
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा आफूलाई सहज बनाउन ७० वर्ष उमेरहद हटाउने तयारी गरेका छन्। युवाहरूलाई उमेरकै कारण नेतृत्वमा पुग्नबाट रोक्दै आएका ओलीले आफ्ना लागि भने विधान परिवर्तन गरेर बाटो खोल्ने रणनीति लिन खोजेका हुन्। पार्टी भ्रातृ संगठन अनेरास्ववियु र राष्ट्रिय युवा संघमा भने क्रमशः ३२ र ४० वर्षे उमेर सीमा कायम छ। ओलीको यस्तो प्रवृत्तिको पार्टीमै विरोध हुन थालेको छ। एमाले नेताहरूले ओलीलाई अनुदार र दोहोरो चरित्रको आरोप लगाएका छन्।
एमालेको विधानमा ७० वर्ष उमेरहद छ। विधानअनुसार ७० वर्ष पुगेको नेताले एमालेको सक्रिय राजनीतिमा बस्न मिल्दैन। तर ओलीले त्यही प्रावधान हटाउने भएका छन्। यसअघिका पार्टी बैठक (सचिवालय, पोलिट्ब्युरो र केन्द्रीय कमिटी) बाट ७० वर्षे प्रावधान हटाउने प्रस्ताव पारित गरिएको छ। अब विधान महाधिवेशनमार्फत त्यसलाई अनुमोदन गर्ने तयारीमा ओली छ। विधान महाधिवेशन भदौ २० देखि २२ सम्म काठमाडौँमा हुने कार्यक्रम छ।
एमालेले दुई जनवर्गीय (भातृ संगठन) मा उमेर हद लगाएको छ। अनेरास्ववियुमा ३२ वर्षे उमेरहदको व्यवस्था लगाउँदा राष्ट्रिय युवा संघमा ४० वर्षे उमेरहद यथावत् राखेको छ। अनेरास्ववियुमा उमेरहद लगाएकै कारण दर्जनभन्दा बढी आकांक्षी नेतृत्व लिनबाट वञ्चित भए। उमेरहदको निर्णय आफैँ गर्न अखिलका पदाधिकारीले पाएनन्। उनीहरूलाई उमेरहद लगाउन पार्टीबाटै दबाब दिइएको थियो। विद्यार्थीहरूले दबाबको पनि बेवास्ता गरेपछि पार्टीले हस्तक्षेप गर्दै उमेरहद लगाइदिएको हो।
अखिलको उमेरहदको निर्णयले तत्कालीन महासचिव नरेश रोकाय, तत्कालीन सचिव मनोज ताम्लीलगायतका नेताहरूलाई बढी असर पार्यो। उनीहरू पदाधिकारी बन्न पाएनन्। युवा संघमा उमेरहद हट्नुपर्ने आवाज उठे पनि एमाले नेतृत्वले दबाब दिएका कारण उमेरहद यथावत् राखेको छ।
एमाले नेता एवं जनसंगठन समन्वयका प्रमुख भानुभक्त ढकालले योग्य र सक्षम व्यक्तिलाई उमेरको हद लगाएर नेतृत्वमा बन्देज गर्न नहुने बताए। नेता ढकालका अनुसार भदौ १९ गतेदेखि हुने पार्टीको दोस्रो विधान महाधिवेशनले यस विषयमा टुंगो लगाउनेछ।
‘साउन ६ गते सकिएको केन्द्रीय कमिटीले पार्टीमा रहेको ७० बर्से उमेर हद र दुई कार्यकालको प्रावधान हटाएको छ’, ढकालले भने, ‘यी दुवै विषयलाई विधान महाधिवेशन अनुमोदन गर्दछ।’ ढकाल तिनै नेता हुन्, जसले सहजीकरण गर्दै दुवै भ्रातृ संगठनमा उमेरहद लगाएका थिए। तर तिनै नेता एमाले (पार्टी)मा उमेरहद लगाउन नहुने दाबी गर्दै छन्।
भ्रातृ संगठनमा उमेरहद लगाएका ओलीले आफ्ना लागि पार्टीमा खोलेका छन्। उमेरहद फुकुवा गर्न एमालेमा अनेक क्रियाकलाप भएको नेताहरूको दाबी छ। पार्टीको १० औँ महाधिवेशन (०७८ साल)मै पनि ओलीका लागि उमेरहद बाधक बन्न सक्थ्यो। नेताहरूका अनुसार एमालेको विधानमा ७० वर्ष उमेर पुगेकाले पदमा बस्न नपाउने प्रावधानका कारण ओली लड्न नपाउने प्रावधानको चर्चासमेत थियो।
‘ओलीले केही चुतर्याइँ गरे। ७० वर्ष फागुनमा पुग्थे। मंसिरमै महाधिवेशन गरिदिए।’ एमालेका एक नेता भन्छन्। ७० वर्ष पुगेपछि सक्रिय राजनीतिबाट छाड्नुपर्ने हुन्थ्यो। अहिले पनि एमालेका भ्रातृ संगठनमा उमेरहद लागेपछि पद छाड्ने प्रक्रिया छ। ओलीले भने पद छाड्नुको सट्टा उमेरहद हटाउन थाले।
एकीकृत समाजवादीबाट आएका मुकुन्द न्यौपानेलगायतका नेताहरूलाई देखाएर एमालेले उमेरहद निलम्बन गर्ने निर्णय गर्यो। एमाले नेताहरूका अनुसार उमेरहद खोल्ने निर्णय मुकुन्दलाई देखाएर ओलीका लागि फुकुवा गरिएको हो। एमालेले अबको विधान सम्मेलनमा भने उमेरहद फुकुवा गर्ने प्रस्ताव लैजाँदै छ। यसअघि एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा बनेको विधान संशोधन प्रतिवेदन आगामी विधान सम्मेलनमा पेस हुँदै छ। जुन विधान सम्मेलनमा पास हुने सम्भावना अधिक छ।
ओलीको उमेरहदको निर्णयप्रति एमाले नेताहरू नै असन्तुष्ट छन्। यसअघिको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले फरक मत राखेका थिए। उनीहरूले उमेरहद लगाउनैपर्ने अडान राखेका थिए।
‘उपाध्यक्षहरूले फरक मत राखे। त्यो फरक मत पनि विधान महाधिवेशन लग्नुपर्ने प्रावधान हुन्छ। तर यसपटक नलग्ने तयारी एमालेले गरेको छ,’ एमालेका एक पदाधिकारी भन्छन्, ‘ओली नै उपाध्यक्षहरूको प्रस्तावमा असन्तुष्ट छन्।’ एमाले स्थायी कमिटी सदस्य एवं विद्या भण्डारी पक्षीय नेता कर्ण थापा उमेरहदको विषय विधान सम्मेलनबाट टुंगो लाग्ने बताउँछन्।
‘यो राख्ने–नराख्ने भन्ने विधान सम्मेलनबाटै तय हुन्छ’, थापा भन्छन्, ‘यसअघि पनि ओलीकै सक्रियतामा उमेरहद लागेका कारण अब हट्नुपर्नेमा सबै एकजुट हुनुपर्छ भन्ने मेरो बुझाइ हो।’ पार्टी संस्थापन एवं ओली पक्षधर नेताहरू भने थापाको कुरा मान्न तयार छैन। एमाले स्थायी समिति सदस्य भानुभक्त ढकाल अबको विधान महाधिवेशनले उमेरहद हटाइछाड्ने दाबी गर्छन्। ढकाल विगतमा आवश्यक भएर उमेरहद लगाए पनि वैज्ञानिक नभएकाले उमेरहद हटाउने निर्णयमा एमाले पुगेको उनको भनाइ छ।
ओली पार्टीको ११ औँ महाधिवेशनबाट फेरि अध्यक्ष बन्ने दाउमा छन्। एमालेबाट आगामी कार्यकालमा उनीसँग कसले प्रतिस्पर्धा गर्छ टुंगो छैन।
हुन त एमालेको महाधिवेशन आउन पनि एक वर्ष बाँकी छ। तर, एमालेलाई महाधिवेशन लागिसकेको छ। जति एमालेलाई महाधिवेशन लागेको छ, त्यसमा ८० प्रतिशत गृहकार्य ओलीलाई फेरि अध्यक्ष बनाउने गरी तयारी भइरहेको नेताहरू बताउँछन्। चाहे समय होस् वा विधान, जुन ओलीको हितमा छ। त्यसो त, एमालेका नेताहरू एमालेको महाधिवेशन ०८२ भित्रै हुने दाबी गर्छन्।
०८४ को निर्वाचनलाई नियालेर ‘बलियो नेतृत्वको खोजी भइरहेको’ बताउने गर्छन्। ०८२ भित्रै महाधिवेशन गराउनुको अर्थ हो, ओलीलाई सहज। एकातिर एमाले सत्तामै भएका बेला त अर्कातिर ओलीमा शक्ति हस नभइकिनको समय। अर्थात्, ०८२ पछि एमालेमा अन्य नेताहरू हाबी हुने सम्भावना छ।
‘अहिले नै विद्या भण्डारीले तयारी गर्नु भा छ। निराशा बढ्दा प्रतिकूल अवस्था आउन सक्छ,’ ओली निकट नेता एक नेता भन्छन्। मौजुदा विधानअनुसार ओली एमालेको अध्यक्ष तेहेरिन पाउँदैनन्।