जापानमा भेटियो दोस्रो विश्वयुद्धका मानव अवशेष

हिमाल प्रेस ११ भदौ २०८२ १५:१४
32
SHARES
जापानमा भेटियो दोस्रो विश्वयुद्धका मानव अवशेष

काठमाडौँ– जापानको युद्धकालीन खानीमा फेला परेका हड्डीहरू मानव अवशेष भएको प्रहरीले बुधबार बताएको छ।

साथै, ती अवशेषहरू खोज्न मद्दत गर्ने एक जापानी समूहले ती अवशेष सन् १९४२ मा एक दुर्घटनामा मृत्यु भएका करिब एक सय ८० जना श्रम गर्न बाध्य पारिएका प्रायः कोरियाली मजदुरको भएको जनाएको छ। पश्चिमी यामागुची प्रान्तको चोसेई खानीको पूर्वस्थलमा कोरियाली गोताखोरहरूले यसै हप्ता तीनवटा हड्डी र एउटा खोपडी फेला पारेका थिए। प्रहरीको परीक्षणले ती सबै मानव अवशेष भएको पुष्टि गरेको छ।

तर प्रहरीको भनाइमा, ती हड्डी र खोपडी एउटै व्यक्तिका हुन् कि होइनन् भन्न वा उमेर र मृत्युको समय निर्धारण गर्न सकिएको छैन। किजामु काई नामक समूहले ती अवशेषहरू पक्कै पनि ८३ वर्षअघि खानीमा मरेका पीडितहरूकै हुनुपर्ने बताएको छ।

यस खोजले एक सय ३६ जना श्रम गर्न बाध्य पारिएका कोरियाली मजदुर र ४७ जना जापानी कामदारका अन्य अवशेषहरू पत्ता लगाउने उनीहरूको प्रयासलाई ठूलो बल मिलेको समूहको भनाइ छ।

यो खोज टोकियोमा जापानी प्रधानमन्त्री शिगेरु इशिबा र दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङबीच भएको शिखर सम्मेलनको केही दिनपछि भएको हो। उक्त सम्मेलनमा ऐतिहासिक मतभेदलाई बेवास्ता गर्दै सुरक्षा र व्यापार जस्ता महत्त्वपूर्ण मुद्दामा सहकार्य गर्ने प्रतिबद्धता जनाइएको थियो।

चोसेई समुद्रतल खानी सन् १९१४ मा सञ्चालनमा आएको थियो। तर सन् १९४२ फेब्रुअरीमा खानीको छतको एउटा हिस्सा भत्किँदा पानी पसेर एक सय ८३ जना कामदारको मृत्यु भएको थियो।

यो दुर्घटना लामो समयसम्म बिर्सिएको अवस्थामा रह्यो। सन् १९९१ मा नागरिक समूहहरूले पीडितहरूका लागि स्मारक निर्माण गर्ने र पूर्व खानी स्थलको संरक्षण गर्ने प्रयास थालेपछि मात्रै यसबारे पुनः ध्यानाकर्षण भएको थियो।

इतिहासकारहरूका अनुसार, दोस्रो विश्वयुद्धअघि र युद्धका क्रममा जापानले लाखौँ कोरियाली मजदुरलाई जबरजस्ती लगेको थियो। अधिकांश जापानी पुरुषहरू युद्धको मोर्चामा पठाइएकाले ती मजदुरलाई खानी र कारखानामा श्रम अभाव पूरा गर्न प्रयोग गरिएको थियो।

वर्षौंको अनुसन्धानपछि किजामु काई समूहले गत वर्षदेखि समुद्रमुनि अवशेष खोजी सुरु गरेको हो। यसमा साक्षीका बयान र ऐतिहासिक अभिलेख संकलन गरिएको थियो।

प्रधानमन्त्री इशिबाले यस वर्षको सुरुआतमा युद्धकालीन पीडितप्रति सहानुभूति व्यक्त गर्दै सुरक्षित रूपमा खोजी कसरी गर्ने भन्नेबारे विज्ञहरूसँग सल्लाह लिन अनुमति र्दिका थिए।

जापानका मुख्य क्याबिनेट सचिव योशिमासा हयाशीले खानी दुर्घटनाका सबै पीडितप्रति समवेदना व्यक्त गर्दै सरकारले अवशेषहरूको परीक्षण गरिरहेको बताए। उनले अझै सुरक्षित रूपमा खोजी गर्न आवश्यक विशेषज्ञता संकलन गर्ने काम बाँकी रहेको बताए।

तर किजामु काई समूहले आफ्नै प्रयासमा खोजी गरिरहेको छ। युद्धकालीन अवशेषहरूको जिम्मेवार निकाय जापानी स्वास्थ्य तथा कल्याण मन्त्रालय खोजीमा सहयोग गर्न अनिच्छुक रहेको बताइन्छ।

आलोचकहरूका अनुसार, जापानी सरकारले लामो समयदेखि युद्धकालीन अत्याचारबारे मौनता अख्तियार गरेको छ। यसमा एसियाली महिलाहरूको यौन (दुव्र्यहवार र दासत्व) विशेषगरी ‘कम्फर्ट वुमन’ भनेर चिनिएका कोरियाली महिला तथा श्रम गर्न बाध्य पारिएका मजदुरको प्रयोगजस्ता मुद्दा पर्दछन्।

जापानी सरकारले भने सन् १९६५ को सामान्यीकरण सन्धिअन्तर्गत दुई देशबीचका सबै क्षतिपूर्तिका मुद्दा समाधान भइसकेको दाबी गर्दै आएको छ। तर कोरियालीहरूले जापानको औपनिवेशिकालीन अत्याचारका लागि क्षतिपूर्ति मागिरहँदा दुवै देशबीच सम्बन्ध प्रायः तनावपूर्ण बन्ने गरेको छ।

यद्यपि, सन् २०२३ पछि चीनको बढ्दो सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै वासिङ्टनको दबाबमा दुई छिमेकी देशबीच सम्बन्ध सुधार भएको छ, जसले सुरक्षा सहकार्यलाई प्राथमिकता दिने बाटो खोलेको छ।-रासस/एपी

प्रकाशित: ११ भदौ २०८२ १५:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast