो। उनीहरूमाथि चुनौती दिनेलाई संगठनमै अस्वीकृत गर्ने प्रवृत्ति तीनै नेतामा बढेको छ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पतञ्जलि जग्गा प्रकरणमा मुछिएपछि उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज जोडतोडले उठ्यो। यस्तो माग नागरिक समाज वा अन्य पार्टीबाट उठेको चाहिँ होइन। समाजवादीका नेताहरूले नै बैठकमा र सार्वजनिक मञ्चमा अध्यक्ष नेपालले पार्टी नेतृत्वबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न अनुरोध गरे। बैठकमा राजीनामाको कुरा उठाउनेमा पार्टीका सम्मानित नेता झलनाथ खनाल हुन्। यस्तै नेत्रृ रामकुमारी झाँक्रीले सार्वजनिक समारोहबाट पद छाड्न अध्यक्ष नेपाललाई दबाब दिइन्।

अध्यक्ष नेपाललाई न खनालको अभिव्यक्तिले छोयो न झाँक्रीको टिप्पणीले। उनले राजीनामा दिएनन्। राजीनामा दिनुपर्ने आवाज उठाएकै कारण अध्यक्ष नेपालसँग सम्मानित नेता खनालको सम्बन्ध बिग्रियो भने झाँक्री स्पष्टीकरण बुझाउन बाध्य भइन्। अहिले झाँक्री मौन छिन्।

अध्यक्ष नेपाल भ्रष्टाचार मुद्दामा जोडिएपछि पार्टीले नेतृत्वविरुद्धमा नबोल्न सूचना जारी गरेको थियो। महासचिव घनश्याम भुसालले जारी गरेको सूचनामा नेतृत्वविरुद्ध अभिव्यक्ति दिए कारबाहीको चेतावनी दिइएको थियो। सोही कारण पनि खनाल र झाँक्री तारो बनेका हुन्।

अध्यक्ष नेपाल आफ्नो आलोचना गरेको मन पराउँदैनन्। ‘नेतृत्वलाई कमजोर बनाउने कसैलाई छुट छैन’, समाजवादी पार्टी चार वर्ष पुगेको अवसरमा अध्यक्ष नेपालले राखेको मन्तव्यको एक वाक्य हो यो। यसले पनि एकीकृत समाजवादीका अध्यक्ष नेपालको नेतृत्व शैली बुझ्न सकिन्छ।

पछिल्ला दिनमा समाजवादी पार्टीमा अध्यक्ष नेपालको प्रतिस्पर्धामा नेतृत्वमा कसलाई अघि सार्ने भन्ने विषयमा पनि छलफल भइरहेको छ। यद्यपि नेतृत्व परिवर्तनका लागि आवाज उठाउनचाहिँ नेताहरूलाई सकस छ। किनभने समाजवादीमा नेतृत्व परिवर्तनका विषयमा बहस गरे कारबाही हुने डर नेताकार्यकर्तालाई छ।

समाजवादीमा मात्र होइन, एमालेमा पनि यही रोग फैलिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीबीच ध्रुवीकरण बढ्दो छ। दुई पटक राष्ट्रपति बनेकी भण्डारी एमालेको राजनीतिमा फर्किने घोषणा गरेपछि ओली बिच्किएका हुन्।

भण्डारी एमालेमा सक्रिय हुन चाहेपछि पार्टीले उनको सदस्यता नवीकरण गरेन भने भविष्यमा पार्टी राजनीतिमा आउन नहुने निर्णय गर्‍यो। भण्डारी भने एमाले राजनीतिमा आउन मदन भण्डारी फाउन्डेसनमार्फत सक्रिय छिन्।

भण्डारीले एमालेमा नेतृत्व गर्ने गरी तयारी गरिरहेकी थिइन्। लामो समयदेखि एमाले नेतृत्वमा रहेका ओलीलाई भण्डारीको चुनौती थियो। एमाले नेताहरूका अनुसार यही कारण उनको सदस्यता खारेज भयो। सम्बन्ध सुमधुर रहेका बखत ओलीले नै भण्डारीलाई ‘एमालेको अध्यक्ष बन्न नरोक्ने’ बताउने गरेका थिए।

२०८० सालमा एक टेलिभिजन अन्तर्वार्तामा ओलीले ‘उहाँ (विद्या भण्डारी) पोल्टिक्समा आउनु हुँदैन भन्ने बेकारको कुरा हो…कसैले पनि राजनीति गर्न पाइँदैन भन्ने कुरा हुँदैन…पूर्वराष्ट्रपति कसैलाई कांग्रेसको अध्यक्ष बनाउँछन् भने पनि पाइन्छ। अर्को पार्टीको अध्यक्ष बनाउँछन् भने पनि पाउँछ। एमालेको अध्यक्ष बनाउँछन् भने पनि पाउँछ।…’ भनेका थिए। अहिले एमालेले गणतन्त्रमाथि खतरा हुने भन्दै भण्डारीलाई रोकेको छ।

विद्यालाई राजनीतिमा आउन नदिन ‘लगाम’ लगाउने अग्रपंक्तिमा छन्, ओली। विद्यालाई राजनीतिमा आउन नदिन ओलीले नै अडान लिइसकेपछि अरू नेताहरू खुल्न चाहेका छैनन्। पार्टी अध्यक्ष ओलीको आन्तरिक ‘तानाशाही’ र आफ्नो चाहनाअनुसार निर्णय गराउन लगाउने भय नेताहरूलाई छ। नेतृत्वविरूद्ध बोल्ने अथवा फरक विचार राख्नेलाई भित्तामा पुर्‍याउने प्रवृत्तिका कारण पनि आन्तरिक लाोकतन्त्रको व्यापक अभाव देखिन्छ। पछिल्लो समय पूर्वराष्ट्रपति विद्याको पक्षमा खुलेका तीन जना पदाधिकारीहरू ईश्वर पौडेल, सुरेन्द्र भण्डारी र युवराज ज्ञवालीको राजनीतिक भविष्यबारे एमालेभित्रै चिन्ता हुन थालेको छ।

एमालेको ११ औँ महाधिवेशनबाट ओली तेस्रो पटक अध्यक्ष बन्ने तयारीमा छन्। यसमा भण्डारी बाधक बन्दा सदस्यता खोसिएको ओली निकट नेताहरू बताउँछन्। पछिल्लो समय माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ओलीको जस्तै चुनौती भोगिरहेका छन्। झन्डै चार दशक नेतृत्वमा रहेका प्रचण्डलाई उपमहासचिव जनार्दन शर्मा ‘भारी’ पर्दै छन्।

एक किसिमले माओवादीमा प्रचण्डसँग जनार्दन ‘समानान्तर’ गतिविधि बढेको चर्चा छ। दुई वर्षअघिदेखि प्रचण्डसँग रोस पोखेका जनार्दन पार्टीमा ‘संगठक’ का रूपमा चिनिन्छन्। नेतृत्वमा पुस्तान्तरण हस्तान्तरणको मुद्दा बोकेकै कारण प्रचण्ड जनार्दनसँग असन्तुष्ट बनेको नेताहरूको दाबी छ। जनार्दनले पुस्तान्तरणको सार्वजनिक बहस अघि बढाइरहेका छन्।

उनले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, एकीकृत समाजवादीका महासचिव भुसालसहित मिलेर सार्वजनिक बहस निरन्तर अघि बढाएका हुन्। यसअघि पनि यही बहसमा बोलेका कुरालाई लिएर जनार्दनको सम्बन्ध प्रचण्डसँग थप बिग्रिएको थियो।

यसपछिको पार्टी स्थायी समिति बैठकमै प्रचण्डले जनार्दनलाई आत्मालोचित बन्न निर्देशन दिएका थिए। पार्टी बैठकमा सहभागी एक पदाधिकारीका अनुसार जनार्दनले आफूसँगै प्रचण्ड पनि आत्मलोचित हुनुपर्ने बताएका थिए। नेतृत्वको विषयमा बाहिर कुरा नराख्न प्रचण्डले बैठकमै सुझाएका थिए।

जनार्दनले खबरदारी गर्न छाडेका छैनन्। माओवादीका एक नेताका अनुसार अब बस्ने बैठकमा नेतृत्वविरुद्ध बोल्नेलाई कारबाहीको मापदण्ड बनाउने तयारी माओवादीले गरेको छ। ‘अब बस्ने बैठकले यसबारे निर्णय लिन्छ’, माओवादीका एक पदाधिकारीले बताए।

‘नेताविरुद्ध बोल्नु नै कमजोरी’

पार्टीमा आफ्ना धारणा राख्न पाउने अधिकार भए पनि त्यो मुख्य नेताको ‘स्वीकृत’ बिना पाइँदैन। यसअघि केन्द्रीय कमिटी बैठकमा एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले ओलीको निर्णयविरुद्ध फरक मत राख्न खोजेका थिए। तर ओलीले उनलाई फरक मत राख्न दिए तर बोल्न दिएनन्। ‘मैले राख्ने फरक मत के हो भन्ने कुरा हललाई भन्न पाउनुपर्छ’, थापा भन्छन्, ‘तर गुपचुप राख्न निर्देशन दिइयो।’

थापाले एमालेको विधानमा ७० वर्षे उमेरहद र दुई कार्यकालको प्रावधान हटाउन नहुने विषयमा ‘फरक मत’ राखेका थिए। त्यही फरक मत पनि थापाले ‘खुला हृदयले’ राख्न पाएनन्। एमाले उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पनि ओलीको प्रस्तावमा फरक मत राखेका थिए। तर एमालेले सोही फरक मतलाई ‘अनदेखा’ गर्दै छ।

एमालेका एक पदाधिकारीका अनुसार ‘फरक मत’ नसमेटी ओलीपक्षधर नेताले आफ्नो मात्र प्रस्ताव विधान महाधिवेशनमा लैजाँदै छन्। नियमअनुसार केन्द्रीय कमिटीमा पेस भएका प्रस्तावलाई हुबहु विधान सम्मेलनमा पेस गर्नुपर्ने प्रावधान छ। तर नेतृत्वविरुद्धको प्रस्ताव भएकाले सोही निर्णय लागू नगर्ने पक्षमा एमाले उभिएको छ।

माओवादीमा पनि विगतबाटै यो प्रक्रिया चलिरहेको छ। विगतमा जनार्दनले प्रचण्डको प्रस्तावका विरुद्ध ‘फरक मत’ राखेका थिए। तर अहिले सोही प्रस्तावको कुरा उठेको छैन। ११ पृष्ठको फरक मतको अधिकांश बुँदामा प्रचण्डमाथि प्रश्न गरिएको थियो। अहिले पनि जनार्दन पुरानै अडानमा छन्।

‘पार्टीलाई १२० सिटबाट घटाएर ३२ मा कसले पुर्‍यायो समीक्षा गरौँ,’ जनार्दनले गएको स्थायी समिति बैठकमा भनेका थिए। यही कारणले माओवादीभित्र जनार्दन–प्रचण्ड अझै दूरी बढ्ने सम्भावना छ। नेतृत्व परिवर्तनका विषयमा विवाद हुँदा प्रचण्डको ‘अस्वीकार्य व्यक्ति’ जनार्दन हुने सम्भावना छ। जानकारहरू भने पहिलो तहका नेताहरू कमजोरी स्वीकार्ने पक्षमा नरहेको दाबी गर्छन्।

विप्लव नेतृत्वको नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ आफू रहे मात्र ‘देश र पार्टी रहने’ बुझाइका कारण पहिलो लहरका सबै नेता ‘असफल’ भएको बताउँछन्।

राजनीतिक विश्लेषक डम्बर खतिवडा पनि पछिल्लो समय कम्युनिस्ट पार्टीको नेतृत्वविरुद्ध बोल्नु विषवमन बराबर भएको बताउँछन्। ‘नेताहरूमा आफैँ मात्र सर्वैसर्वा हुँ भन्ने धारणाले जनमत घटिरहेको छ’, खतिवडा भन्छन्।

मुख्य नेतृत्वविरुद्ध खबरदारीमा नेता!

एमालेले प्रवेश नदिएपछि पूर्वराष्ट्रपति भण्डारी असन्तुष्ट छिन्। उनी एमालेमा विद्रोह गर्ने ‘शैली’मा मदन भण्डारी फाउन्डेसनमार्फत अघि बढेकी हुन्। एमालेले पार्टी राजनीतिमा रोक लगाएपछि उनी राजधानीबाहिर पुग्ने गरेकी छन्। उनले फाउन्डेसनका तर्फबाट श्रीमान् एवं तत्कालीन माले महासचिव मदन भण्डारीको ७५ औँ जन्मोत्सव मनाउने प्रयोजनका लागि नयाँ भवन भाडामा लिइएकी छन्। एमाले नेताहरूका अनुसार उनी अहिले एमाले नेतृत्वको खबरदारीमा छिन्।

भण्डारीले सरकारले प्रभावकारी काम गर्न नसकेको गुनासो गरिरहेकी छन्। अर्को कुरा, अहिले नयाँ दललाई एमाले–कांग्रेसले घेराबन्दी गरेको र प्रतिशोध साँधेको भनिएका घटनामा समेत भण्डारी पक्षधर बनेकी छन्। सहकारी प्रकरणमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई राजनीतिक मुद्दा लगाएर थुनामा हालेको भण्डारीको बुझाइ छ।

भण्डारी एमाले नेतृत्वविरुद्ध खबरदारी गरिरहेकी छन्। एमाले मात्र नभई माओवादी र समाजवादीमा समेत खबरदारीका कार्यक्रम भइरहेका छन्। नेतृत्व परिवर्तनका विषयमा कुरा गर्न अब फेरि जनार्दन, घनश्याम र विप्लव फेरि बहसमा जुटेका छन्। नेकपाका प्रवक्ता प्रकाण्डका अनुसार राज्यमा नयाँ नेतृत्व र राजनीतिक निकासका लागि बहस गरिएको हो।

‘वर्तमान राजनीतिक संकट र निकास’का लागि भन्दै बहस प्रदेशप्रदेशमा पुर्‍याउन लागेका छन् अब जसले काम गर्न सक्छ, त्यो नै नेता हो। त्यही कारण हामी नयाँ कामको थालनीमा छौँ,’ प्रकाण्ड भन्छन्, ‘देश संकटमा पारेकै मुख्य नेतृत्वले हो। अब पनि उनीहरूकै पछि दौडेर हुँदैन भन्नेमा हामी छौँ।’

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य राजनीतिक दललाई नेताहरूले व्यक्तिगत सम्पत्ति बनाउने गरेको बताउँछन्। ‘प्रचण्डले आफ्नो विकल्प नखोज्नु र ओलीजी पनि त्यही तरिकाले अघि बढ्नु भनेको पार्टीलाई व्यक्तिगत सम्पत्ति मान्नु हो,’ आचार्य भन्छन्, ‘आफू शक्तिमा हुँदा बलियो हुने र त्यही बलियो अवस्थामा रहिरहने परम्परा छ।’

नेताविरुद्ध कमजोर ‘खबरदारी’

मुख्य नेताविरुद्ध जसरी खबरदारीका काम भइरहेका छन्, ती कामकारबाही निष्कर्षमा पुग्नेमा शंका पैदा भएको छ। पार्टी सत्तामा राज गरेका नेताहरू शक्तिशाली भएकाले कमजोर बनाउने प्रयत्न सफल होला भन्ने प्रश्न उब्जेको छ।

एमालेमा नेतृत्वमा प्रश्न उठाएकै कारण भण्डारी पार्टी सदस्यताविहीन बनेको बुझाइ छ। एमालेको भदौ १९ देखि सुरु हुने विधान सम्मेलनमा भण्डारीलाई प्रवेश नदिने तयारी एमालेको छ। तर, भण्डारी एमालेको सदस्य मात्र होइन नेतृत्व लिने तयारीमा छन्। यसअघि नै एमालेको केन्द्रीय कमिटी बैठकमा भण्डारीको पक्षमा बोल्ने कम नेता थिए।

तीन सदस्यभन्दा माथिको कमिटीमा एक चौथाइले मात्र उनको पक्षधरता लिए। अहिले भण्डारीसँग हिँडिरहेका नेताहरू पनि ‘आन्तरिक चुनाव हारेका’ छन्। ओलीले यसै विषयमा पनि भण्डारीमाथि व्यंग्य गरेका थिए। ‘अब भण्डारीले नेतृत्व लिन धेरै संघर्ष गर्नुपर्छ। किनभने उनको पक्षमा केन्द्रीय कमिटी समेत खुलेन’, एमालेका एक नेता भन्छन्।

एमाले नेता विशाल भट्टराई भण्डारी अबका दिनमा एमालेमा आउनै नसक्ने दाबी गर्छन्। समाजवादीमा समेत नेपालविरुद्धमा बोल्दा कमजोर हुने सम्भावना छ। यसअघि पार्टी संस्थापनप्रति नखुलेका नेताहरूमाथि नखुलेका नेताहरूमाथि नेपालले नै पेलेको आरोप लाग्ने गरेको छ।

पछिल्लो समय नेपाल पक्षले पेलेको भन्दै जनवर्गीय संगठनमा भटाभट समानान्तर गतिविधि गर्दै आएका छन्। पार्टी हितविपरीत काम गर्नेलाई अनुशासनको कारबाही हुने पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडा बताउँछन्। माओवादीमा त जनार्दन पक्षमा खुल्ने नेताहरू समेत पाउन गाह्रो छ।

२५ सदस्यीय  पदाधिकारीमा जनार्दनको पक्षमा जनार्दन र सचिव राम कार्की समेत खुलेका थिए। यसले पनि जनार्दनले खबरदारी गर्न पार्टीमा सहज नभएको माओवादी नेताहरू सुनाउँछन्। पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटा पार्टी गुटगत गतिविधि गर्ने र नेतृत्वविरुद्धमा सार्वजनिक अभिव्यक्ति दिनेलाई छुट नदिने सुनाउँछन्।

नेताहरूलाई शक्तिमोह

पार्टीको ‘कमान्ड’ सधैँ आफ्नो हातमा राखिरहने चाहना दलका नेताहरूमा प्रस्टै देखिन्छ। ओलीले दुई कार्यकाल पार्टीके नेतृत्व सम्हालिसके। अब फेरि तेस्रोपटक पनि उनी एमाले नेतृत्वमा आउन चाहिरहेका छन्। यही कारण उनले विधानमा भएको ७० वर्षीय उमेरहद हटाउन लगाए। पार्टीको शक्तिमा रहिरहने चाहना ओली एक्लैको होइन। उनीसँगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाल पनि सधैँ पार्टीको उपल्लो तहको शक्तिमा रहन चाहन्छन्।

पार्टीको नेतृत्वमा बसिरहने र नेतृत्व पुस्तान्तरण गर्न नचाहने नेताहरूका कारण नारामा साझा भनिए पनि व्यवहारमा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी ‘निजी कम्पनी’ भन्दा माथि उठ्न सकेका छैनन्।

प्रकाशित: ११ भदौ २०८२ १७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast