मोहना नदीमा झोलुंगे पुल, स्थानीयवासीलाई राहत

हिमाल प्रेस ९ भदौ २०८२ २०:४९
8
SHARES
मोहना नदीमा झोलुंगे पुल, स्थानीयवासीलाई राहत

कैलाली- कैलालीको कैलारी गाउँपालिका-३, मोहनपुर र वडा नं ४ भितरीया सिमानामा रहेको मोहना नदीमा झोलुंगे पुल बनेपछि स्थानीयलाई राहत भएको छ।

मोहना नदी पारी मोहनपुर र वारी भितरीया गाउँ छ। मोहनपुरमा हाल ९५ परिवारका पाँच सय २५ जना मानिसको बसोबास छ। २०३६ मा बसोबास रहेका यहाँका स्थानीयलाई कुनै पनि काम गर्नको लागि नदी ओहोरदोहोर गर्नुपर्ने बाध्यता थियो।

झोलुङ्गे पुल निर्माणसँगै यहाँका स्थानीयलाई ओहोरदोहोर गर्नमा निकै राहत भएको मोहनपुर गाउँका भलमन्सा शीतलप्रसाद डङ्गौराले जानकारी दिए। ‘यहाँका जनतालाई औषधि उपचार, विद्यालय र अन्न कुटानीपिसानी जान पनि निकै समस्या थियो । जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘यही जेठमा पुल निर्माण भएपछि हामीलाई निकै सहज भएको छ।’

पुल नहुँदा यहाँका जनताले ३५ वर्षसम्म हिउँदमा नदीमाथि रुखका चाक्ला र अन्य समय काठको डुंगाबाट आवतजावत गर्थे। यो बीचमा नेपाल रेडक्रस सोसाइटी र मर्सिकोर नामक संस्थाले काठको डुंगासँगै लाइफ ज्याकेट दिएपछि १२ वर्षसम्म डुंगाको सहारामा नदी तर्दै आइएको भलमन्सा डंगौराल स्मरण गरे।

पुल निर्माणपछि त्यो समस्या समाधान भएको छ । पुल निर्माणपछि आवतजावतमा सहज भएको सोही गाउँका अगुवा लिखराज डङ्गौरा थारुले बताए।

पुल नहुँदा सबैभन्दा बढी विद्यालय जाने बालबालिकालाई समस्या हुने गरेकामा अचेल भने सहज भएको स्थानीय चुनीराम डङ्गौरा थारुले बताए।

स‌ंघीय सरकारको सहरी विकास मन्त्रालय स्थानीय पूर्वाधार विभागअन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनको तीन करोड ४३ लाखको लागतमा यहाँ झोलुंगे पुल निर्माण गरिएको हो। उक्त पुल निर्माणका लागि एमपी ठेगिम सनलाइट जेभी नेपालगञ्ज बाँकेसँग २०७८ असोज १३ गते सम्झौता भएकामा गत वर्ष माघ १० गते पुल निर्माण सम्पन्न भएको थियो। रासस

प्रकाशित: ९ भदौ २०८२ २०:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast