
पोखरा– लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगितामा जीएम समाज र ढुंगेदेउराली क्लब फाइनल प्रवेश गरेका छन्। सोमबार पहिलो सेमिफाइनलमा आयोजकलाई सोझो सेटमै पराजित गर्दै जीएम समाज फाइनलमा पुगेको हो।
समूह ‘बी’ को उपविजेता कावासोतीको जीएम समाज समूह ‘ए’ को विजेता आयोजक नवआदर्श सामुदायिक विकास समाजविरुद्ध फाइनल प्रवेशका लागि कोर्ट उत्रिएकोमा ३–० सेटमा सहजै हराउन सफल भएको हो।
घरेलु दर्शकले आयोजकलाई हुटिङ गरे पनि जीएम समाजले २५–१३, २५–२० र २५–२० सेटमा खेल आफ्नो पक्षमा पारेको हो। म्यान अफ दि म्याच विश्वास अधिकारी घोषित भएको नेपाल भलिबल संघ केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले बताए।
यसैगरी, दोस्रो सेमिफाइनलमा स्याङ्जा पौवेगौडेको ढुंगेदेउराली क्लबले विभागीय एपीएफ पोखरालाई सोझो सेटमै पराजित गरी उपाधि नजिक पुगेको हो। एपीएफ समूह ‘बी’ को विजेता हुँदै सेमिफाइनलमा पुगेको थियो। समूह ‘ए’ को उपविजेता ढुंगेदेउराली हो। ढुंगेदेउरालीले पहिलो सेट २५–१९ जितेर अग्रता कायम गरेको थियो। बाँकी सेट २५–२३ र २५–१९ मा रोमाञ्चक जित हात पार्दै जीएम समाजसँग फाइनल सुनिश्चित गरेको हो।
ढुंगेदेउरालीका लिफ्टर राजन दर्माली म्यान अफ दि म्याच घोषित भए। फाइनल मंगलबार दिउँसो १ बजे हुनेछ।
त्यसअघि, अन्तर मावि छात्रा भलिबलको फाइनल हुनेछ। जसमा टप्स र शान्त मावि फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। पुरुषतर्फ विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीलाई १० हजार दिइनेछ।
अन्तरमावितर्फ विजेताले १ लाख र उपविजेताले ५० हजार तथा सर्वोत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्नेछ। साथै, दुवै इभेन्टमा उत्कृष्ट विधामा आकर्षण पुरस्कारको व्यवस्था छ।
नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा संस्थाको २९ औँ वार्षिक समारोह एवं तीज अवसरमा २७ औँ संस्करणको लामाचौर तीज महोत्सव आइतबारदेखि सुरु भएको हो।