चर्चामा रहेका १० तीज गीत

सुस्मिता बजगाईं ९ भदौ २०८२ १९:०४
48
SHARES
चर्चामा रहेका १० तीज गीत

काठमाडौँ- गाउँसहरमा तीज उत्साह छाइसकेको छ। आज दर खाने दिन पनि। टोल, छिमेक र घरघरमा तीज गीत घन्किरहेको छ। यसले तीजको उल्लासलाई थप चलायमान बनाइरहेको छ। बजारमा तीज गीत सार्वजनिक भएपछि कस्ता गीत आए र कुन गीतले बढी दर्शक तान्यो भन्ने आमदर्शकको चासोको विषय पनि बन्ने गरेको छ। गीतको लोकप्रियताको मापन भने युट्युबमा हुने ‘भ्युज’ का आधारमा हुने गरेको छ।

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालका अनुसार यस वर्ष चार सय हाराहारीमा तीज गीत सार्वजनिक भए। त्यसमध्ये अधिकांश गीत तीजको मौलिकपन र नारीका संवेदना, अधिकार, हर्षउमंग, पीडामा केन्द्रित रहेको प्रतिष्ठानको आँकलन छ।

सधैँझैँ यस वर्ष पनि विष्णु माझीकै तीज गीतलई युट्युबमा सर्वाधिक दर्शकले हेरेका छन्। केही दिनसम्म एलिना चौहानको गीत ‘छोरीको शिर आमा’ ले अग्रता लिइरहेको थियो तर तीज नजिकिएपछि १२ दिनअघि सार्वजनिक विष्णु माझीको गीत अग्रस्थानमा छ। दोस्रो नम्बरमा ‘नत्र भने जिन्दगी व्यर्थ छ’ र तेस्रो नम्बरमा ‘छोरीको शिर आमा’ परेको छ। प्रस्तुत छ चर्चामा रहेका प्रमुख १० तीज गीत :

१.म त नराउरी

लोकप्रिय गायिका विष्णु माझीको ‘म त नराउरी’ बोलको तीज गीत अहिलेसम्म धेरैले हेरेका छन्। सोमबार दिउँसोसम्म गीत साढे ७३ लाख दर्शकले हेरेका छन्। गीतप्रति औसत प्रतिक्रिया आए पनि दर्शकले निकै रुचाएका छन्।

यो गीत पुतलीको भट्टी भाग २१ मा समेटिएको छ। सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको गीतले लैंगिक विभेदको विषय उठाएको छ। गीतमा शिक्षा, घरायसी काममा छोरा र छोरीलाई भेदभाव गर्ने समाजको कथा प्रस्तुत गरिएको छ।

गीतको भिडियोमा ग्रामीण क्षेत्रका महिलाको कथा, बाल्यकालीन संघर्ष, पीडा र जिम्मेवारीलाई सशक्त ढंगमा देखाइएको छ। भिडियोमा मोडल ललिता पौडेल, बाल कलाकार प्रविधि भण्डारी, विज्ञान भण्डारी र अक्षयत हिमालीको अभिनय छ।

२. नत्र भने जिन्दगी व्यर्थ छ

धेरै दर्शक तानेर युट्युबमा दोस्रो नम्बरमा ‘नत्र भने जिन्दगी व्यर्थ छ’ बोलको गीत परेको छ। गीतलाई सोमबार दिउँसोसम्म साढे ६४ लाखले हेरेका छन्। यो गीत फिल्म ‘कोशेढुङ्गा’ को हो। फिल्म यही भदौ १२ मा प्रदर्शन हुँदै छ। डान्सिङ गीतलाई भने दर्शकले मन पराएका छन्। गीत नेपाली संस्कृति झल्काउँछ।

गीतमा समीक्षा अभिकारी, खेम सेञ्चुरी र दीपिका बायम्बु मगरको स्वर छ। विदुर तिमल्सिनाको शब्द रहेको गीतमा खेम सेञ्चुरीले संगीत भरेका छन्। गीतको भिडियोमा कलाकार सुरक्षा पन्त, नीति शाह, ऋचा शर्मा, मन्जिल कुमार, दिनेश काफ्ले र स्नेहा जोशीको अभिनय छ।

३. छोरीको शिर आमा

धेरै दर्शक/श्रोता बटुल्न सफल तेस्रो तीज गीत हो ‘छोरीको शिर आमा’। यो गीत सार्वजनिक भएदेखि अग्र स्थानमा थियो। तीज नजिकिएपछि विष्णु माझीको गीतले यसलाई उछिनेको छ। तेस्रो स्थानमा आइपुगेको छ। गीत सोमबार अपराह्नसम्म ६२ लाखले हेरिसकेका छन्।

गायिका एलिना चौहानको स्वर रहेको गीतको शब्द प्रेम सापकोटा सोनुले लेखेका हुन्। संगीत पनि सोनुले नै भरेका छन्। गीतमा विवाहपछि पतिले दिएको यातनालाई व्यक्त गरिएको छ। गीतको भिडियोमा स्मारिका ढकाल र सुरेश कोहलीको अभिनय छ।

४. तीज गीत कस्ता हुन्थे सुन

गायिका लक्ष्मी न्यौपानेले गाएको ‘तीज गीत कस्ता हुन्छन् सुन’ गीत चर्चाको चौथो नम्बरमा छ। गीतमा श्रीकृष्ण बम मल्लको शब्द र संगीतमा बनेको गीतमा भड्किला, अपाच्य गीतहरु बजारमा आइरहँदा पहिलेको तीज गीत कस्तो हुन्थ्यो भन्दै बयान गरिएको छ। गीतले सोमबार अपराह्नसम्म ६१ लाख दर्शक पाएको छ।

गीतको भिडियोमा वरिष्ठ कलाकार मिथिला शर्मा, मोडल करिस्मा ढकाल, मेलिना शाह र एरोना मल्लको अभिनय छ।

५. पृथ्वी छोडेर

यस वर्ष ‘पृथ्वी छोडेर’ बोलको गीत युट्युबमा धेरै हेरिनेमध्ये पाँचौँ नम्बरमा छ। गीत साढे ३८ लाखले हेरिसकेका छन्। गीतमा आमा र सासू, छोरी र बुहारीबीच गरिने व्यावहारको विषय समेटिएको छ।
डीपी खनालको शब्द रहेको गीतमा दीपक शर्माले संगीत भरेका छन्। गीतमा गायिका एलिना चौहान, समीक्षा अधिकारी र मेलिना मैनालीको संयुक्त स्वर छ।

६. लाउरेले लैन केरे

सरिता सुनारको स्वर रहेको ‘लाहुरेले लैन केरे’ बोलको गीतलाई पनि दर्शकले रुचाएका छन्। गीतमा लाहुरेले बिहे नगरेको प्रसंग छ। प्रेमकथामा आधारित गीत नेत्र अर्यालको शब्द र संगीतमा बनेको छ। गीत सोमबार अपराह्नसम्म ३१ लाखले हेरेका छन्। युट्युबको भ्युजअनुसार यो गीत छैटौँ नम्बरमा छ। गीतको भिडियोमा विनोद भण्डारी, सुजनी खड्का र श्याम पटेलले अभिनय गरेका छन्।

७. यो तीजैको महिना

गायिका मेलिना राईको स्वरमा सार्वजनिक ‘यो तीजैको महिना’ गीत पनि चर्चामा छ। गीत साढे २४ लाखभन्दा बढीले हेरिसकेका छन्। गीतले तीजमा रमाइलो गर्ने भाव प्रस्तुत गरेको छ। पीडामै भए पनि खुलेर हास्न, रमाइलो गरेर दिन बिताउने कुरा गीतमा समेटिएको छ।

डीपी खनालको शब्द र तारा प्रकाश लिम्बूको संगीतमा बनको गीतको भिडियोमा मोडल प्रिन्सी र प्रिन्सी खतिवडाले अभिनय गरेकी छन्।

८.सबैको हाई हाई बन्न सकिँदैन

एलिना चौहानको स्वरमा सार्वजनिक अर्को ‘सबैको हाई हाई बन्न सकिँदैन’ बोलको तीज गीत पनि चर्चामा छ। गीत युट्युबमा साढे २३ लाखले हेरेका छन्। कस्तुप पन्तको शब्द र संगीत रहेको गीतले सबैका लागि आफू राम्रो बन्न नसक्ने संकेत गरेको छ। नारी कथामा समेटिएको गीतको भिडियोमा स्मारिका ढकालको अभिनय छ।

९. लाइटै बालेर हेर मायाले

पशुपति शर्मा र टीका पुनको स्वरमा सार्वजनिक ‘लाइटै बालेर हेर मायाले’ बोलको गीत युट्युबका धेरै हेरिनेमध्ये ९ नम्बरमा परेको छ। गीत २३ लाखले हेरिसकेका छन्। पशुपति शर्माकै शब्द र संगीतमा बनेको गीतले प्रेमको कथा व्यक्त गरेको छ। गीतको भिडियोमा गायक शर्मासहित कुञ्जना घिमिरे (सुन्तली) ले अभिनय गरेका छन्।

१०. काली पसम कि रुन्छ्यौ आमा रुन्छ्यौ

गत वर्षको लोकप्रिय तीज गीत ‘काली पसम कि’ को दोस्रो भाग हो ‘रुन्छ्यौ आमा रुन्छ्यौ’। गत वर्षकै कथालाई निरन्तरता दिँदै गीतकार तथा संगीतकार प्रेम सापकोटा सोनुले सिक्वेल बनाए। तर गीत सोचेअनुसार लोकप्रिय बन्न सकेन। तथापि युट्युबमा १७ लाख दर्शकले रुचाएका छन्। गीत यो यसवर्षको चर्चितमध्ये १० नम्बरमा छ।

गीत शान्तिश्री परियारले गाएकी छन्। नारी वेदना समेटिएको गीतमा पीडाले काली पसेको र डोरी कसेपनि प्राण नगएको मार्मिक भाव व्यक्त गरिएको छ। विवाहपछि पतिबाट पाएको दुव्र्यवहारले प्राण त्यागेकी चेलीलाई वैद्यले बचाएको र माइत फर्केर आफ्नो वेदना आमालाई सुनाइरहेको मार्मिक दृश्य भिडियोमा कैद गरिएको छ। भिडियोमा स्मारिका ढकाल, जोन बम ठकुरी, छविकला ढकाल र कृष्ण आचार्यको अभिनय छ।

प्रकाशित: ९ भदौ २०८२ १९:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast