गाजामा इजरायली आक्रमणमा पाँच पत्रकारसहित २० जनाको मृत्यु

हिमाल प्रेस ९ भदौ २०८२ १९:१५
12
SHARES
गाजामा इजरायली आक्रमणमा पाँच पत्रकारसहित २० जनाको मृत्यु

काठमाडौँ– गाजाको नागरिक सुरक्षा निकायले सोमबार दक्षिणमा रहेको एक अस्पतालमा इजरायली आक्रमणमा परी पाँच पत्रकारसहित कम्तीमा २० जनाको मृत्यु भएको जनाएको छ।

गाजाको सुरक्षा निकायका प्रवक्ता महमुद बसालले भने, ‘दक्षिणमा रहेको खान युनिसस्थित नासिर अस्पतालमा भएको आक्रमणमा परी पाँच पत्रकार र नागरिक सुरक्षाका एक सदस्यसहित २० जनाको मृत्यु भएको छ।’

मिडिया अनुगमनकारी संस्थाका अनुसार इजरायल र हमासबीच करिब दुई वर्षको युद्धमा करिब २०० पत्रकार मारिएका छन्।

इजरायली सेनाले सोमबार जारी गरेको विज्ञप्तिमा ‘खान युनिसको नासिर अस्पतालको क्षेत्रमा आफ्नो सेनाले सोमबार आक्रमण गरेको’ पुष्टि गरेको छ।

‘इजरायली सेनाप्रमुखले जतिसक्दो चाँडो प्रारम्भिक छानबिन गर्न निर्देशन दिनुभएको छ,’ सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसमा लडाकू समूहसँग संलग्न नभएका व्यक्तिहरूलाई कुनै पनि प्रकारको क्षति पुगेकोमा इजरायली सेना दु्ःख व्यक्त गर्दछ र इजरायलले पत्रकारहरूलाई लक्षित गर्दैन।’

नागरिक सुरक्षा निकायका बासलका अनुसार इजरायली विस्फोटक ड्रोनले नासेर अस्पतालको एक भवनलाई निशाना बनाएको थियो।

कतारस्थित टिभी नेटवर्क अलजजिराका प्रवक्ताले सोमबार आफ्ना एक फोटो पत्रकार तथा क्यामेराम्यान मोहम्मद सलामामाको आक्रमणमा मृत्यु भएको बताएका छन्।

‘अल जजिरा मिडिया नेटवर्कले यस भयानक अपराधको कडा शब्दमा भत्र्सना गर्दछ। सेनाले सत्यलाई चुप गराउने योजनाबद्ध अभियानको एक भागको रूपमा पत्रकारहरूलाई प्रत्यक्ष रूपमा निशाना बनाएको छ र हत्या गरेको छ,’ प्रसारकले एक बयानमा भनेको छ।

अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी) ले एक विज्ञप्ति जारी गर्दै ३३ वर्षीया फोटो पत्रकार मरियम डग्गाको मृत्युको खबरले स्तब्ध र दुःखी बनाएको जनाएको छ।

यसअघि एक विज्ञप्ति जारी गर्दै डग्गाको हत्या हुँदा उनी एजेन्सीमा कुनै पनि जिम्मेवारीमा नभएको उल्लेख गरिएको थियो।

प्रकाशित: ९ भदौ २०८२ १९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast