
काठमाडौँ- विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले सोमबारबाट पुनः आन्दोलन सुरु गरेको छ। सरकारले आफूहरूसँग गरेको सहमति पूर्णरूपमा सम्बोधन नगरेको भन्दै महासंघले पुनः आन्दोलन सुरु गरेको हो।
पहिलो चरणको आन्दोलनअन्तर्गत महासंघले सोमबार प्रधानमन्त्री कार्यालयमा ध्यानाकर्षण पत्र दर्ता गरेको छ भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका साथै प्रमुख राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
महासंघको ध्यानार्षण पत्र बुझ्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले महासंघले उठाएका विषयहरूप्रति एमाले संसदीय दलको ध्यानाकर्षण भएको भन्दै सरोकारवाला निकायसँग छलफल गर्ने प्रतिबद्धता जनाए। उनले विधेयक तयार पार्न अधिकतम प्रयास गरेकाले राम्रा कुरालाई स्वागत गर्न आग्रह गरे। महासंघले उठाएका विषयलाई मिलाउने ठाउँ रहेको उनको भनाइ छ।
विधेयकमा उल्लेख धेरै विषय सकारात्मक रहे पनि शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै विषयहरू अझै पनि सम्बोधन हुन नसकेकाले बाध्य भएर आन्दोलन सुरु गर्नुपरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए।
उनले भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउँदै २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने जानकारी दिए। अध्यक्ष सुवेदीले अहिले महासंघले नयाँ विषय उठान नगरेको र यसअघि भएको सहमतिको कार्यान्वयन हुनुपर्ने माग रहेको बताए।